सत्तारूढ गठबन्धनको बैठक : देशभरका स्वतन्त्र उम्मेदवारी फिर्ता गराउने निर्णय, एमालेसँग भएका तालमेल खारेज गर्ने, असन्तुष्ट नेता तथा कार्यकर्ता मनाउने प्रयास सुरु

Read Time = 12 mins

अनिल क्षेत्री/हिटा
काठमाडौं । सत्तारूढ पाँचदलीय गठबन्धनले महानगर र उपमहानगरमा गठबन्धनको निर्णयविपरीत दलगत र स्वतन्त्र रूपमा परेका उम्मेदवारी फिर्ता गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले सात बुँदे निर्णय गर्दै स्वतन्त्र उम्मेदवारी फिर्ता गर्ने सहमति गरेको हो । पाँच दलीय गठबन्धनले गत चैत १७ गते स्थानीय निर्वाचनमा चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरेको थियो । तालमेलको लागि केन्द्रमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समिति र स्थानीय स्तरसम्मै गठबन्धनका स्थानीय प्रमुख नेता सम्मिलित संयन्त्र बनाएको थियो ।

६ वटा महानगर र ११ वटा उपमहानगरमा केन्द्रबाटै तालमेलको टुंगो लगाउने निर्णय गरेको गठबन्धन महानगर र उपमहानगरमै तहसनहस भयो । तालमेलको निर्णय पूर्ण कार्यान्वयन नभएपछि गठबन्धनका शीर्ष नेताहरूले दलगत र स्वतन्त्र उम्मेदवारी फिर्ता लिने निर्णय गर्नुभएको हो ।

गठबन्धनले नगरपालिका र गाउँपालिकाहरूमा सदस्य दलहरू बीचमा भइसकेको सिट बाँडफाँट समझदारीविपरीत गठबन्धनभित्रका दलहरूवाट दर्ता भएका उम्मेदवारीहरू समेत फिर्ता गर्ने निर्णय गरेको छ । स्वतन्त्र उम्मेदवारी जुन दलका कार्यकर्ताले दिएका छन्, सम्बन्धित दलले नै पहल गरेर त्यस्तो उम्मेदवारी फिर्ता गराउने पनि गठबन्धनबीच सहमति भएको छ । यस्तै, नगरपालिका र गाउँपालिकाहरूमा गठबन्धनका दलहरूबीच भइसकेको सिट बाँडफाँट समझदारीविपरीत गठबन्धनभित्रकै दलहरूबाट दर्ता भएका उम्मेदवारी फिर्ता गर्ने पनि गठबन्धनले निर्णय गरेको छ ।

यसका लागि सम्बन्धित दल र स्थानीय संयुक्त संयन्त्रले आवश्यक कार्य गर्ने तथा उम्मेदवारी दर्ता भइसके पनि तालमेल नभएका ठाउँमा बुधबारै छलफल गरी समझदारीमा पुग्नसमेत शीर्ष नेताको बैठकले निर्देशन दिएको छ । बैठकले दिएको निर्देशनमा भनिएको छ, ‘गठबन्धनका दलहरूका बीचमा सिट बाँडफाँटको समझदारी हुन नसकेका नगरपालिका, गाउँपालिका र तिनका वडाहरूमा समेत बुधबार नै स्थानीय र प्रदेश संयन्त्रले समझदारीका लागि आवश्यक कार्य गर्ने, र त्यसका निमित्त स्थानीय, जिल्ला र प्रदेश संयन्त्रले केन्द्रीय संयन्त्रसँग आवश्यक परामर्श र सहयोग लिने ।’

एमालेसँग भएका तालमेल खारेज गर्ने निर्णय
सत्तारूढ गठबन्धनले स्थानीयस्तरमा एमालेसँग भएका चुनावी तालमेल खारेज गर्ने निर्णय गरेको छ । पाँच दलीय गठबन्धनबीच गठबन्धनमा आबद्ध दलहरूबाहेक अन्य दलसँग तालमेल नगर्ने सहमति भएको थियो । तर,केन्द्रको सहमतिविपरीत गठबन्धन सदस्य दलहरूले नै कतिपय स्थानीय तहमा एमालेसँग तालमेल गरेर उम्मेदवारी दर्ता गरेका छन् । बैठकपछि कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त हस्ताक्षर गरी जारी विज्ञप्तिमा भनिएको छ, ‘गठबन्धनभित्रका दलहरूले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने ।’

गठबन्धनका सदस्य दलबाहेक अन्य दलसँग चुनावी तालमेल नगर्ने केन्द्रको निर्णयविपरीत हुम्लाको चंखेली गाउँपालिका, प्युठानको झिमरुक गाउँपालिका, सल्यानको कुमाख गाउँपालिका र भोजपुरको आमचोक गाउँपालिका लगायतका स्थानीय तहमा एमालेसँग तालमेल गरेर उम्मेदवारी दर्ता भएको छ ।

स्वतन्त्र उम्मेदवारी फिर्ता गराउन खाँण भरतपुरमा
स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा कांग्रेस नेता कार्यकर्ताले देखाएको असन्तुष्टि सम्बोधन गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना विश्वासपात्र मध्येका एक केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँणलाई खटाउनुभएको छ । सभापति देउवाको निर्देशनपछि गृहमन्त्री खाँण बुधबार दिउँसो नै भरतपुर जानुभएको छ । भरतपुरमा सत्ता गठबन्धन दलबीच चुनावी तालमेल हुँदा महानगरको मेयर पद नेकपा माओवादी केन्द्रको भागमा परे पनि चितवन कांग्रेस नेता तथा कार्यकर्ताले तीव्र विरोध गर्दै आएका छन् ।

गठबन्धनका तर्फबाट भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गराउनुभएको छ । तर, असन्तुष्ट नेता तथा कार्यकर्ताको तर्फबाट नेपाली कांग्रेस चितवनका नेता जगन्नाथ पौडेलले महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । नेता पौडेललाई उम्मेदवारी फिर्ता गराउने जिल्ला नेताहरूको प्रयास असफल भएपछि सभापति देउवाले केन्द्रबाटै आफ्नो प्रतिनिधिको रूपमा गृहमन्त्री खाँणलाई भरतपुर पठाउनुभएको हो । भरतपुर महानगरमा २०७४ को स्थानीय तह निर्वाचनमा पनि कांग्रेसले नेकपा माओवादी केन्द्रलाई समर्थन गरेको थियो ।

स्वतन्त्र उम्मेदवारी फिर्ता लिन महामन्त्री थापाको आग्रह
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावका बेला पार्टीका सबै कार्यकर्ताले पार्टीको निर्णय मान्नुको विकल्प नभएको बताउनुभएको छ । कतिपय नेता¬कार्यकर्ता अन्यायमा परेको र यसको हिसाब किताब पछि हुने भन्दै महामन्त्री थापाले तर अहिले पार्टीको निर्णय मान्नुको विकल्प नभएको बताउनुभएको हो । पार्टीमा लामो योगदान गरेका नेता कार्यकर्ताले पार्टीको निर्णय उल्लंघन गरेपछि फेरि फर्किने ठाउँ नहुने भन्दै महामन्त्री थापाले भन्नुभयो, ‘पार्टी एउटा निर्णय गरेर चुनावमा होमिन्छ, चुनावअघि मतभेद हुन्छ, चुनावपछि पनि मतभेद हुन्छ । तर, चुनावका बेला पार्टीको निर्णय मान्नुपर्छ । पार्टीको निर्णय उल्लंघन गर्नेहरू फर्केर आउने ठाउँ हुँदैन, त्यसपछि पार्टीको यात्रा अघि बढाउने कुरा गाह्रो हुन्छ । अघिल्लो पटक बागी उम्मेदवारी दिएकाहरूलाई हामीले टिकट दिन सकेनौँ, किनभने उहाँहरूको अहिलेसम्म कारबाही फुकुवा भएको छैन ।’

स्वतन्त्र उम्मेदवारी दिएका नेता तथा कार्यकर्तालाई फिर्ता लिन आग्रह गर्दै महामन्त्री थापाले भन्नुभयो, ‘स्वतन्त्र उम्मेदवारी दिने साथीहरूलाई म बिन्ति भएर अनुरोध गर्न चाहन्छु, हामीसँग दुई दिन समय छ, तपाईंहरूको अन्यायको हिसाब किताब हुन्छ, त्यो अन्यायको क्षतिपूर्ति हुने गरी निर्णय गर्ने ठाउँसम्म पु¥याउँछु । तर, अहिले स्वतन्त्र उम्मेदवारी फिर्ता लिनुहोस् ।’

पार्टीको मूल प्रवाहमा फर्किन असन्तुष्ट नेता/कार्यकर्तालाई डा. शेखरको अपिल
नेपाली कांग्रेसभित्र सुरुदेखि नै तालमेलको विरुद्धमा उभिनुभएका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीबाट टिकट नपाएर स्वतन्त्र उम्मेदवारी दिएका नेता तथा कार्यकर्तालाई पार्टीको मूल प्रवाहमा फर्किन अपिल गर्नुभएको छ । बुधबार प्रेस विज्ञप्ति जारी गरेर नेता डा. कोइरालाले स्थानीय चुनावको टिकट वितरणमा देशैभरिबाट असन्तुष्टि आइरहेको र लामो समयदेखि पार्टीमा काम गरी आएका नेता÷कार्यकर्ताले पार्टी छाड्नुपर्ने अवस्था आउनु दुःखद भएको बताउनुभएको हो । विज्ञप्तिमा भनिएको छ, ‘अहिले म साथीहरूको असन्तुष्टि देशभरिबाट सुन्दैछु, टिकट वितरणलाई लिएर । जीवनभर कांग्रेसको सिद्धान्त, मूल्यपद्धति र आदर्शप्रति समर्पित वरिष्ठ साथीहरू यतिखेर पार्टी छाडी अन्य पार्टीमा ओत लाग्न पुगेका छन् । कैयौँ साथीहरू स्वतन्त्र उम्मेदवारको रूपमा चुनावी मैदानमा जान बाध्य हुनुहुन्छ । ती साथीहरूलाई कांग्रेसको मूल प्रवाहमा फर्कन म आग्रह गर्दछु ।’

टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भएको भन्ने आफूले पनि सुनेको र पार्टीभित्र न्यायका लागि आफूहरू सधैँ लड्ने प्रतिबद्धता व्यक्त गर्दै डा. कोइरालाले विज्ञप्तिमा भन्नुभएको छ, ‘साथीहरूलाई राजनीतिक र व्यक्तिगत रूपमा पर्न गएको पीडा र वेदनासँग म संवेदनशील छु । पार्टीभित्र न्यायको पक्षमा निरन्तर आवाज उठाइरहने प्रण गर्दछु । हामी कांग्रेसको निर्णय प्रक्रिया गर्ने ठाउँमा संख्यामा थोरै छौँ । तर पनि हामी लड्छौं । अन्ततः जित सत्य र न्यायको हुन्छ । हामी निराश हुने छैनौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?