मातातीर्थ औँसी, जय माता ! जय जननी !!

बद्रीप्रसाद दाहाल
Read Time = 12 mins

वैशाख महिनाको कृष्ण पक्षको अमावास्या तिथि आफ्नी जननीको श्रद्धा, आस्था, सम्झना र सम्मानको पावन दिन हो । यसपालि २०७९ वैशाख १७ गते यो पर्व पर्न गएको छ । जसलाई मातादिवस, जननी सम्मान पर्व, आमाको मुख हेर्ने दिन भनेर लोकजिब्राहरूले पुकार्दछन् । हिन्दू सनातनी मात्र नभएर सबै धर्मका अनुयायी यस दिन आफ्नी आमा भएका ठाउँमा जम्मा भएर दर्शन, ढोगभेट, मिठो मसिनो खाना खुवाउने र खाने गर्दछन् । आमा परलोक गइसकेकाहरू भने पवित्र तीर्थस्थलहरूमा गएर श्राद्धादि कर्म गर्दछन् ।

यस दिन काठमाडौंस्थित चन्द्रागिरि नगरपालिकाको दक्षिणपटिको पहाडको काखमा अवस्थित मातातीर्थमा गएर स्वर्गीय आमाको सम्झनामा तर्पण र श्रद्धा गर्दछन् भने अन्य नदी तथा पवित्र ठाउँमा पनि श्रद्धाकर्म चल्दछ । कैयौँ आफ्ना जीवित आमाहरूको दर्शन गर्न नाना किसिमका उपहार, कोसेली, मरमसला, लत्ताकपडा तथा मिष्ठान्न लिएर मातृनिवासमा पुग्ने छोराछोरीको अपूर्व मातृमिलनको मेलै लाग्दछ । यस पवित्र दिनले सृष्टिको रंगीन संसार देखाइदिने साक्षात् सिर्जनाकी देवी मातृशक्तिको संस्मरण, ढोगभेट र मिलनले सन्ततिहरूमा अपूर्व श्रद्धाको चहलपहल गराउँछ ।

हाम्रा पुराण र श्रुतिस्मृति ग्रन्थहरूले माताको अग्लाइ गहकिलो रूपमा छामेका छन् । यसै सन्दर्भमा पद्मपुराणको भनाइ याद आयो ‘सर्व तीर्थमयीमाता, सर्व देवमयः पिता । मातरं पितरं तस्मात् सर्व यत्नेन पूजयेत् ।।’ भनेर मातापिताको महिमालाई तीर्थ र देवमय भनेर शिर झुकाएको छ । त्यसैगरी, हाम्रा उपनिषद् वाक्यले मातृदेवो भव ! भनी देवत्व शक्ति आमामा नै विराजमान छ भनेर यकिन गरेको छ ।

आमा शक्तिलाई धरणी र आफूलाई पृथ्वीपुत्र सम्झाउँदै यो सुन्दर सूक्ति बोल्छ : ‘माताभूमिःपुत्रोऽहं पृथिव्याः’ पूर्वीय प्रथम विधिशास्त्री मनुले आमाको गुरुतालाई यसरी प्रकट गरेका छन्- ‘उपाध्यायान् दशाचार्य आचार्याणां शतं पिता । सहस्रं तु पितृन् माता गौरवेणातिरिच्यते’ ।। यसबट हामीके कुरा बुझ्छौँ भने दश उपाध्यायभन्दा एक आचार्य उत्तम, सय आचार्यभन्दा उत्तम एक पिता, हजार बुबाभन्दा उत्तम एउटी आमा हुन्छिन् । मनुको यो निष्कर्ष जुनसुकै युगमा पनि उत्तिकै गौरवले परिपूर्ण छ ।

कूर्म पुराणले आमालाई साक्षात् देवताको रूपमा वर्णन गरेको छ भने अध्यात्म रामायणमा युद्धको विजयपछि रामलक्ष्मणको संवाद क्रममा रामले लक्ष्मणको प्रस्तावलाई उत्तर दिँदै बोले : ‘अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते । जननीजन्मभूमिश्च स्वर्गादपि गरियसी’ ।। आमा र जन्भभूमि स्वर्गभन्दा पनि महान् र गौरवपूर्ण हुन्छन् लक्ष्मण ! मलाई सुनैसुनले सजिसजाउ भएको लङ्का रुचिकर छैन बाबु ! यो इन्द्रेणी जस्तो धराधाममा आमाभन्दा मथिल्लो दैवीतत्व अरू कुनै पनि छैन । कतिपय जानिफकार भन्दछन् : आमा प्राकृत र सत्यकी देवी हुन् तर पिता भनेको विश्वास र सम्झौताका पुरुष हुन् । संस्कृत कोषले आमालाई जनयित्री, जनित्री प्रसू, माता, जननी, आदि नामले सम्मान गरेको छ ।

दस महिनासम्म आफ्नो कोखमा अनगिन्ती कष्ट, विपद्, दुःख सहेर हामीलाई होसियारीपूर्वक सुरक्षित राख्ने आमा धैर्यकी देवी नै हुन् । प्रसूति वेदनाको दुःख एवं कष्टलाई बिर्सिएर आलो घाउको परबाह नगरी हरक्षण हाम्रो सेवामा तल्लीन हुने आमाको अपूर्व ममता अतुलनीय छ । सेवा र संरक्षणकी साक्षात् देवी हुन् आमा । त्यसै भएर मान्नु वा पूजा अर्चना गर्नु भन्ने अर्थमा नै माता भनिएको कुरा व्याकरणकारहरू बताउँछन् । सबैले विचार गरौँ त ‘आमा’ शब्दको उच्चारण गर्दा हाम्रो कण्ठ वा घाँटी खुला हुन्छ भने ‘मा’ को लबजमा हृदय नै कम्पायमान हुँदै ओठ र नाकसमेत सक्रिय भएको अनुभव हुन्छ ।

त्यसैले त आमा गला, हृदय, ओठ, नाक जस्ता सार्थक र संवेदनशील अङ्गकी विम्ब बन्न पुगेकी हुन् । वास्तवमा आमा—पार्वती, महादेवी र राधातŒवकै प्रतिमूर्ति हुन् । जसको आराधना ब्रहृमा, विष्णु, शिव, इन्द्र कसले पो गरेका छैनन् र ? त्यसैले त आमाको बन्दना तथा दर्शन ढोग गरेर यस्ता तत्वहरू पाइन्छ भनी मनीषिहरूले बताएका :- ‘आयुःपुमान् यशः स्वर्गं, कीर्ति पुण्यं बलं श्रियम् । पशुं सुखं धनं धान्यं, प्राप्नुयात् मातृवन्दनात्’ ।। नीतिकारहरूको यो मातृ गाथा कति निर्मल यथार्थ र आदर्शको आलोक छ जसले हाम्रो मस्तक झुकाएको छ ।
ब्रहृमवैवर्त पुराण आमाको शीर्ष स्थान औँल्याउँदै ः ‘नास्तिमातृसमं तीर्थं पुत्राणां तारणाय च । हितायात्र परत्रार्थं यैस्तु माताप्रपूजिताः’ ।। वास्तवमा छोराछोरीलाई तार्नका लागि, उनीहरूको हित, कल्याण र लोकपरलोक सुधारमा अग्रगामी हार्दिक भूमिका निर्वाह गर्ने संसारमा आमा नै भएको हुँदा उनी स्वयं तीर्थ हुन् र आराधनाकी पूजनीया देवी पनि । त्यसै भएर तप्रथम जगत्गुरु शङ्कराचार्य जस्ता कौपीधारीले पनि शरि झुकाउँदै भने :

जगन्मातर्मातस्तव चरणसेवा न रचिता ।
नवादत्तं देवि द्रविणमपि भूयस्तवमया ।।
तथापित्वं स्नेहं मयिनिरूपमं यत् प्रकुरूषे ।
कुपुत्रो जायेतक्वचिदपिकुमाता नभवति।।
भनेर कुपुत्र जन्मन सक्छन् तर कुमाता कुनै पनि आमा जन्मदैनन् भनेर ठोकुवा नै गरिदिएका छन् ।

आमाकै स्तनबाट बहेका दसधारा दूधले हामी राक्षस जस्ता भाइरससित लड्न सामथ्र्य राख्छौँ । वास्तमा आमाको छाती अमृत घडा रहने भण्डार हुन् । रगतकै प्रशोधित रूप दूध हो । नानीबाबुहरूलाई आमाको दूध जस्तो पौष्टिक र हर किसिमका कीटाणुहरूलाई प्रतिरोध गर्ने शक्ति अरूमा छैन भनेर आजका वैज्ञानिकहरू भनिरहेका छन् । हाम्री प्रथम गुरुआमा जसले मधुर लोरीमा संगीतका सारेगमपदनिको शिक्षण चलाउँछिन् । नाता, इष्टमित्र, कुल कुटुम्ब, वस्तु, चिज, प्रकृतिका रहस्य र लौकिक सामाजिक जीवनको यावत पक्षहरूको गम्भीर शिक्षा आफ्नै काखमा राखेर दिन्छिन् । यस्ती कसैसित तुलना गर्नै नमिल्ने आमा जसरी आपत्विपद्मा आश्रयको शिरानी ठम्याएरै मान्छेले ऐया आमा ! आत्थो आमा ! मरेँ आमा ! आदि भनेर हामी आमालाई नै पुकारिरहेका हुन्छौँ ।

त्यसै भएर जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवताहरू पनि खुसी हुन्छन् भन्ने मनुस्मृति वचन जहिले पनि अभिनव वचन भएर टल्केको छ । त्यसै भएर त नेपोलियन बोनापार्टले भने : ‘मलाई एक असल आमा देऊ, म तिमीलाई सुन्दर राष्ट्र दिन्छु । आमाको संस्कारमा नै बालबालिकाको भाग्य छ’ । महात्मा गान्धीले शिर झुकाएर भने- आमा सन्तानको पहिलो गुरु र पूजा गर्नलायक दैवीशक्ति हुन्’ ।

आमा, सानीमा, जेठानी दिदी, दिदी, बहिनी, श्रीमती, भाउजू, बुहारी, भाञ्जी, हजुरामा, फुपू, सासू, साली, भिन्न भिन्न भूमिका निर्वाह गर्ने मातृशक्ति यो सृष्टिक्रमलाई प्राण भर्ने दैवीतागत हुन् । तर, विडम्बना ! आजको विश्वमा यस्तो अपूर्व शक्तिको भक्ति नगरेर शोषण, दोहन, बलात्कार, भ्रूण मास्ने, वस्तु झैँ विनिमय र बिक्रीमा लैजाने जुन निचता प्रदर्शन भइरहेको छ त्यो मानवीय सभ्यताको कलंक हो । अझ बेलुकाकी घामसरी बनेकी आमालाई ललाई फकाई मन्दिर जाने भनेर झुक्याई अव्यवस्थित वृद्धाश्रम धकेल्ले छोरा पुत्र नभएर कपूत हो ।

श्रीमती र आमाको सम्बन्ध सन्तुलन मिलाउन नसकेका नामर्द छोराहरूले यसरी मातृशक्तिको अपव्यय गरेर धराधाममा सास फेर्नु जिउँदै मर्नु हो । त्यसैले मातातीर्थको महादिनले सबैमा आमाप्रतिको कर्तव्यबोध र उनको गरिमाप्रति गर्व गरेर अपार ममता वर्षा गर्ने प्रेरणा मिलोस् । सद्भावकी निःस्वार्थ देवीमा मुटुदेखि शिर झुकाएर नमन गरूँ । मातृभक्तिको अपूर्व गर्वको यो पर्वले हाम्रो सनातन संस्कृतिको राजमार्ग चिनाउँछ । सबैले एकै स्वरमा भनौँ जय माता ! जय जननी ! ! उनी त सधैँ भनिरहेकी छिन् जय सन्तति ! ! ! अस्तु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?