भरतपुर, पोखरा र विराटनगर महानगरको चुनावी प्रतिस्पर्धा रोचक मोडमा

Read Time = 14 mins

अनिल क्षेत्री/हिटा
काठमाडौं । चितवनको भरतपुर, कास्कीको पोखरा, मोरङको विराटनगर महानगर र धनुषाको जनकपुर उपमहानगर लगायतका रणनीतिक महत्वका स्थानीय तहको प्रमुख तथा उपप्रमुख पदमा परेको स्वतन्त्र उम्मेदवारी फिर्ता लिन सत्तारूढ पाँच दलीय गठबन्धन असफल भएको छ । यी स्थानीय तहमा गठबन्धनकै सदस्य दलहरूबाट स्वतन्त्र उम्मेदवारी परेको थियो । यस्तै, सदस्य दलहरूबाहेक अन्य दल विशेषगरी नेकपा एमालेसँग चुनावी तालमेल नगर्ने गठबन्धनको निर्णयविपरित प्युठानको झिमरुक गाउँपालिकामा माओवादी केन्द्र र नेकपा एमालेबीच चुनावी गठबन्धन भएको छ । धेरैजसो स्थानीय तहमा भने सत्तारूढ पाँच दलीय गठबन्धनका सदस्य दलहरूबाट परेका स्वतन्त्र उम्मेदवारी भने फिर्ता भएका छन् ।

चुनावी तालमेलको विषयमा सत्ता गठबन्धनमा छलफल सुरु भएदेखि नै विवाद र चर्चामा रहेको चितवनको भरतपुर महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवारको उम्मेदवारी फिर्ता लिन सत्तारूढ गठबन्धन असफल भएको छ । निर्वाचन आयोगले शुक्रबार पाँच बजेसम्म उम्मेदवारी फिर्ता लिने अन्तिम समय तोकेको थियो । तर, भरतपुर महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएका कांग्रेस नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता लिनुभएन । पौडेलको उम्मेदवारी कायमै रहेपछि सत्तारूढ गठबन्धनमा खैलाबैला मच्चिएको छ । सत्तारूढ गठबन्धनबीच चुनावी तालमेल हुँदा भरतपुर महानगरको मेयर पद नेकपा माओवादी केन्द्रको भागमा परेपछि चितवन कांग्रेसमा असन्तोष चुलिएको थियो । गठबन्धनको तर्फबाट मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गर्नुभएको थियो ।

तर, भरतपुरको नेतृत्व माओवादी केन्द्रलाई दिने केन्द्रको निर्णयप्रति आक्रोशित कांग्रेस चितवनका नेता तथा कार्यकर्ताको तर्फबाट पूर्व-सांसदसमेत रहनुभएका कांग्रेस नेता जगन्नाथ पौडेलले मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको थियो । पौडेलको उम्मेदवारीले गठबन्धनमा तरंग उत्पन्न भयो । पौडेलले पनि मेयरमा स्वतन्त्र उम्मेदवारी दिएपछि कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तासाझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फोन गरेर उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको थियो । पौडेलले नमानेपछि प्रधानमन्त्री देउवाले आफ्ना विश्वास पात्र गृहमन्त्री बालकृष्ण खाँणलाई बुधबार भरतपुर पठाउनुभएको थियो । प्रधानमन्त्री कार्यालयका मन्त्री उमेश श्रेष्ठ पनि पौडेललाई मनाउन भरतपुर जानुभएको थियो । पौडेललाई राष्ट्रियसभा सदस्य/राजदूत र मन्त्रीको प्रस्ताव गरिएको थियो । तर, पौडेललाई मनाउन नसकेपछि गृहमन्त्री खाँण शुक्रबार दिउँसो मात्र काठमाडौं फर्किनुभएको थियो । पूर्व-प्रधानन्यायाधीश गोपाल पराजुलीले पनि पौडेलको उम्मेदवारी फिर्ता गराउन प्रयास गरेको सार्वजनिक भएको थियो । पटक-पटकको प्रयासपछि पनि पौडेलले उम्मेदवारी फिर्ता लिनुभएन । शुक्रबार दिनभर आफ्नो घर भरतपुर महानगरपालिका-७ कृष्णपुरमा समर्थकमाझ बस्नुभएका पौडेलले उम्मेदवारी फिर्ता लिने समय सकिएलगत्तै संक्षिप्त कोणसभालाई सम्बोधन गर्नुभएको थियो ।

पौडेल विसं.२०४९ सालको स्थानीय चुनावमा तत्कालीन भरतपुर नगरपालिकाको उपमेयरमा कांग्रेसबाट विजयी हुनुभएको थियो । राष्ट्रियसभाका सदस्य भइसक्नुभएका ७१ वर्षीय पौडेल वरिष्ठ अधिवक्ता पनि हुनुहुन्छ । भरतपुर महानगरको मेयरको उम्मेदवारको उम्मेदवारी फिर्ता लिन असफल भएसँगै गठबन्धनभित्र अविश्वास पैदा हुने जोखिम बढेको छ । अघिल्लो निर्वाचनको मतपरिणाम हेर्न हो भने पौडेलको स्वतन्त्र उम्मेदवारी कायम रहेसँगै भरतपुरमा गठबन्धनका उम्मेदवारलाई परिणाम आफ्नो पक्षमा पार्न सकस पर्ने देखिन्छ ।

पौडेल स्वत : पार्टीबाट निष्कासन

निर्धारित समयमा उम्मेदवारी फिर्ता नलिएपछि भरतपुर महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनुभएका कांग्रेस नेता पौडेल पार्टीबाट निष्कासित हुनुभएको छ । नेपाली कांग्रेसको पार्टी विधानअनुसार पौडेलसहित प्रस्ताव र समर्थक कांग्रेसबाट स्वतः निष्कासित हुनुभएको हो । कांग्रेस विधानको दफा ४ को १३ को ग अनुसार पौडेलसहित प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मीना खरेल कांग्रेसबाट स्वतः निष्कासित हुनुभएको हो । कांग्रेसले विज्ञप्ति जारी गरेर शुक्रबार पाँच बजेभित्र उम्मेदवारी फिर्ता नलिने स्वतन्त्र उम्मेदवारहरू साधारण सदस्यसमेत नरहने गरी निष्कासन हुने चेतावनी दिएको थियो । पौडेलको प्रस्तावक सापकोटा चितवन कांग्रेसका पूर्व-सभापति हुनुहुन्छ भने समर्थक खरेल महासमिति सदस्य हुनुहुन्छ ।

२०७४ सालको स्थानीय तह निर्वाचन हेर्ने हो भने चितवनको भरतपुर महानगरपालिकामा कुल मतदाता संख्या एक लाख ५० हजार २७४ रहेको थियो । निर्वाचनमा एक लाख १२ हजार ८९७ मत खसेको थियो । खसेकोमध्ये एक लाख ११ हजार ४७३ मत सदर भएको थियो । उक्त निर्वाचनमा भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसले तालमेल गरेका थिए । निर्वाचनमा मेयर पदमा माओवादीको तर्फबाट उम्मेदवार बन्नुभएकी रेनु दाहाल विजयी हुनुभएको थियो । निर्वाचनमा दाहालले ४३ हजार १२७ मत ल्याउँदा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गर्नुभएको थियो । जुन २०३ मत मात्र फरक छ । यो हिसाबबाट पनि अहिलेको चुनावी भिडन्त पनि रोचक बन्ने देखिएको छ भने रेनु दाहालले चुनाव जित्न निक्कै कसरत गर्नुपर्ने देखिन्छ ।

पोखरा महानगरमा कांग्रेसका दुई स्वतन्त्र उम्मेदवारी फिर्ता, एउटा कायमै
पोखरा महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिनुभएका कांग्रेस नेता ऋषि सापकोटा र नन्दप्रसाद तिवारीले मनोनयन फिर्ता लिनुभएको छ । पाँच दलीय गठबन्धनका साझा उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिनुभएका दुवैले शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन फिर्ता लिनुभएको हो । सापकोटा कांग्रेस कास्कीका पूर्व-सचिव र तिवारी पूर्व-कोषाध्यक्ष हुनुहुन्छ । कांग्रेसबाटै स्वतन्त्र उम्मेदवारी दिनुभएका विमलबहादुर कार्कीले भने उम्मेदवारी फिर्ता लिनुभएन । सापकोटाले केही दिन सांकेतिक विद्रोह गरे पनि आफ्नो कारणले राष्ट्रको स्थिति असहज हुने देखेर फिर्ता लिएको प्रतिक्रिया दिनुभयो । त्यस्तै, तिवारीले कांग्रेसको इमान्दार कार्यकर्ताको हैसियतमा पार्टीको निर्णय मानेर फिर्ता लिएको बताउनुभयो । अब गठबन्धनका उम्मेदवारलाई मत दिनु आफ्नो दायित्व भएको दुवैको भनाइ छ ।

विराटनगर महानगरमा मेयरका तीन, उपमेयरका दुईसहित २३ जनाको उम्मेदवारी फिर्ता

विराटनगर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिनुभएका तीन जनाले आफ्नो मनोनयन फिर्ता गर्नुभएको छ । उम्मेदवारी फिर्ता गर्नेहरूमा राष्ट्रिय जनमोर्चाका टंकप्रसाद गौतम, माओवादीकी नेतृ शारदा मैनाली र नेपाल परिवार दलका महेश निरौला रहनुभएको छ । तर, महानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएका जनता समाजवादी पार्टीका नेता उमेश यादवले पनि उम्मेदवारी कायमै राख्नुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार उपप्रमुख पदका दुईजना उद्धवप्रसाद कोइराला र नेपाल परिवार दलका दीपक पोखरेलले पनि उम्मेदवारी फिर्ता लिनुभएको छ । तर, महानगरको उपप्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएकी माओवादी नेतृ नमिता न्यौपानेले आफ्नो उम्मेदवारी कायम रहेको बताउनुभएको छ ।

स्वतन्त्र उम्मेदवारी दिनुभएका पाण्डेको समर्थन गिरीलाई
दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएका धर्मराज पाण्डेले उम्मेदवारी फिर्ता लिनुभएको छ । शुक्रबार उम्मेदवारी फिर्ता लिँदै पाण्डेले कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका तुलसीपुर उपमहानगरको मेयर उम्मेदवार गेहेन्द्र गिरीलाई समर्थन गर्नुभएको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार गिरीलाई विजयी गराउन अपिल गर्दै पाण्डेले भन्नुभयो, ‘गेहेन्द्र निकै संघर्ष गरेको, राम्रो र इमान्दार नेता हो, राजनीतिक निष्ठावान गेहेन्द्रलाई सबैले मत दिएर सहयोग गरौँ ।’

बुटवल उपमहानगरमा जसपाका मेयर र उपमेयर उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

सत्तारूढ गठबन्धनको घटक जनता समाजवादी पार्टी (जसपा)बाट बुटवल उपमहानगरपालिकाको मेयर र उपमेयर पदमा उम्मेदवारी दिएका दुवै जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जसपाबाट मेयरमा सुरज हितान मगर र उपमेयरमा सम्झना पौडेलले मनोनयन दर्ता गर्नुभएको थियो । नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनका उम्मेदवारलाई सघाउने गरी मेयर र उपमेयरका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जानकारी दिँदै जसपा लुम्बिनीका मुख्यसचिव यज्ञ पोखरेलले भन्नुभयो, ‘मेयरमा कांग्रेसका खेलराज पाण्डेय र उपमेयरमा एकीकृत समाजवादीका चिनबहादुर गुरुङलाई सहयोग गर्ने गरी उम्मेदवारी फिर्ता लिइएको हो, वडा तहका उम्मेदवारी भने फिर्ता भएको छैन ।’

जनकपुर उपमहानगरमा कांग्रेसका स्वतन्त्र उम्मेदवार कायमै
जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएका कांग्रेस नेता मनोज साहले उम्मेदवारी कायमै राख्नुभएको छ । निर्वाचन आयोगले तोकेको उम्मेदवारी फिर्ता लिने समयमा साहले आफ्नो उम्मेदवारी फिर्ता लिन अस्वीकार गर्नुभएको हो । कांग्रेस नेताहरूको निरन्तरको प्रयास र दबाबबीच पनि साहले उम्मेदवारी फिर्ता नलिने अडान राख्नुभयो । साहले जनकपुर उपमहानगर समितिको कांग्रेस सभापतिको पदबाट राजीनामा दिएर उम्मेदवारी दर्ता गराउनुभएको थियो । उम्मेदवारी फिर्ता नलिएसँगै साहसहित प्रस्तावक र समर्थक दुवै कांग्रेसबाट निष्कासित हुनुभएको छ । जनकपुरको प्रमुखमा कांग्रेसले जसपालाई समर्थन गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?