घडीको पनि घडी सौरघडी वा धूपघडी

Read Time = 13 mins
A A- A+

✍️ डा. नारायणप्राद निरौला
समय गतिशील छ । यही गतिलाई अंकन गरी मानवीय व्यवहार चलाउन समयको मापन गरिन्छ । यसरी मापन गरिने समयलाई घडीद्वारा व्यवहारमा उपयोग हुने गर्दछ । यसरी उपयोग गरिने घडीलाई पनि मार्गनिर्देश गर्ने अर्थात् समयको गणना गर्ने पद्धति सौरघडी हो । पौरस्त्य शास्त्रमा काल अथवा समयलाई दुई भागमा विभाजन गरिएको छ । मूर्त र अमूर्त । अमूर्त काल गणना गर्न नसकिने भएकाले अनन्त रहन्छ । यसैगरी मूर्त काललाई गणना गर्ने पद्धति ज्योतिषशास्त्रमा विद्यमान छ ।

आजको हातेघडी आउनुभन्दा पहिले पनि समयको गणना गरिन्थ्यो । अरबौं वर्षको समय गणना ज्योतिषशास्त्रमा विद्यमान छ । यसरी समयको व्यावहारिक गणना गर्ने पद्धति पनि हाम्रा ऋषिमुनिले वैज्ञानिक तरिकाले बताएका छन् । जसको प्रयोग आज हामी घडीको समयलाई सच्याउन प्रयोग गर्दछौं । सर्वप्रथम सूर्यको छायाँअनुसार समयको निर्धारण गरिन्छ र सोही समयअनुसार हातेघडी पनि सच्याउनु पर्दछ ।

प्राचीन कालमा सौरघडी, पानी घडी, रेत घडी आदि प्रचलनमा थिए । यीमध्ये सबैभन्दा प्रामाणिक घडीका रूपमा सौरघडीलाई लिइन्छ । जुन सूर्यको छायाका आधारमा तय हुन्छ र वास्तविक समयको ज्ञान गर्न सकिन्छ । यही सौरघडीको विकसित रूप नै आजको हाते घडी हो । हाते घडीले निश्चित समयलाई मात्र प्रदर्शन गरिरहेको हुन्छ । २४ घण्टाको एक दिन मान्ने कुरा मध्यम मानले मात्र हो । वास्तवमा एक दिनमा चौबीस घण्टाभन्दा कम समय हुन्छ । पौरस्त्य मतमा सूर्यले एक अंश पार गरेपछि एक दिन हुन्छ । तर एक अंश पार गर्ने समय सूर्यको गतिका आधारमा ६० घडी अर्थात् २४ घण्टाको आसपासमै घुमिरहेको हुन्छ ।

आधुनिक मतमा पृथ्वीले एक फन्को लगाएपछि एक दिनको समय हुने गर्दछ । यी मापनका आधार हुन् । घडीको सुई घुमाए पनि सुईलाई स्थिर राखेर अंक लेखेको आधार भागलाई घुमाए पनि दुवै तरिकाले समय जान्न सकिन्छ । आजको आधुनिका र पौरस्त्य मान्यतामा पनि यही कुराको भिन्नता हो । मूल समय उही हुन्छ । संसारमा सबै कुरा चलायमान छन् । परमाणुभित्र रहेका इलेक्ट्रोनदेखि आकाशका ठूला-ठूला ग्रह पिण्ड सबै चलायमान नै रहन्छन् । आधारलाई स्थिर नमानी कुनै पनि गणना वा मापन असम्भव हुन्छ ।

यसैले पौरस्त्य ग्रन्थमा पृथ्वीलाई स्थिर मानेर अन्य आकाशीय पिण्डलाई गतिशील तुल्याई कालको गणना गरिएको छ । यसैगरी आधुनिक सिद्धान्तमा सूर्यलाई स्थिर मानेर कालको गणना गरिन्छ । जसरी गरे पनि सही समय हाम्रा लागि आवश्यक हुन्छ । उक्त सही समयको निर्धारण गर्ने पौरस्त्य विधि सौरघडी (धूपघडी) आज पनि विज्ञानको कसीमा परीक्षित छ ।

पृथ्वीका प्रत्येक स्थानमा समय भिन्न भिन्न रहने गर्दछ । हातेघडीले त जुन स्थानको समयलाई चलायमान बनायो त्यही स्थानको कोरा समयलाई मात्र दर्शाइरहेको हुन्छ । सूर्य सधैं एकै स्थानबाट उदाउँदैनन् । उत्तरायणको समयमा आजको तुलनामा केही उत्तरतर्फ सरेर उदाउँछन् भने दक्षिणायन हुँदा केही दक्षिणतर्फ सरेर सूर्य उदाउने गर्दछन् । यसरी सूर्यको दैनिक चालअनुसार नै समयमा पनि परिवर्तन भइरहन्छ । २४ घण्टाका दिनरात त वर्षमा दुई दिनमात्र हुन्छन् । जसलाई विषुवत् दिन भनिन्छ ।

अन्य दिन २४ घण्टाको आसपारमा मात्र दिन रात हुने गर्दछ । यसैले प्रत्येक दिनको वास्तविक समय केवल सौरघडीबाट मात्र मापन गर्न सम्भव छ । अन्यथा उक्त समय वास्तविक नभएर केवल मध्यम मानमात्र हुनपुग्छ । धूप घडी (सौरघडी) बाट वास्तविक स्थानीय समय पत्ता लगाउन सकिन्छ । यसरी वास्तविक स्थानीय समयबाट बनाइएका चिना कुण्डली नै वास्तविकताका नजिक रहन्छन् । स्थानअनुसार स्थानीय समयमा भिन्नता रहने गर्दछ । किनकि पृथ्वी गोलो छ । प्रत्येक स्थानको अक्षांश र देशान्तर एउटै हुँदैन । चर पनि भिन्न रहने भएकाले सूर्योदयको समयमा पनि अन्तर आउने गर्दछ । यसैले समयमा पनि फरक पर्ने गर्दछ ।

सौरघडी वा धूपघडी बनाउने तरिका :
एक समतल भूमिमा आफ्नो अक्षांशअनुसारको शंकु (लट्ठी) गाड्नु पर्दछ । यसरी राखिने शंकु उत्तर दिशातर्फ अक्षांशतुल्य झुकेको हुनुपर्दछ । यहाँ शंकुलाई सिधा राखेर समलत पृष्ठलाई अक्षांश तुल्य झुकाएर पनि सौरघडी तयार गर्न सकिन्छ । उक्त समतल भूमि या पृष्ठमा शून्य छायाँ हुँदा दिनको ठीक १२ बज्ने गर्दछ । सूर्योदय कालमा सूर्यको छायाँ पश्चिमको अन्तिम बिन्दु हुन्छ । मध्यान्हमा छायाँ शून्य भई अपरान्हनमा पूर्वतर्फ सर्ने गर्दछ ।

यसरी एकदिनको परीक्षण गरेर बाह्रबटा चिहृन गर्नाले दिनको बाह्र घण्टामान जान्न सकिन्छ । यही घण्टाभित्रको मानलाई सूक्ष्म एकाइमा सेकेन्ड पनि दर्शाउन सकिन्छ । जुन सामान्य घरेलु वस्तुको प्रयोगबाट साधन गर्न सकिन्छ । सूर्यका बाह्र रश्मि (किरण) छन् । यिनै किरणमा सूर्य व्याप्त छन् । सामान्यतः बाह्रघण्टाको दिन र बाह्र घण्टाको रात रहने भएकाले पनि बाह्र भाग गरिएको हो । सूर्यले बाह्र राशि पार गरेपछि नै एक वर्षको समय हुन्छ । यसैले घडीमा बाह्र भाग गर्नुको पछाडि बाह्र राशि, सूर्यका बाह्र रश्मिसँग आधारित रहेको छ ।

वास्तविक समय पत्ता लगाउन सूर्यका प्रत्येक अवस्थाको सही समय पत्ता लगाउनु आवश्यक हुन्छ । यदि उत्तरी ध्रुवमा सिधा शंकु गाड्ने हो भने त्यसको छायाँ सदा एक समयमा एकै स्थानमा पर्ने गर्दछ । यसको कारण उत्तरी ध्रुवमा जुन बाँस गाडेको हुन्छ उक्त बाँस पृथ्वीको अक्षरेखाको समानान्तर हुन्छ र धरातल जहाँ छायाँ पर्छ पृथ्वीको अक्षरेखासँग समकोण बनाउँछ । यदि कुनै अर्को स्थानमा बाँस बा लट्ठी गाड्ने हो भने अक्षरेखा समानान्तर हुँदैन । यसैले उक्त बाँस वा लट्टी ध्रुवाभिमुख गाड्ने वा टाँस्ने गर्नुपर्दछ । यसरी प्राप्त समय उक्त स्थानको वास्तविक स्थानीय समय हुन्छ ।

दिशानिर्धारणको आधार सौर घडी :
सौरघडी साधनगर्ने पद्धतिबाट दिशा पनि साधन गर्न सकिन्छ । सूर्य उदाएको स्थानपूर्व हुन्छ । यसको विपरीत पशिचम हुन्छ भने पूर्व र पश्चिम बिन्दुलाई ध्रुवमत्स्य गर्नाले उत्तर र दक्षिण दिशा पत्तागाउन सकिन्छ । मध्यान्नपूर्व छायाँ शङ्कुको पश्चिम भागमा रहन्छ भने मध्यान्नपछि पूर्वतर्फ छायाँ बढ्ने गर्दछ । भूमध्य देशमा विषुवद् दिनमा सूर्यको मध्यान्नकालिक छायाँ शून्य हुन्छ । अन्य साक्ष (अक्षांशयुक्त) देशमा उक्तपलभा (अक्षांश) तुल्य छायाँमै मध्यान्नकाल हुन्छ । रातमा ध्रुवतारा हेरेर र दिनमा सूर्यको छायाँबाट दिशाको निर्धारण गर्ने विधि ज्योतिषशास्त्रका सिद्धान्तग्रन्थमा विद्यमान छन् ।

अक्षांश निर्धारणको आधार सौर घडी :
पृथ्वीको गर्भकेन्द्रबाट हामी रहेको पृष्ठ कति कोणमा अवस्थित छ भन्ने कुरा अक्षांशबाट जान्न सकिन्छ । भूकेन्द्रबाट उत्तर र दक्षिणको स्थान पत्ता लगाउन अक्षांश आवश्यक हुन्छ । उक्त अक्षांश पत्ता लगाउन पलभा (विषुवत् दिनको मध्यान्न कालको सूर्यको छायाँ) आवश्यक पर्छ । ‘मेषादिगे सायनभागसूर्ये दिनार्धभाया पलभाभवेत्सा । (ग्रहलाघवं करणम्) अर्थात् भूमिमा १२ अंगुलको शंकुु (सुई वा लट्ठी) गाड्ने, उक्त शंकुुुको आरम्भ बिन्दुदेखि मध्यान्नकालमा सूर्यले बनाएको छायाँसम्म नाप्ने जुन मान हुन्छ त्यही नै पलभा हो ।

यसरी छायाँ पत्ता लगाउन पनि १२ अंगुलको (शंकु) लट्ठी समतल भूमिमा गाडेर मध्यान्न कालको छायाँको अंगुलात्मकमान निकाल्नु पर्छ । भूकेन्द्रबाट ध्रुव ९० अंशमा रहन्छ । यसैले १२ अंगुलको छायाँले त ९० अंश प्राप्त हुन्छ भने हामीले परीक्षण गरेर आएको अंगुलात्मक छायाँले कति अंश पाउँछभन्दा जुन मान आउँछ सो नै इष्टस्थानको अंशादि अक्षांश हुन्छ । यो विधि पनि सूर्यको छायाँका आधारमा धूपघडी जस्तै परीक्षण गरेर पत्ता लगाइन्छ । यसरी पृथ्वीका प्रत्येक स्थानको अक्षांश पत्तालगाउने विधि पनि वैज्ञानिक रहेको कुरा पष्टि हुन आउँछ ।

सामन्यतः समय हेर्न हामी घडीको प्रयोग गर्दछौं । घडीले त कोरा समयलाई मात्र प्रदर्शन गरेको हुन्छ । घडीको सुई जस्तै समय पनि परिवर्तन भएको हुँदैन । घडी त एक मापन गर्ने आधारमात्र हो । उक्त घडीलाई सही समय प्रदान गर्न प्रयोग गरिने विधि सौरघडी वा धूपघडी हो । जसले वास्तविक स्थानीय समय प्रदान गर्दछ । यही धूपघडीलाई नै आधार मानेर समयमा संस्कार गर्ने गरिन्छ । काठमाडौंको घण्टाघरमा पनि धूपघडी राखिएको छ । सोही सौरघडीले दिएको समयानुसार घण्टाघरको घडीमा पनि समय मिलान गरिन्छ ।

यसरी हेर्दा घडीको पनि घडी सौर घडी हो । जुन सूर्यको छायाँका आधारमा निर्धारण गरिन्छ । जसको प्रयोग खर्बाैं वर्षदेखि हाम्रा ऋषिमहर्षिले प्रयोग गरेका हुन् र आजको समय मापनलाई पनि यो ज्ञान छोडेर गएका छन् । जसको प्रयोग हाम्रा लागि दैनन्दिनी जीवनमा अपरिहार्य बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?