मातृ सम्मान दिवस, मातृदेवो भवः

Read Time = 9 mins

✍️ गीता अधिकारी
‘मातृभाषा’, ‘मातृधर्म’, ‘मातृभूमि’ जस्ता शब्दले उद्गमको अर्थ लगाउँछन् । प्राणीको उत्पत्तिको स्रोतको अर्को नाम नै ‘मातृ’ हो । समग्र मानव सभ्यतामा मातृ पक्षको अहम् स्थान रहेको हुन्छ । आमाबारे प्रसिद्ध लेबनानी साहित्यकार खलिल जिब्रानले लेखका छन् ‘मानवजातिको ओठमा सबैभन्दा सुन्दर शब्द ‘आमा’ हो र सबैभन्दा सुन्दर आहृवान ‘मेरी आमा’ को बोलावट हो । यो आशा र प्रेमले भरिएको एक शब्द हो, एक मीठो र दयालु शब्द जुन मुटुको गहिराइबाट आउँछ । आमा सबै कुरा हुन् । उनी हाम्रो पीडामा सान्त्वना, दुःखमा आशा र दुर्बलतामा हाम्रो बल हुन् । उनी प्रेम, दया, सहानुभूति र क्षमाको स्रोत हुन् । जसले आफ्नी आमालाई गुमाउँछ उसले शुद्ध आत्मा गुमाउँछ, जसले उसलाई निरन्तर आशीर्वाद दिन्छिन् र रक्षा गर्छिन् ।’

वैशाख महिनाको कृष्णपक्षको औंशी तिथि मातृ औंशीका रूपमा मनाइन्छ । वैशाख कृष्णपक्षको औंसीमा आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसीका रूपमा मनाइन्छ । यस वर्ष वैशाख १७ गते शनिबार आमाको मुख हेर्ने दिन अर्थात् मातृ औंशी रहेको छ । आमा भएकाहरूले आफ्नो सामथ्र्यअनुसार आमालाई खुसी पार्ने काम गर्छन् । काम अर्थात् विभिन्न कारणवश घरदेखि टाढा हुनेहरूले सम्पर्कका विभिन्न माध्यमबाट यस दिन आमालाई सम्झिन्छन् । आमा नभएका भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवंगत आमालाई सम्झिने गर्दछन् । कसैले यस दिनमा आफ्नी दिवगंत आमाको सम्झनामा विभिन्न सामाजिक कार्य गर्ने गरेको पाइन्छ ।

काठमाडौं उपत्यकाको पश्चिम थानकोट जाने बाटोमा पर्ने गुर्जुधारादेखि माथि पहाडको फेदीमा रहेको मातातीर्थमा यस दिनमा आफ्नी आमाको मुक्तिको कामना गर्दै तर्पण दिने कार्य गरिन्छ । यस्तै, देशका अन्य धार्मिक स्थानहरूमा पनि यस दिन आफ्नी आमाप्रति श्रद्धा भाव व्यक्त गर्ने गरिन्छ ।

अरूको लाख, आमाको काख । आमाको ममताको अगाडि जुनसुकै मूल्य पनि कम हुन्छ । अर्थात्, त्यो ममता किनेर पाइँदैन । भनिन्छ, मानव जातिका लागि धर्तीले जति बोझ थामेकी हुन्छिन्, सन्तान र परिवारका लागि आमाले त्यत्तिकै कष्ट सहेकी हुन्छिन् । शान्ति, क्षमा, करुणा, वात्सल्य, दान र दयाको स्रोत मानिन्छ आमालाई । गर्भकालदेखि नै आफ्ना सन्तानप्रति आमाको आत्मिक सम्बन्ध हुन्छ । तर, केही आमा भएर पनि आमाको महत्व नबुझ्ने मानवरूपी पशु पनि छन् हाम्रो समाजमा । सामाजिक सञ्जालमा ठूला-ठूला कुरा गर्ने, बाहिर गफ लगाउने केही व्यक्तिहरू घरभित्र भने आमाको महत्व नबुझेर आमालाई वृद्धाश्रम जान बाध्य बनाएका घटना हामीसामु विद्यमान छन् ।
आमालाई एक दिन भेटेर खुसी पार्ने होइन कि आमालाई सधैं सम्झनु जरुरी छ, खुसी पार्नु जरुरी छ । फेरि हाम्रो समाजमा पछिल्लो समयमा जसलाई जन्म दियो, त्यहीबाट पीडित भएका छन् आमाहरू । अर्थात्, आफ्नै सन्तानबाट पीडा भोग्नुपरिरहेको छ आमाहरूले । महिला हिंसाका घटनाहरू बढ्दो छन् । यस्ता हिंसाका घटनालाई न्यूनीकरण गर्ने प्रतिबद्धता गरौं आजैदेखि, तबमात्र आमाको महत्वले सार्थकता पाउनेछ । आमाका आँखामा आँसु आउन नदिने प्रण गर्नु नै सच्चा सन्तानको कर्तव्य हुन्छ ।

आमालाई माता, जननी, महतारी, मुमा, मुवाँ, मामु, माँ, अम्मी, माई, माय, ममी, मदर आदि शब्दले पनि पुकारिन्छ । हामी कुनै दुःख, कष्ट आइपर्दा सबैभन्दा पहिला आमालाई नै सम्झन्छौं । यसरी हामीले आमाबाट जन्मदेखि ठूलो हुञ्जेलसम्म माया, ममता पाइरहेका हुन्छौं, जसको मायामा कुनै स्वार्थ हुँदैन । यसैले त आमा जननी हुन्, देवी हुन् । आमाको जस्तो निष्कलंक, स्वच्छ माया अरू कसैले दिन सक्दैन । तिनै आमालाई कष्ट पु¥याएर, तिनै आमालाई हिंसा गरेर कसलाई खुसी पार्न उद्यत् छौं हामी ?

त्यस्तै, आज नेपाल आमा गरिबी, विदेशीको दासत्वबाट मुक्त पार्ने सन्तानको खोजीमा हुनुहुन्छ । हामी नेपालआमाका सन्तानहरू जिम्मेवार हुन जरुरी छ । नेपाल बाहिर रहे र होइन नेपालमै बसेर नेपाल आमाको सेवा गरौं । विदेशमा गएर पसिना बगाउनुको साटो नेपाल आमाको मुहार हसिलो पर्ने काममा जुटौं । हरेक आमाले आफ्ना सन्तानहरू मिलेर बसेको, प्रगतिपथमा लम्केको हेर्न चाहन्छिन् । आमालाई सबैभन्दा ठूलो पीडा सन्तानहरू एकआपसमा लड्दा हुन्छ । त्यसैले आमालाई खुशी पार्ने काममा लागौं । आमा र सन्तानबीचको सम्बन्ध प्रगाढ बनाई नेपाल आमालाई समृद्ध र खुसी बनाऔं । ज्यो.पं.भरतमणि मरासिनिका अनुसार संस्कृतमा उक्ति पनि छ-‘कुपत्रो जायते क्वचिदपि कुमाता नभवितु ।’

‘जननी जन्मभूमि स्वर्गादपी गरियसी’ अर्थात् आमा र जन्मभूति स्वर्गभन्दा पनि ठूला हुन् भनेर शास्त्रमा लेखिएको छ । हरेक प्राणीका लागि आमाको स्थान सर्वथा पूजनीय हुन्छ । प्रकृतिमा हरेक प्राणीले आमाद्वारा नै जीवन पाएका हुन्छन् । माँ, आमा, जननी र महतारी मदर जे भने नि आमा शब्द बृहत् छ ।

संसारभरि नै विभिन्न दिनमा आमालाई सम्झिने गरिन्छ । बेलायतमा मदरिङ सन्डे वा ग्रीसमा यशु मन्दिरमा परम्परागत उत्सव मनाउने गरिन्छ । निकै नै लोकप्रिय रूपमा चीनमा मातृ दिवस मनाइन्छ । त्यस्तै, बोलिभियामा मे २८ लाई मातृत्व दिवसका रूपमा मनाइन्छ । रोमानियामा मातृ दिवसलाई महिला दिवसका रूपमा मनाइन्छ । संयुक्त राज्य अमेरिका र क्यानाडा मेको दोस्रो आइतबारलाई मातृ दिवसको रूपमा मनाइन्छ । अन्य देशहरूमा पनि आआफ्नै चलनअनुसार फरक-फरक तिथि-मितिमा आमालाई विभिन्न रूपमा सम्झिने गरिन्छ ।

आमाको मुहार हसाउन सकेमात्र हामी बाँचेको र हाम्रो जीवन सार्थक हुनेछ । कहिलकाहीँ मात्र आमालाई सम्झेर, आमालाई एक छाक मीठो खुवाएर मात्र हुँदैन । जन्म दिने आमा र नेपाल आमालाई हामीले सधैं खुसी र सुखी राख्न सक्नुपर्छ । यस वर्ष वैशाख १७ गते आमाको मुख हेर्ने दिन अर्थात् मातृ औंशीका दिन यही प्रण गरौं । मातृ देवो भवः । आमाको मुख हेर्ने दिन ‘माथातीर्थ औंशी’ को पावन अवसरमा सम्पूर्ण आमाहरूप्रति धेरै–धेरै माया, सम्झना र दीर्घायुको कामना । सम्पूर्ण आमाहरूलाई कोटी-कोटी नमन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?