म आफैंसँग मेरा हरेक सिर्जनामा प्रतिस्पर्धा गरिरहेकी हुन्छु : मञ्जु लावती थापा

कृष्ण भुसाल
Read Time = 8 mins

‘घास काट्दै...’, ‘बेसी बनमा...’, ‘धरान बजारमा...’ ‘सोल्टिनी ज्यू...’, ‘टिस्टुङ पालुङटार...’ जस्ता थप्रै गीतमार्फत श्रोता/दर्शकको मन मष्तिस्कमा आफ्नो छुट्टै स्थान राख्न सफल हुनुहुन्छ गायिका मञ्जु लावती । ०५८ मा ‘बह’ एल्बम सार्वजनिक गरेर गीतसंगीतको क्षेत्रमा औपचारिक रूपमा होमिनुभएको उहाँका दुई सयभन्दा बढी गीत सार्वजनिक भएका छन् । ‘खोला जस्तै चोला’, ‘धरान बजारमा’ जस्ता सात एल्बम श्रोता/दर्शकमाझ ल्याउनु भएकी उहाँ मेलोडियस गीत बढी मनपर्ने र त्यस्तै खालका गीत गाउन रुचाउनुहुन्छ । पूर्वको पाँचथरमा बुबा अजंगबहादुर लावती र आमा बुद्ध रानीको कोखबाट जन्मिनुभएकी उहाँ काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना प्रस्तुति श्रोता/दर्शकमाझ पुर्‍याइ रहनुभएको छ । ‘म आफैंसँग मेरा हरेक सिर्जनामा अझ राम्रो कसरी बनाउने भनेर प्रतिस्पर्धा गरिरहेकी हुन्छु’, भन्नुहुने गायिका मञ्जु लावती थापासँग हिमालय टाइम्सका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानीको संक्षिप्त अशं :-

के गर्दै हुनुहुन्छ यतिबेला ?
केही मेरो व्यक्तिगत काम, केही सामाजिक काम, घरपरिवार र गीतसंगीत क्षेत्रमा संलग्न रहेको व्यक्ति भएका कारण त्यससँग सम्बन्धित कार्य नै मेरो दैनिकी हुने नै भयो ।

कहिलेदेखि हुनुहुन्छ यो क्षेत्रमा ?
लगभग २० वर्षदेखि यो क्षेत्रमा रहेकी छु । म यस्तै २०५६/०५७ सालमा म्युजिक सिक्न थालेकी हुँ भने ०५८ सालदेखि औपचारिक रूपमा यो क्षेत्रमा आएकी हुँ । ०५८ मा ‘बह’ एल्बम आयो मेरो बजारमा । गंगा राई, सरिता राई अनि मेरो स्वर रहेको थियो यो एल्बममा भने शब्द र संगीत खग्रेन्द्र जीको थियो ।

कोसँग सिक्नुभयो ?
धरानमा विनय प्रधान गुरुसँग कला केन्द्रमा दुई वर्ष सिके । सिक्नेक्रम सधैं नै रहन्छ । अहिले पनि म गीत संगीतको विद्यार्थी नै हुँ । गीत संगीतमा नयाँ नयाँ क्रियशन पस्किनुपर्छ त्यसैले जहिले सिक्नेक्रम रहिरहेको हुन्छ । फरक यति हो लामो समयको सिकाइले हामीलाई धेरै माझेको छ । फेरि नयाँ-नयाँ कुराका लागि अपडेट हुनु नै पर्छ ।

अहिलेसम्म यहाँ कति एल्बम श्रोता/दर्शकमाझ आए ?
‘खोला जस्तै चोला’, ‘धरान बजारमा’ यस्तै सातवटा जति एल्बम सार्वजनिक भएका छन् । पछिल्लो समय एल्बम निकाल्नेभन्दा सिंगल गीतको प्रचलन छ ।

अहिलेसम्म कति-जति गीत गाउँनुभयो होला ?
मैले पूर्वेली, पश्चिमेली, तीज गीत, भाषाभाषीका गीत ल्याएको छु । यस्तै दुई सयभन्दा बढी तीन सयको हाराहारीमा गीत गाए हुँला ।

गायन क्षेत्रमा नै किन आउँनुभयो ?
म सानैदेखि नै गीतसंगीत भनेपछि हुरुक्क हुन्थ्ये । मलाई याद नहुँदा सानो उमेरमा पनि म गीत गाउने गरेको आमा–बाबाले सुनाउनु हुन्थ्यो । मेरो गीत संगीतप्रतिको लगाव सानैदेखि नै भएका कारण ठूलो हुँदै जाँदा म यही क्षेत्रमा हेलिए । सायद म गीत गाउनकै लागि जन्मिएकी हुँ जस्तो लाग्छ । यो क्षेत्रसँग अलग हुने मेरो कल्पनाभन्दा बाहिरको कुरा हो ।

तपाईंलाई याद भएसम्म सानोछदा कस्ता गीत गुनगुनाउने गर्नुहुन्थ्यो ?
मैले आदरणीय विशिष्ट गायिका तारादेवी दिज्यू, अरुणा लामा दिज्यूहरूका गीत एकदमै गाउँथे त्यो बेला ।

कस्तो गीतले तपाईंलाई बढी प्रभावित गर्दछ र गाउन मनपर्छ ?
मलाई मेलोडियस गीत नै बढी मनपर्छ र सबै प्रकारका गीत गए पनि मनपर्ने भनेको मेलोडियस नै हो । सेन्टिमेन्टल गीत नै मन छुन्छ र मनपर्छ ।

अहिलेसम्म आउँदा यो क्षेत्रलाई कसरी बुझ्नुभयो ?
मलाई के लाग्छ भने गीतसंगीत भनेको जीवनको एउटा पाटो । यो सुख दुःखको साथी हो । यसले तपाईंको मनलाई खुशी दिन्छ भने पीडालाई हल्का पनि बनाउँछ ।

यो क्षेत्रमा कतिको प्रतिस्पर्धा रहेको छ ?
हरेक क्षेत्रमा प्रतिस्पर्धा हुन्छ नै । प्रतिस्पर्धाले नै स्तरीय प्रस्तुति बाहिर आउँछ । आफैंभित्र प्रतिस्पर्धा रहेको हुन्छ । योभन्दा अघिको गीतभन्दा अबको गीत झन् राम्रो, उत्कृष्ट कसरी बनाउने भन्ने प्रतिस्पर्धा हुन्छ । म आफैंसँग पनि मेरा हरेक सिर्जनामा अझ राम्रो कसरी बनाउने भनेर प्रतिस्पर्धा गरिरहेकी हुन्छु । चुनौती छ । फेरि अर्को प्रतिस्पर्धा भनेको पैसा हुनेले राम्रो क्षमता नहुँदा पनि चम्किएको देखिन्छ भने प्रशस्त पैसा नहुनेहरू आफूसँग भएको विराट प्रतिभालाई आफैंभित्र दबाएर राख्न बाध्य छन् ।

सामाजिक कार्यमा पनि हुनुहुन्छ ?
आफूले सक्दो गर्ने गरेकी छु । सामाजिक कार्य हामी सबैको दायित्व हो । पुण्य कर्म हो । सबैले आ–आफ्नो ठाउँबाट गर्न आवश्यक छ भन्ने लाग्छ ।

विभिन्न मान सम्मान, सम्मान पुरस्कार र अवार्ड पनि यहाँले प्राप्त गर्नुभएको छ, कस्तो लाग्छ ?
मेरो सिर्जनाले श्रोता/दर्शकले मन पराउँदै गर्दा, मेरो कर्मलाई सम्मान गर्दै मलाई विभिन्न पुरस्कार, सम्मान र अवार्ड प्राप्त भएका छन् । त्यस्तै केही समय पहिला स्टार अवार्ड प्राप्त भएको थियो । यो ‘घास काट्दै’ गीतबाट थियो । यस्तै अन्य थुप्रै रहेका छन् ।

अन्त्यमा ?
मेरो गीतसंगीतको यात्राका बारेमा भलाकुसारी गर्ने यो बसाइका लागि यहाँप्रति एकदमै आभारी छु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?