एमालेविरुद्ध गठबन्धन अझै मजबुत तालमेलको तयारीमा, टुटाउने प्रयासमा ओली

Read Time = 6 mins

काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम अपेक्षा गरेजस्तो नआएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन फुटाउने प्रयास गरिरहेको विवरण सार्वजनिक भइरहेका छन् ।

यसै सेरोफेरोमा पाँच दलीय सत्ता गठबन्धन भने अझै मजबुद भएर मात्रै ओलीलाई परास्त गर्न सकिने निष्कर्षमा पुगेको छ ।

११ जेठमा ओली र गठबन्धनका एउटा घटक जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको थियो। उक्त भेटपछि एमाले–जसपा सहकार्यको चर्चा चल्यो ।

एमाले उपमहासचिव प्रदीप ज्ञवाली भने अहिल्यै एमाले–जसपा सहकार्य गर्नेबारे कुनै प्रगति नभएको बताउनु हुन्छ ।

‘राजनीतिक दलका नेताहरूबीच छलफल नहुनु नराम्रो होइन’, उहाँले भन्नुभयो, ‘तर, राजनीतिक एजेन्डाकेन्द्रित छलफल भएको छैन । सहकार्य गर्नेबारे निष्कर्ष निस्किसकेको अवस्था पनि छैन ।’

यादव गठबन्धनका मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सँग असन्तुष्ट हुनुहुन्छ ।

असन्तुष्ट रहेकै बेला अध्यक्ष ओलीले यादवसँग भेटवार्ता गर्नुलाई गठबन्धनका अन्य घटकहरूले शंकाको रूपमा हेरेका थिए ।

तर, यादव आफैं सहभागी भएको गठबन्धनको सोमबारको बैठकले जिल्ला समन्वय समिति (जिसस) र गठन गर्न बाँकी रहेका गाउँ–नगर कार्यपालिका सदस्य निर्वाचनमा तालमेल गर्न प्रदेशहरूलाई निर्देशन दिएको छ ।

निर्देशन दिने यो निर्णयलाई कांग्रेस सभापतिसमेत रहनु भएको प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’ले गठबन्धनलाई अझ मजबुत बनाउन चाहेको रूपमा कतिपयले अथ्र्याएका छन् ।

देउवा निकट कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले गठबन्धन दलहरू शंकाबीच आगामी प्रदेश र सङ्‍घीय निर्वाचनमा सँगै हुने बताउनु भयो । यद्यपि, एमालेले गठबन्धन पहिलेदेखि फुटाउन खोजेको र फुटाउने प्रयास जारी राख्नुलाई अस्वभाविक मान्‍न नहुने उहाँको धारणा छ ।

‘स्थानीय तह निर्वाचनमा छिटपुट ठाउँमा बाहेक राम्रो नजिता आयो । अब गाउँ–नगर र जिसस निर्वाचनमा पनि तालमेल गर्ने क्रममा छौँ’, आङ्देम्बेले भन्नुभयो, ‘हामी अब प्रदेश र सङ्‍घीय निर्वाचनमा तालमेल गर्छौं ।’

उहाँले ओली र यादवको भेटलाई सामान्य रूपमा लिनुपर्ने बताउनु भयो ।

‘निर्वाचनले एमाले कमजोर भएको छ । यस्तो अवस्थामा सहकार्यका लागि आग्रह गर्ने त भइहाल्छ नि । कांग्रेस, एमालेकै हालतमा भए कांग्रेसले पनि अन्य दलसँग सहकार्यको प्रस्ताव राख्नसक्थ्यो । त्यही भएर ओलीजी र उपेन्द्रजीको भेट ठूलो कुरा होइन’, उहाँले भन्नुभयो, ‘यदि अगल भए त घाटा जसपालाई नै हुन्छ ।’

गठबन्धनको अर्को घटक माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले भने एमाले–जसपा सहकार्य सम्भव नभएको बताउनु हुन्छ ।

उहाँका अनुसार गठबन्धन आगामी प्रदेश र सङ्‍घीय निर्वाचनसम्मै जान्छ । तर, यदि, जसपा अलग भए, सत्ता गठबन्धन भने नढल्ने बताउनु भयो ।

‘संविधान, लोकतन्त्र र गणतन्त्रजस्ता राजनीतिक उपलब्धि रक्षा गर्न यो गठबन्धन बनेको हो’, गजुरेलले भन्नुभयो, ‘उपेन्द्रजीको पार्टी अलग हुँदैन । हिजो भएको निर्णयले पनि त्यसको पुष्टि गर्छ । तर, यदि अलग भयो भने पनि सत्ता गठबन्धन भने ढल्दैन ।’

यादव असन्तुष्ट हुनुको एउटा कारण, विराटनगर महानगरपालिकाको उपप्रमुख पदमा गठबन्धनको तर्फबाट उम्मेदवार भएका छोरा अमरेन्द्र पराजित हुनु हो ।

अर्को कारण, मधेस प्रदेशको जनकपुर उपमहानगरपालिकामा पनि उहाँको पार्टीका उम्मेदवार लालकिशोर साह पराजित हुनु हो ।

अध्यक्ष यादव यी दुई स्थानीय तहको परिणामलाई लिएर असन्तुष्ट भएका बेला एमाले अध्यक्ष ओली भेट्न जानुभएको हो । जसपा उपाध्यक्ष रकम चेम्जोङले ओलीले आगामी निर्वाचनहरूमा सहकार्यको प्रस्ताव अध्यक्ष यादवसँग राखेको बताउनु भयो ।

यद्यपि, यादव असहमत भएको र दुवै तहको निर्वाचनमा गठबन्धन दलहरूबीच नै तालमेल हुने उहाँको भनाइ छ ।

‘निर्वाचनबाट कमजोर बनेको छ । बालुवाटारदेखि बालकोट पुग्नुपरेको छ । यस्तो अवस्थामा सहकार्य गरौँ भनेका हुन्’, उहाँले भन्नुभयाे, तर, सहकार्य हुँदैन ।’

एमाले अध्यक्ष ओलीले ‘१७ असार’लाई गठबन्धन टुट्ने मिति भएको पटक–पटक भन्दै आउनु भएको छ ।

गठबन्धनकै कारण अघिल्लो पटक पहिलो बनेको एमाले दोस्रो हुन पुगेको ओली विश्लेषण छ । तर, गठबन्धन दलहरू एमालेविरुद्ध मजबुत तालमेलको तयारीमा छन् । सोमबारको निर्णयले त्यसकै सङ्‍केत गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?