बुटवल–सालझण्डी–तम्घास सडकको अनुगमन, स्तरोन्नतीका लागि नगरप्रमुखले पहल गर्ने

Read Time = 3 mins

गुल्मी । गुल्मीको रेसुंगा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले जिल्लालाई जोड्ने बुटवल–सालझण्डी–पटौटी–खज्र्याङ्ग–तम्घास सडकको अनुगमन गर्नुभएको छ । जिल्लालाई बुटवलसँग जोड्ने द्रुतमार्गको रुपमा रहेको यस सडक खण्डको अनुगमन गर्नुभएको हो ।

यस जिल्लालाई बुटवलसँग जोड्ने गौरवको आयोजनाको रुपमा रहेका यस सडक खण्डलाई सम्पन्न गर्न पटक–पटक चासो देखाउँदै आउनुभएको नगरप्रमुख पन्थीले निर्वाचित भएलगतै अनुगमन गर्नुभएको हो ।

सडक पूर्वाधार विकास कार्यालय गुल्मीका कार्यालय प्रमुख ईन्जिनियर सागर मरासिनीले नगरप्रमुख पन्थीलाई सडक खण्डको बारेमा जानकारी गराउनु भएको थियो । जानकारी लिंदै नगरप्रमुख पन्थीले यो सडक खण्डलाई स्तरोन्नती गर्नका लागि निरन्तर पहल गर्ने बताउनुभयो ।
उहाँले सडक खण्डलाई शीघ्र सम्पन्न गर्न पहल गर्ने बताउँदै जिल्लाका नागरिकहरुलाई द्रुतरुपमा सडकको सुविधा प्रदान गर्ने उल्लेख गर्नुभयो ।
“हामीले निरन्तर रुपमा गुल्मेली जनतालाई वैकल्पिक मार्गको रुपमा रहेको यस सडक खण्डलाई सम्पन्न गर्न निरन्तर पहल गरिरहेका छौं,” उहाँले भन्नुभयो,“सिद्धबाबा सडक खण्डको विकल्प नहुँदा अकालमै गुल्मेली जनताले ज्यान गुमाउन परिरहेको छ ।”
यस सडक खण्ड छिट्टै सञ्चालनमा ल्याई गुल्मेली जनतालाई सिद्धबाबाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटाउने दाबी गर्नुभयो । उहाँले यस सडकखण्डलाई कालोपत्रे गरेर ढाई घण्टामा तम्घास–बुटवलको यात्रा सहज बनाउने बताउनुभयो । जिल्लाको विकास, समृद्धि र पर्यटनसँग जोडिएकाले पनि यो सडकको निकै महत्व रहेको बताउनुभयो ।

सालझण्डी–पटौटी–खज्र्याङ्ग–तम्घास सडक खण्ड २०७० सालमा निर्माण कार्य शुभाराम्भ भएको हो । संविधानसभा सदस्य डा। चन्द्र भण्डारीको पहलमा यो सडक खण्ड निर्माणको कार्य शुरु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?