बुटवल । बुटवल उपमहानगरपालिकाका उम्मेदवारहरूले बुटवलको सडक निर्माणलाई मुख्य एजेण्डा बनाएका छन् । कांग्रेसको तर्फबाट बुटवल उपमहानगरपालिकामा मेयर पदका उम्मेदवार खिलराज पाण्डेले बुटवलको सडक निर्माणलाई मुख्य एजेण्डा बनाउनुभएको हो । ‘बुटवलको चौराहादेखि चिडियाखोलासम्मको धुलाम्मे सडक मर्मत गरी सडकलाई नमुना बनाउँछु,’ उहाँले भन्नुभयो ।
बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडकमा ८२ फुटभित्र संरचना निर्माण गरेका घरधनीले सडक विस्तारमा अवरोध गर्दा कांग्रेसका अधिकांश नेताले साथ दिएका थिए । गृहमन्त्री बालकृष्ण खाँणले पनि त्यतिबेला बुटवललाई उजाड बनाउने गरी सडक निर्माण गर्न नहुने बताउनुभएको थियो ।
अहिले स्थानीय तह निर्वाचनमा नेताहरूले आफूहरूले चुनाव जिते सडक निर्माणलाई टुंगोमा पु¥याउने बताएका छन् । २४ चैत २०७५ मा करिब एक सयको संख्यामा सडक आयोजनालाई सडक विस्तार नगर्नको लागि दवाव दिन आयोजनाको कार्यालय मणिग्राममा पुगेका घरधनीसँग पाण्डेसहित अन्य कार्यकर्तासमेत पुगेका थिए । तर, पछि सर्वोच्च अदालतले २० पुस २०७७ मा दिएको आदेशले सडक विस्तारको काम खुला गरिदिएपछि भने सडक क्षेत्र ओगटेर बनाइएका घरहरू भत्काउनुको साथै सडक विस्तार थालिएको थियो ।
साढे तीन किलोमिटरको यो सडक निर्माणको ठेक्का पाँच वर्षअघि नै द कञ्चनजंघा विरुवा जेभी कन्स्ट्रक्सन प्रालि काठमाडौंले पाएको थियो । कम्पनीका सञ्चालक सुमित श्रेष्ठले सडक विस्तारको काम अघि नबढाउँदा बुटवलको सडक डेढ वर्षदेखि अस्तव्यस्त छ । ‘ठेकेदारले पनि सडक विस्तारमा राजनीति गरे, काम अघि नबढाउँदा समस्या भयो,’ सडक आयोजनाका एक कर्मचारीले भने ।
संघ सरकारअन्तर्गत बन्दै गरेको सडकलाई बुटवल उपमहानगरपालिकाले बनाएन भन्दै कांग्रेसलगायत गठबन्धनका स्थानीय कार्यकर्ताहरूले उपमहानगरपालिकाको नेतृत्वको आलोचना गर्दै आएका छन् । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले चौराहदेखि गोलपार्कसम्मको सडक संघ सरकार मातहतको भएको र छिटो सम्पन्न गर्न दबाब दिनुबाहेक उपमहानगरपालिकासँग अरू अधिकार नभएको बताउँदै आउनुभएको छ ।
बेलहिया-बुटवल सडक आयोजनाकी निमित्त प्रमुख इञ्जिनियर सविता ज्ञवालीले अहिले सडकको दुवैतर्फ नालीको काम भइरहेको र ठेकेदारले अस्पताल लाइन क्षेत्रमा वैशाखभरिमा कालोपत्रे सक्ने भनेर सम्झौता गरेको बताउनुभयो ।