बागलुङमा दलहरूको घोषणापत्र : आधारभूतभन्दा महत्वाकांक्षी योजना बढी

Read Time = 6 mins

डम्मर बुढा मगर/हिटा
बागलुङ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न दलका नेता तथा कार्यकर्ताहरू चुनावी प्रचारप्रसार र मतदातालाई मत माग्न गाउँ-गाउँ, घर-घर पुगिरहेका छन् । त्योसँगै आफ्ना एजेन्डाहरू पनि सार्वजनिक गरिरहेका छन् । बागलुङ नगरमा पनि दलहरूले घोषणापत्र सार्वजनिक गरिरहेका छन् । पाँचदलीय गठबन्धनले मंगलबार र एमाले-राप्रपा गठबन्धनले आइतबार नै घोषणापत्र सार्वजनिक गरेको थियो । घोषणापत्रमा दलहरूले आधारभूत आवश्यकताभन्दा महत्वाकांक्षी योजनालाई ध्यान दिएको पाइन्छ ।

पाँचदलीय गठबन्धनका तर्फबाट बागलुङ नगरपालिकाकोे नगरप्रमुखका उम्मेदवार नेपाली कांग्रेसका वसन्तकुमार श्रेष्ठ र माओवादी केन्द्रबाट उपप्रमुखका उम्मेदवार राजु खड्का तथा एमाले-राप्रपाको गठबन्धनका तर्फबाट नगरप्रमुखका उम्मेदवार जनकराज पौडेल र उपप्रमुख सञ्जय खड्काले सार्वजनिक गरेको घोषणापत्रमा जनताको आधारभूत आवश्यकताभन्दा महत्वाकांक्षी योजना बढी रहेको पाइन्छ । जुन आगामी पाँच वर्षमा सम्भव नै नहुने जस्ता योजनाहरू छन् । यी योजना सस्तो लोकप्रियताका लागि ल्याएको सहजै अनुमान गर्न सकिन्छ ।

मजदुर, दलित, अपांगता, ज्येष्ठ नागरिक, खानेपानी, बजार क्षेत्रमा सार्वजनिक शौचालय र सार्वजनिक खानेपानीको धारो बनाउने कुरा दुवैको घोषणापत्रमा कम प्राथमिकतामा परेको देखिन्छ । जनताले शिक्षा, स्वास्थ्य, खानेपानी तथा नगरपालिकाको सेवा सहजरूपमा नपाएको अझै गुनासो छ । नगरपालिकाले आगामी पाँच वर्षमा पूरा गर्न कठिन र लागतका हिसाबले धेरै खर्चिला योजनाहरूसमेत घोषणापत्रमा उल्लेख गरेका छन् । नगरपालिकाको आफ्नै भवन छैन, जग्गा व्यवस्थापनको कुरा समेटिएको पाइँदैन ।

अहिले कृषि कार्यालयमा बस्दै आएको नगरपालिकाले आफ्नो भवन कहिले पाउने भन्ने प्रश्नको जवाफ दुवै घोषणापत्रमा पाइँदैन । पाइन्छ त केवल ढलको पानी प्रशोधन गरी वाटरपार्क, काठेखोला थुनेर ताल बनाउने, भिरमा फूल रोप्ने योजना । जुन योजनाले दैनिक रोजीरोटी गर्ने नागरिकलाई खासै छुने गरेको छैन । एमाले-राप्रपाको घोषणापत्रमा काठेखोला थुनेर बहुउद्देश्यीय जलविहार परियोजना, प्रत्येक वडामा तीन÷तीनवटा खेलमैदान, म्याग्दी, पर्वत र बागलुङको संगमस्थलमा मितेरी पुल, शहरी विकासको योजना, विद्युतीय र टेलिफोनका तारलाई भूमिगत गर्ने, औद्योगिक ग्राम सञ्चालन गर्ने, घरदैलोमै स्वास्थ्य सेवा दिनेजस्ता महत्वाकांक्षी योजनाहरू सार्वजनिक गरेको छ । वार्षिक एक अर्ब बजेट सार्वजनिक गर्ने नगरपालिकाले करोडौँका योजना सम्पन्न गर्ने, जग्गा अभावमा थलिएको औद्योगिक ग्राम बनाउँछु भन्ने महत्वाकांक्षी योजनाहरू हुन् ।

संयुक्त पाँचदलीय गठबन्धनले सार्वजनिक गरेको बागलुङ नगरपालिकाको घोषणापत्रमा उस्तै महत्वाकांक्षी योजना रहेका छन् । आयातमा धानिएको बागलुङ नगरपालिकामा कृषिमा आत्मनिर्भर गराउने भन्ने गठबन्धनको घोषणापत्र झनै महत्वाकांक्षी योजनाका रूपमा पाइन्छ । कालिका मन्दिरको भिरमा फूलले सजाउने, श्रम बैंक स्थापना गरी बेरोजगार युवालाई रोजगार दिइने, धौलागिरि अस्पताललाई शिक्षण अस्पताल बनाइने, अधुरो रहेको हरि खड्का ट्रमा सेन्टर सञ्चालन गर्ने, नेपालभित्र तीर्थयात्रा गर्न विशेष सहयोग उपलब्ध गराइने, वैतनिक स्वयंसेवकमा आबद्ध गराइने, विद्युतीय तारलाई भूमिगत गर्ने, कुकुरगाडे कुस्मा लामो झोलुंगेपुल निर्माण गर्ने, बलेवा विमानस्थल सञ्चालन गर्ने, पुरानो बजारलाई संरक्षण गर्ने, नदी किनारमा वाटरपार्क, कालीगण्डकी नदी दोहन रोक्नेलगायतका योजना समावेश गरिएका छन् ।

नगरपालिकाले आगामी पाँच वर्षमा पुरानो बजारलाई संरक्षण, नयाँ बजारलाई हरियाली, रिङरोड कालोपत्रे गर्ने र धौलागिरि अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने जस्ता एजेन्डा समावेश गरिएको नगरप्रमुखका उम्मेदवार वसन्तकुमार श्रेष्ठले बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका पुराना नेता बाबुलाल शाक्य, बागलुङ नगरपालिका-३ मा वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारसमेतले ढल निकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ । निर्वाचन आयोगले दिएको मुडा चुनाव चिहृनमा मतदातासामु मत मागिरहनुभएका शाक्यले नेकपा माओवादी केन्द्रमा विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?