दाने बोहरा/हिटा
हुम्ला । स्थानीय तहको निर्वाचन हुन आठ दिन बाँकी हुँदा हुम्लाको सदरमुकाम सिमकोटमा सर्वसाधारणको चहलपहल निकै कम देखिएको छ । जिल्लामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको मात्रै चुनावी तालमेल भएको छ भने एमाले एक्लै चुनावमा होमिएपछि आसन्न निर्वाचनलाई चौतर्फीरूपमा चासोका साथ हेरिएको छ । यतिबेला जिल्लाका सातवटा गाउँपालिका चुनावी रौनकताले तातेका छन् । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार आ-आफ्ना प्रतिबद्धतापत्र लिएर मतदाताका घर-घरमा पुगिरहेका छन् ।
निकै चासोका रूपमा हेरिएको सिमकोट गाउँपालिकामा गठबन्धनबाटै उपाध्यक्ष पदका लागि दीपबहादुर सिंहले स्वतन्त्र उम्मेदवारी दिएर यतिबेला चुनावी प्रचारमा होमिनुभएको छ । सिमकोट गठबन्धनको बलियो पालिका मानिन्छ तर स्वतन्त्र उम्मेदवारले असर पर्ने आंकलन गरिएको छ । यसैगरी गठबन्धनभित्रै वडा ५, ६ र ७ मा स्वतन्त्र उम्मेदवारी परेको छ ।
यस्तै निर्वाचनमा दलहरूले गठबन्धन बनाउँदा प्रमुख पदमा नेकपा माओवादी केन्द्रका विजय भण्डारी र उपाध्यक्षमा नेपाली कांग्रेसका सुशीला रोकाया हुनुहुन्छ भने नेकपा एमालेका तर्फबाट अविराम शाही अध्यक्ष र प्रतिमा लामा उपाध्यक्षमा चुनावी मैदानमा हुनुहुन्छ ।
गठबन्धनका उम्मेदवारले सिमकोट गाउँपालिका वडा १ र २ ठेहेमा घरदैलो अभियान सम्पन्न गरेर वडा ३ बरगाउँमा पुगेको छ भने एमालेले वडा ७ डाँडाफाया र ८ स्याडामा सम्पन्न गरेर बुधबार वडा ४ बुराउसेमा गएको छ । यतिबेला सिमकोटसहित सातवटै गाउँपालिकामा उम्मेदवार भोट माग्न व्यस्त देखिएका छन् । घरदैलो अभियानलाई तीव्र पारेर जति सक्दो मतदातालाई आफूतिर केन्द्रित पारिरहेका छन् । जिल्लाको सिमकोट, नाम्खा, सर्केगाड, चंखेली, अदानचुली र ताजकोट गाउँपालिकामा चुवानी माहोल तातेको छ । सिमकोटका उम्मेदवारले सिमकोटलाई नगरपालिका बनाउने योजना अघि सारेका छन् ।
यस्तै गठबन्धनबाटै जिल्लाको दक्षिण भेगमा रहेको चंखेली र अदानचुली गाउँपालिकामा स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । कांग्रेसबाटै चंखेलीमा अध्यक्ष पदका प्यारीला शाही र अदानचुलीमा लोकेन्द्र भण्डारी उपाध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवार भएर चुनावमा उत्रिएका हुन् ।
निवर्तमान अध्यक्ष दोस्रो कार्यकालका लागि चुनावी मैदानमा
वैशाख ३० हुन लागेको स्थानीय तहको निर्वाचनका लागि जिल्लामा दुुईजना अध्यक्ष दोस्रो कार्यकालका लागि चुनावी मैदानमा उत्रिएका छन् । २०७४ सालमा अध्यक्ष बनेका दुईजना दोस्रो कार्यकालका लागि चुनावी मैदानमा उत्रिएका हुन् । पाँचवटा गाउँपालिकामा नयाँ अनुहार चुनावी मैदानमा उत्रिएका छन् । जिल्लामा सातवटा गाउँपालिका रहेका छन् ।
यसरी दोस्रो कार्यकालका लागि चुुनावी मैदानमा उत्रिनुभएका अध्यक्षका उम्मेदवार कांग्रेसका तर्फबाट खार्पुनाथ गाउँपालिकाको अध्यक्षका लागि कर्णबहादुर रावल र अदानचुली गाउँपालिकाको अध्यक्षका लागि नेकपा एमालेबाट दलबहादुर फडेरा हुनुहुन्छ । उहाँहरू दुुवैजना ०७४ सालको स्थानीय तहको निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।
यस्तै खार्पुनाथ र अदानचुलीबाहेक अन्य गाउँपालिकामा दलबाट नयाँ अनुुहार चुुनावी मैदानमा होमिएका छन् । पाँचवटा गाउँपालिकामध्ये गठबन्धन दलका तर्फबाट नयाँ अनुुहारमा नाम्खा गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट प्रेम लामा, सोही पार्टीको सिमकोट गाउँपालिकामा विजय भण्डारी, सर्केगाड गाउँपालिकामा कांग्रेसका तर्फबाट ठानबहादुर रोकाया, चंखेलीमा माओवादी केन्द्रबाट गोविन्द शाही, अदानचुली गाउँपालिकाबाट कांग्रेसका मोहनविक्रम सिंह र ताजाकोट गाउँपालिकाका लागि लालकेश जैसी चुनावी मैदानमा हुनुहुन्छ ।
यता, एमालेबाट सिमकोटमा महेन्द्रबहादुर शाही, खार्पुनाथमा प्रकाशबहादुर शाही, सर्केगाड गाउँपालिकामा ज्ञानी बुमी, चख्लीमा विमला शाही र ताजाकोट गाउँपालिकामा अजमल बुढा नयाँ अनुहारका रूपमा मैदानमा उत्रिनुभएको छ ।
उम्मेदवारप्रति मतदाताको असन्तुष्टि
चुनावमा मत माग्न आउँदा गरेको बाचाअनुसार नेता कार्यकर्ताले निर्वाचित भएपछि काम गर्न नसकेका कारण मतदाताले कम चासोका देखाएका छन् । मत माग्न आउँदा जनसरोकारका सबै मुद्दा समाधान गरिदिने बाचा गर्छन् । निर्वाचित भएपछि यसलाई बिर्सन्छन् । अर्को निर्वाचनमा तिनै नेता, कार्यकर्ता उही बाचा लिएर जनताको घरदैलोमा पुग्छन् । यसले गर्दा जिल्लामा नेताप्रति भन्दा आफ्नो कामप्रति बढी लागिपरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच