काठमाडौं । नेपाल पेन्ट उद्योग संघले पेन्टलाई आवश्यक कच्चापदार्थ आयातमा भन्सार शुल्क घटाउन माग गरेको छ । संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कच्चा पदार्थमा पाँच प्रतिशत भन्दा बढी भन्सार शुल्क लगाउन नहुने माग गरेको हो । संघका अध्यक्ष विश्वप्रकाश शाःखले कच्चा पदार्थ आयातमा फरक-फरक शुल्क भएको भन्दै विदेशी पेन्ट कम्पनीसँग प्रतिस्पर्धा गर्न भन्सार शुल्क घटाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘विदेशी पेन्ट र कच्चा पदार्थ आयातमा समान ३० प्रतिशत भन्सार शुल्क छ, यसले विदेशी पेन्टसँग प्रतिस्पर्धा गर्न गाह्रो परेको छ ।’
संघका अनुसार नेपालमा ५० वटाभन्दा बढी पेन्ट उद्योग रहेका छन् भने ती उद्योगमा २८ सयभन्दा बढी श्रमिक कार्यरत रहेका छन् । पेन्ट क्षेत्रलाई आवश्यक सम्पूर्ण कच्चा पदार्थमा एउटै प्रकारका हर्मोनाइज कोडको व्यवस्था र एउटै भन्सार शुल्क कायम गर्न पनि संघले माग गरेको छ ।
अध्यक्ष शाःखले भन्नुभयो, ‘इमल्सन एचएसएन ३९.०६ कोडअन्तर्गत १० प्रतिशत भन्सार शुल्क तोकिएको र साफ्टाको सुविधा पनि छ तर एचएसएन ३२.०९ कोडअन्तर्गत भन्सार शुल्क ३० प्रतिशत र साफ्टामा पनि सुविधा छैन ।’ उहाँले एक्रेलिक पोलिमर आयातमा श्रीलंका, बंगलादेश र भारतजस्ता मुलुकले १० प्रतिशतमात्र भन्सार शुल्क कायम बताउँदै नेपालमा पनि सोहीअनुसार भन्सार शुल्क कम गर्नुपर्ने माग गर्नुभयो । साथै संघले करार उत्पादन गर्ने/गराउने प्रावधानका लागि सरकारलाई नीतिगत सुधार गर्न पनि आग्रह गरेको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल