साहित्य र राजनीति

Read Time = 12 mins

✍️ प्रा.डा.भूपप्रसाद धमला
साहित्य र राजनीतिबीचको सम्बन्ध के कस्तो हुन्छ भन्ने प्रश्न सतहमा हेर्दा त्यत्ति महत्वपूर्ण नलागे पनि गहिरिएर हेर्दा अत्यन्त महत्वपूर्ण छ । कतिपय साहित्यिक समालोचकहररूले साहित्य र राजनीति स्वतन्त्र छन् भन्ने तर्क गर्छन् भने अरू कतिपयले तिनीहरू अलग हुनै सक्दैनन् भन्ने तर्क गर्छन् । पहिलो तर्कमा साहित्य अमूर्त हुन्छ भन्ने मानिन्छ भने दोस्रो तर्कमा मूर्त हुन्छ भन्ने ठानिन्छ ।

सामान्यतया साहित्य काल्पनिक एवं कलात्मक सिर्जना र राजनीति यथार्थ जीवनको प्रस्तुति भनेर बुझिने भएकाले यी दुई स्वतन्त्र अस्तित्व भएका विषय हुन् भनिएको होला । जे होस् यो छोटो आलेखमा साहित्य र राजनीतिको छोटो परिचय दिँदै तिनीहरूबीचको सम्बन्ध के कस्तो हुन्छ भन्ने कुरा संक्षिप्त रूपमा प्रकाश पार्न खोजिएको छ ।

साहित्य :
अन्य विषय जस्तै साहित्यको परिभाषा दिन सजिलो छैन । जबर्जस्त परिभाषा दिए पनि यो भ्रामक हुन सक्छ तर पनि सामान्य अर्थमा चित्रकला र संगीत जस्तै साहित्य पनि कलाको एक रूप हो । जसरी चित्रकलामा रंग र संगीतमा लयप्रधान हुन्छ त्यसैगरी साहित्यमा शब्दको प्राध्यान्य रहन्छ । सामान्य अर्थमा साहित्य भनेको अक्षरमा कुँदिएको सिर्जना हो ।

साधारण बोलचालको भाषाभन्दा फरक ढंगको शब्द संयोजन हो । यो साहित्यिक सिर्जना सुन्दर हुन्छ, कलात्मकताले सिँगारिएको हुन्छ, कोमल हुन्छ, सुकुमार हुन्छ, मनमोहक हुन्छ र काल्पनिक संसारमा अवस्थित हुन्छ । तर, यो स्वैरकल्पना होइन, युटोपिया पनि होइन बरू यथार्थको धरातलमा उभिएर गरिएको कल्पना हो । साहित्य भनेको एक छिन कल्पनाको संसारमा उडाए पनि फेरि यथार्थको धरातलमा टेक्न लगाउने अस्त्र हो । यथार्थ जगतलाई कल्पनामा उतार्ने तरिका हो । कल्पनामा यथार्थ जगतलाई प्रस्तुत गर्नु हो ।

राजनीति :
राजनीति भनेको राजकाज चलाउने सवाल हो । यो निर्वाचनका माध्यमबाट वा कहिलेकाहीँ तानाशाही हिसाबले शासन चलाउने तरिका पनि हो । राजनीति समाजभित्र गरिने भएकाले मूलतः सामाजिक गतिविधि हो । व्यक्ति समाजको अंग भएको हुनाले ऊ राजनीतिबाट अलग हुन सक्दैन । प्रसिद्ध राजनीतिक लेखक जर्ज अर्वेल भन्छन्- सबै सवालहरू राजनीतिक हुन् त्यसैले राजनीतिबाट उम्कन सकिँदैन ।

उदाहरणका लागि सामान्य जीवनका लागि आवश्यक पर्ने कार्पेट खरिड गर्दा बाल मजदुर प्रयोग नभएको कार्पेटमात्र किन्छु भन्नु पनि एक प्रकारको राजनीति हो । विदेशी पोशाक लगाउँदिन बरू स्वदेशमै बुनेको खादी लाउँछु भन्ने महात्मा गान्धीको आदर्श पनि राजनीति नै हो । यस अर्थमा बस्दा, उठ्दा, खेल्दा जुनसुकै बेलामा पनि राजनीति भइरहेकै हुन्छ । त्यसैगरी घरमा, स्कुलमा, कलेजमा, कार्यालयमा, बजारमा, पसलमा, बाटोमा जहाँसुकै राजनीति भइरहेको हुन्छ । यस्तो सर्वव्यापी सर्वकालिक राजनीतिलाई अस्वीकार गर्न अनावश्यक मात्र होइन असम्भव पनि छ ।

साहित्य लेख्नुको उद्देश्य :
साहित्य लेख्नुको उद्देश्यका बारेमा दुईथरि विचार विद्यमान् छन् –एकथरि भन्छन् साहित्यले व्यक्ति र समाज बदल्ने सन्देश दिनुपर्छ । अर्काथरी तर्क गर्छन् साहित्यले प्रत्यक्ष शिक्षा दिनु पर्दैन । यसको उद्देश्य केवल आनन्द दिनु हो, रमाइलो पार्नुमात्र हो । प्रत्यक्ष शिक्षा दिने साहित्यमा नीति सन्देश हुन्छ । पञ्चतन्त्रका कथा, राजकुमार दिक्पालका कथा, इसोपका दन्त्यकथा इत्यादि यो कोटीमा पर्छन् । त्यसो त माहाभारत, बाइबल, कुरान जस्ता ग्रन्थहररू पनि साहित्य मान्ने हो भने तिनीहररू पूरै सन्देशमूलक छन् ।

तर, साहित्यलाई स्वत्रन्त्र अस्तित्व भएको एउटा सुन्दर वस्तुका रूपमा प्रस्तुत गर्नुपर्छ भन्ने मत पनि रहेको छ । साहित्यले मानव मस्तिष्कलाई सुसंस्कृत बनाउँछ । त्यसबाट समग्र समाज सभ्य र सुशील हुन्छ । असल सभ्यता र संस्कृतिको निर्माणमा योगदान गर्नु साहित्यको उद्देश्य हो । त्यही नै साहित्यकारको अभीष्ट हो । यी दुवै प्रकारका विवादहरू छँदैछन् जसको तत्काल समाधान हुने देखिँदैन । तर साहित्यकारले आफ्नो उद्देश्यअनुसार उहिलेदेखि लेखिरहेकै छन्, अझै लेखिरहलान् र पाठकले आफ्नै किसिमको प्रतिक्रिया दिइरहलान् । साहित्यको भण्डार अझ विस्तृत भइरहला ।

साहित्य-राजनीति सम्बन्ध :
साहित्य र राजनीतिको सम्बन्धका बारेमा दुई खाले विचार छन् . एकथरि भन्छन् साहित्य राजनीति निरपेक्ष हुन्छ । अर्काथरि खण्डन गर्छन् तिनीहरूबीचको सम्बन्ध सापेक्षिक हुन्छ । साहित्य राजनीति सापेक्ष हुन्छ ।

उन्नाइसौं शताब्दीको अन्त्यतिर युरोपमा चलेको सौन्दर्य चेतना आन्दोलनका अग्रणी साहित्यकार ओस्कर वाइल्डले साहित्यबारे प्रचलित सिद्धान्तभन्दा फरक धारणा व्यक्त गरे । उनका विचारमा कला आफैंमा स्वतन्त्र र पूर्ण वस्तु हो । य;सँग नीतिशास्त्रको कुनै सम्बन्ध छैन । यसले कुनै नीति सन्देश दिनु पर्दैन, यो त केवल सुन्दर कलात्मक सिर्जनामात्र हो । उनका विचारमा साहित्यको उद्देश्य आफैंमा पूर्ण साहित्यको उत्पादन हो । यस अर्थमा साहित्यको बाँकी संसारसँग प्रत्यक्ष सम्बन्ध हुँदैन ।

यस्तो धारणा विवादास्पद छ । वाइल्डकै विचारमा पनि साहित्य सामाजिक सांकृतिक हिसाबले मूल्यवान हुन्छ । जब मूल्यको कुरा हुन्छ त्यहाँ समाज उपस्थित हुन्छ । त्यसैले साहित्यलाई समाजसँगबाट अलग गर्न सकिँदैन । साहित्यलाई आर्थिक मूल्यसँग जोड्न मिल्दैन भनेकोसम्म केही हदसम्म ठीक छ तर यो कुरा सर्वथा ठीक हो भन्न सकिँदैन किनभने अन्य कलात्मक वस्तुजस्तै साहित्यिक कृतिलाई आर्थिक मूल्यसँग जोडेर हेर्ने गरिन्छ अर्थात् महँगो मोल पर्ने कलाकृतिको सामाजिक मूल्य बेसी नै हुन्छ ।

वाइल्डले ‘कला कलाका लागि’ भनेर वकालत गरे पनि साहित्यले जीवनलाई सुन्दर बनाउँछ चाहिँ भन्छन् । यहीँनेर उनको कुरा बाझ्छ किनभने जहाँ जीवनको कुरा हुन्छ त्यहाँ राजनीतिको कुरा स्वतः उपस्थित हुन्छ । यस अर्थमा साहित्यको राजनीतिसँग अप्रत्यक्ष भए पनि गहिरो सम्बन्ध हुन्छ ।

तसर्थ साहित्यलाई समाज र राजनीतिबाट अलग गर्नु खोज्नु साहित्यलाई राम्रोसँग नबुझ्नु हो । यसको संस्कृतिक मूल्यलाई अवमूल्यन गर्नु जस्तै हो । साहित्य र संसारलाई अलग गर्न खोज्नु प्राण र जीवनलाई अलग गर्न खोज्नु जस्तै हो । एउटा सिक्काका दुइटा पाटा अलग गर्न खोज्नु जस्तै हो अथवा कागजको एक पानाको एउटामात्र पाटो च्यात्न खोज्नु जस्तै हो । साहित्यलाई राजनीतिबाट अलग गर्न खोज्नु पानीमा घुलेको अक्सिजन र हाइड्रोजनलाई अलग गर्न खोज्नु जस्तै हो । सिसिफसले बडेमानको ढुंगो उचाल्न खोजेजस्तै निरर्थक प्रयास हो, अझ भनौं नबुझ्ने मानिसको मूर्खतामात्रै हो ।

जतिसुकै तटस्थ हूँ भन्ने साहित्यकार पनि कुनै न कुनै आग्रहबाट निर्देशित हुन्छ । महान् नाटककार विलियम शेक्सपियरका कृतिसमेत राजनीतिक चरित्रका छन् । लियो टाल्सटायका आदर्शहरू पनि एक किसिमका राजनीति नै हुन् । महात्मा गान्धीको सत्यमा आधारित भन्ने गरिएको ‘आत्मकथा’ पनि वास्तविक जीवनदेखि टाढा र मनोगत आग्रहबाट नजिक छ भन्ने गरिएको छ । यता नेपालका महाकवि देवकोटाको साहित्य राजनीतिबाट अलग गर्न सकिँदैन ।

झन् बीपी कोइरालाको साहित्य त राजनीतिबाट अलग छ भन्न सकिने कुरै भएन । विश्वको कुनै साहित्य कुनै न कुनै विचारधाराबाट निर्देशित हुन्छ । त्यो विचारधाराभित्र सुषुप्त भए पनि राजनीति हुन्छ । यति हुँदाहुँदै साहित्यलाई कोरा राजनीतिक नाराबाट अलग गर्न सकिन्छ । नाराबाजी र उपदेश दिनेमात्र कार्यबाट पर पुगेर अप्रत्यक्ष सन्देश दिन सक्ने तुल्याउँन सकिन्छ । साहित्यको अभिष्ट यही हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?