के विपन्‍न मतदाता भोट बैंक मात्र हुन् ?

Read Time = 4 mins

सुर्खेत । जाजरकोट बारेकोट गाउँपालिका-२ रोकायगाउँका ५२ वर्षीय वीर कामीलाई भेट्न दिनहुँ कुनै न कुनै दलका नेता आइरहन्छन् । सानै उमेरदेखि शारीरिक अपांगता भोगिरहनुभएका उहाँलाई यसअघिका चुनावमा पनि उम्मेदवारले विभिन्‍न आश्वासन दिए । ‘चुनावमा त रोजगारीदेखि परिवारको खर्चसम्म दिन्छु भन्छन्,’ उहाँले भन्नुभयो, ‘तर जितेर गएपछि बैसाखी पनि दिन सकेनन् ।’

भेरी नगरपालिका-११ कटीगाउँका १५७ घर परिवार ऋणमा डुबेका छन् । ऋण तिर्न स्थानीय भारतसहित अन्य मुलुकमा रोजगारीमा जान्छन् । धेरै परिवार विस्थापितसमेत भइसकेका छन् । निर्वाचनका बेला पुग्‍ने सबै उम्मेदवारले ऋण तिरिदिने बाचा गरे पनि जितेर गएपछि फर्केर नआउने गरेको स्थानीय नरबहादुर वरले बताउनुभयो ।

‘हामी त भोट बैंक मात्र भयौं,’ उहाँले भन्नुभयो, ‘भोटका लागि झुटो आश्वासन दिन्छन्, जितेपछि फर्केर पनि हेर्दैनन्।’ यसपटक ऋण तिर्ने गरी आर्यआर्जनमा जोड्ने लिखित प्रतिबद्धता गर्ने उम्मेदवारलाई मात्र भोट दिने उहाँको भनाइ छ ।

उहाँले वर्षौंदेखि राजनीतिकले सपना बाँडिरहेको बताउनुभयो । उहाँका अनुसार गाउँमा मजदुरी नपाउँदा गाउँका अधिकांश युवा कमाइ गर्न भारत गएका छन् । पुख्यौली पेशा पनि संकटमा परेपछि जीविकोपार्जनमा समस्या भएको उहाँले बताउनुभयो ।

गत निर्वाचनमा जनप्रतिनिधिले मतदातालाई गरेरका बाचा पूरा नगरेकाले अहिलेका उम्मेदवारप्रति आफूहरूको भरोसा नभएको उहाँको भनाइ छ । झन्डै तीन-चार वर्षदेखि गाउँका अधिकांश मानिसहरु ऋणमा डुवेर गाउँ छोड्न बाध्य छन् ।

हरेक चुनावमा दलित समुदायको मत निर्णायक मान्‍ने राजनीतक दलले दलित समुदायको समस्याहरुको कुरा वर्षौंदेखि बिर्सिरहेको उहाँको गुनासो छ ।

यसअघिको निर्वाचनमा गरेरका बाचा जनप्रतिनिधिले पूरा नगरेकाले यो निर्वाचनमा केही सोच्‍नुपर्ने बेला आएको कुशे गाउँपालिका-४ का दत्तबहादुर नेपालीले बताउनुभयो  । ‘अहिले त उम्मेदवारले लिखित सहमति गरेपछि मात्र भोट दिने निर्णय गरेका छौं,’ उहाँले भन्नुभयो, ‘नेताहरूले जितेपछि महल ठड्याउँछन्, हामी भने मजदुरीका लागि बर्सेनि भारत जानुपर्छ ।’

उहाँका अनुसार जिल्ला भरिका दुई हजार भन्दा बढी परिवार जिल्ला बाहिर छन् । अघिल्लो निर्वाचनमा उम्मेदवारले ल्याएका एजेन्डा फेरि दोहरिएको नलगाड नगरपालिका-३ का गंगराम नेपालीले बताउनुभयो । ‘यो पल्ट पनि हाम्रा लागि फकाउने एजेन्डा मात्र छन्,’ उहाँले भन्नुभयो, ‘अब त पार्टी हेरेरभन्दा पनि व्यक्ति हेरेर मतदान गर्नुपर्ने अवस्था आएको छ, अघिल्लो चुनावले हामीलाई धेरै पाठ सिकाएको छ ।’ हेमन्त केसी/न्युज कारखाना

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?