स्वदेशी ब्रान्डलाई विदेशी भनेर बेच्नुपरेको छ : नानीराज घिमिरे, अध्यक्ष फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपाल

रिता बस्नेत
Read Time = 17 mins

काठमाडौंस्थित भृकुटीमण्डपमा जुत्ता चप्पल व्यापार प्रवद्र्धन मेला-२०७९ भइराखेको छ । ‘फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपाल’ द्वारा आयोजित मेलामा १० देखि ५० प्रतिशतसम्म छुटमा स्वदेशी ब्रान्डका जुत्ता चप्पलहरू किन्न पाइन्छ । मेला वैशाख १५ देखि सुरु भई आगामी जेठ ८ गतेसम्म चल्नेछ । मेलामा भेटिनुभएका एसोसिएसनका अध्यक्ष नानीराज घिमिरेका अनुसार आयोजित सो मेलाको उद्देश्य स्वदेशी जुत्ता चप्पलहरूको व्यापार प्रवद्र्धन गर्नु रहेको छ । उद्योगी तथा व्यवसायी घिमिरेले जन्मस्थल हेटौंडाबाट २०४४ सालदेखि जुत्ता चप्पलको खुद्रा व्यापारबाट व्यवसाय सुरु गर्नुभएको रहेछ । २०४९ सालदेखि काठमाडौंस्थित न्युरोडमा आफ्नो व्यापारलाई विस्तार गरी होलसेल पसल खोलेको र जुन हालसम्म निरन्तर चलिराखेको उहाँ सुनाउनुहुन्छ । सुरुका दिनमा इन्डियन जुत्ता चप्पल बेच्ने गरेको अनुभव सुनाउनुहुने उहाँले २०५४ सालदेखि भने आफैंले फ्याक्ट्री खोलेर नेपाली जुत्ता चप्पल उत्पादन गरेर बेच्न थालेको बताउनुभयो । र, २०६०-६१ तिर भने चाइनिज व्यापारले बजार ढाकेपछि चाइनिज जुत्ता चप्पल नै बेच्न थालेको बताउनुहुने उहाँले २०७४ सालदेखि स्पोर्ट्सको आइटम चाइनिजको सट्टामा आफ्नै बनाएर बजारमा बेच्न थालेको बताउनुभयो । उहाँको आफ्नै ‘शुभकामना फुटवेयर प्रोडक्ट नेपाल’ कम्पनीसमेत छ, जसले महिला पुरुष दुवैले लगाउने जुत्ता चप्पल उत्पादन गर्छ । उहाँको ब्रान्ड भने ‘फस्ट वाक’ रहेको छ । हाल आफ्नो कम्पनीले चप्पल उत्पादन नगरेर स्पोर्ट्समात्रै उत्पादन गरिराखेको उहाँ सुनाउनुहुन्छ । हाल नेपाली उद्योगीहरूले विदेशी क्वालिटीकै सामान बनाउने गरेको अर्थात् विदेशी जुत्ता चप्पलको क्वालिटीजस्तै नेपालका जुत्ता चप्पलको क्वालिटी भएको बताउनुहुने एसोसिएसनका अध्यक्ष नानीराज घिमिरेसँग नेपाली जुत्ता चप्पल उत्पादन, बिक्री, आयोजित मेलालगायत विषयमा केन्द्रित रहेर हिमालय टाइम्सका लागि रिता बस्नेतले गर्नुभएको कुराकानी :-

  • वैशाख १५ देखि जुत्ता चप्पल मेला गरिरहनुभएको छ, कस्तो हुँदैछ ?
    हो, हामीले यही वैशाख १५ गतेदेखि जुत्ता चप्पल मेला गरिराखेका छौँ । यो आगामी जेठ ८ सम्म रहनेछ । यहाँ नेपाली उद्योगीहरूका ठूलठूला सयवटा स्टलहरू छन् र २२ वटा उद्योगी छौँ भने २२ वटै ब्रान्डका जुत्ता चप्पल बिक्री भइराखेको छ । हाम्रो एसोसिएसनले गरेको मेलामा नेपालीबाहेकका सामग्री बेच्न पाइँदैन र एसोसिएसनले वर्षमा दुईपटक व्यापार मेला आयोजना गर्ने गरेको छ । हरेक वर्ष पुसको १९ गतेबाट २६ गतेसम्म औद्योगिक मेला लगाउँछौँ । हाम्रो वर्षमा तीनपटक मेला लाग्छ । यस वर्षको यो दोस्रो व्यापार मेला हो । कोरोनाभन्दा अगाडि १५औँ औद्योगिक प्रदर्शनी गरेका थियौँ तर कोरोनाका कारण अघिल्लो दुई वर्ष औद्योगिक प्रदर्शन गर्न सकेनौँ । यसपटक भने प्राकृतिक विपत्ति भएन भने आगामी पुसमा औद्योगिक प्रदर्शन गर्छौं । औद्योगिक प्रदर्शनीमा बिक्रीभन्दा ब्रान्डिङलाई प्राथमिकता दिन्छौँ । जसमा सामान बेच्नुभन्दा पनि बिटुबी (बिजनेस टु बिजनेस) मिटिङ गर्ने र राज्यस्तरका सरोकारवालाहरूलाई हाम्रो अवस्था यो छ, हामी यहाँ छौँ भनेर देखाउने गर्छौँ । तर, हालको मेला भने विशुद्ध जुत्ता चप्पल बेच्ने हिसाबले आयोजना गरेका हौँ । मेलामा स्टक बसेको आइटम छ भने त्यसमा ५० प्रतिशतसम्म छुट हुन्छ । भर्खर निकालेको आइटममा अर्थात् नयाँ जुत्ता चप्पलमा १० देखि १५ प्रतिशतसम्मको छुट छ । नेपालका ठूला उद्योगमध्ये प्रायः जसो सबैजना हाम्रो एसोसिएसनमा आवद्ध छन् । अहिले १४० जना ठूला उद्योगीहरू आबद्ध छौँ । साना उद्योगहरू अर्थात् परम्परागत सिपका आधारमा गर्नेहरूको आफ्नै अर्को संस्थामा आबद्ध हुनुहुन्छ । हाम्रो एसोसिएसन २०५७ सालमा गठन भएको हो । त्यसको संस्थापक सदस्य म आफू पनि हुँ । हामी १३ जना उद्योगीहरू मिलेर गठन भएको एसोसिएसनमा आज १५० को हाराहारीमा सदस्य छौँ, जसमा धेरैजसो ठूला उद्योगहरू आबद्ध छन् । जसले बाहिर निर्यात गर्नमा ठूलो भूमिका खेलिराखेका छन् ।
  • नेपाली जुत्ता चप्पल कति जति उत्पादन भइराखेको छ र कति मात्रामा बिक्री हुन्छ ?
    अहिले नेपालको हकमा कुल १६ करोडको क्षमता हामी उद्यमीहरूको छ । नेपालमा सानाठूला गरेर १५ सय उद्योगी छौँ । १५ सयमा ११२ उद्योग ठूला उद्योगमा गनिन्छन् । अरू सबै मझौला र परम्परागत सीपमा आधारित छन् । ती सबै उद्योगको वार्षिक १६ करोड उत्पादन क्षमता छ । नेपालको माग भनेको कुल १० करोड जोर छ । अहिलेसम्मको स्थितिमा एक करोड जोर बाहिर निर्यात हुन्छ । र, जम्मा ११ करोडको स्थिति भयो । त्यसमध्ये चार, साढे चार करोड जुत्ता चप्पल विदेशबाट आयात भइराखेको रेकर्ड छ । यदि राज्यले हेर्ने हो भने, हामी नेपालको माग पूरा गरिकन पनि सात करोड जोर जुत्ता बाहिर निर्यात गर्नसक्ने अवस्थामा अहिले छौँ । तर, इन्डिया, युएसए, खाडी मुलुक, युरोपियन देशलगायत १७-१८ वटा देशमा मात्रै एक करोड जोर निर्यात हुन्छ ।
  • आयोजित मेलाबाट उद्योगीहरूलाई व्यापारबाहेक अरू के फाइदा हुन्छ ?
    मेलाको उद्देश्य हामीले दिएको जुत्ताको क्वालिटी र उपभोक्ताले बाहिर महँगोमा किनेको जुत्ताको क्वालिटी कस्तो छ भन्ने प्रतिक्रिया उपभोक्ताबाट आओस् भन्ने पनि हो । हुन त हामीले बनाएको जुत्ता चप्पललाई हेरेर ए यस्तो राम्रो पनि नेपाली बन्दोरहेछ, यो नेपाली हो र ? भन्ने स्थिति आइसकेको छ । त्यस्तै, मेलाबाट किनेर लानुभएको जुत्ता कत्तिको सजिलो, बलियो छ वा छैन अर्थात् कहाँनेर समस्या आयो भनेर गुनासो सुनाउने र हौसला दिने गर्नुहोस् भन्ने पनि हो । यदि नेपाली जुत्ता चप्पलमा सुधार गर्नुपर्ने छ भने यो-यो पक्ष सुधार गर्नुपर्ने छ भनेर हामीलाई सल्लाह-सुझाव दिनुहोस् भन्नकै लागि पनि मेला लगाएको हो । मेरो स्पोर्ट्स जुत्ताहरू १९ सय ९९ देखि ३१ सय ९९ रुपैयाँसम्म बेचिराखेको छु । ती जुत्ता यहाँ मेलामा २० प्रतिशत डिस्काउन्टमा राखेको छु । त्यसले गर्दा बाहिर पसलमा बेच्नेभन्दा मेलामा बिक्री भइराखेको जुत्ता चप्पल सस्तो छ । तर, ठूलठूला डिपार्टमेन्ट स्टोरमा त्यही जुत्तालाई अरू-अरू विदेशी ब्रान्ड भनेर किन्नुभयो भने ६ देखि १० हजारसम्म परिराखेको अवस्था छ । त्यस्तै, सिधा उपभोक्ताहरूसँग आमनेसामने भएर उहाँहरूले के खोजिराख्नु वा चाहिराख्नुभएको छ भन्ने पत्ता लगाउन पनि मेला गरेको हो ।
  •  बाहिर निर्यात हुने जुत्ता भिन्न क्वालिटीको हुन्छ कि नेपाली उपभोक्ताहरूले लगाउने क्वालिटीकै हुन्छ ?
    उस्तै क्वालिटी हो, उता पठाउने र यहाँ लगाउने । कतिपयले विदेशी भनेर लगाउनुभएको छ तर त्यो नेपाली जुत्ता नै हो । र, हामीले पनि विदेशी हो भनेर नेपाली जुत्ता बेच्नु परिराखेको स्थिति छ । स्वदेशी भन्यो भने ब्रान्डिङको कमीले गर्दा नकिन्ने हुनाले विदेशी भनेर बेच्नु परिराखेको छ । पहिला विदेशीलाई ल्याएर नेपाली भनेर पनि बेच्नुपरेको अवस्था थियो तर अहिले ठ्याक्कै उल्टो नेपाली उत्पादनलाई विदेशी बनाएर बेच्नु परिराखेको छ । ब्रान्डिङ भइसकेका साथीहरूले आफ्नो ब्रान्डिङ बेच्छन् र जसको ब्रान्ड बजारमा पपुलर छैन उनीहरूले चाहिँ विदेशी ब्रान्ड वा विदेशी भनेर नाम ए, बी, सी आदि लेखेर फलानो देशको भनेर बेच्ने गर्नुहुन्छ । किनभने हामी त ‘नेपाली लगाऔँ गर्व गरौँ’ भन्छौं तर आमनेपालीमा त्यो किसिमको सोचाइ नभएकाले अर्थात् विदेशी जुत्ता लगाउँदा म ठूलो भएँ भन्ने भावनाले गर्दा ठगेर स्वदेशी जुत्ता चप्पललाई फलानो देशको हो भनेर बेच्नु परिराखेको अवस्था छ ।
  • हाल उद्योगीको अवस्था कस्तो छ र कच्चा पदार्थ कहाँबाट ल्याउनुपर्छ ?
    नेपाली उपभोक्ताहरूमा ब्रान्ड कन्सेस छ । विदेशी ब्रान्ड लगाउदाँ राम्रो भन्ने धारणाले गर्दा स्वदेशीलाई विदेशी भन्नुपर्ने बाध्यता छ । तर, यसो भन्दै गर्दा हाम्रा नेपाली उपभोक्ताहरू नेपाली ब्रान्ड लगाउँदै नलगाउने भने होइनन् । आजभन्दा १० वर्षअघि यो नेपाली जुत्ता पो भनेर नाक खुम्च्याउनुहुन्थ्यो भने हाल मैले नेपालको फलानो ब्रान्ड लगाइराखेको छु भनेर गर्व गर्ने स्थिति बनेको छ । तर, पूर्ण भने भइसकेको अवस्था छैन । युवावर्ग, कलाकार, नेता, सरकार आदि सबैले मैले त नेपाली ब्रान्डको जुत्ता लगाएको छु भनेर गर्व गर्नुहुन्छ तर पनि यसले पूर्णता भने पाएको छैन । पूर्णताको अर्थात् ब्रान्डिङका लागि हामीले नै मिहिनेत गर्नुपर्छ । साना उद्योगीहरूले ब्रान्डिङ बनाउन, मिडियामा जान धेरै ठूलो खर्च गर्नुपर्ने हुन्छ । त्यसैले यो कुरालाई ध्यान दिएर राज्यले एउटा सामूहिक लोगो निर्माण गरेर अर्थात् ग्रुप ब्रान्डिङ गरेर कुनै ब्रान्डिङ गरिदिने हो भने राम्रो हुन्थ्यो । जुन विदेशतिर साना-सानालाई मिलाएर एउटा ब्रान्ड गरिन्छ र एक्स्पो हुन्छ । त्यो स्थिति विदेशमा छ, हाम्रोमा अभ्यास गरिएको छैन । जुन बनाउन यहाँ पनि राज्यले चासो दिनुपर्छ । र, त्यो भयो भने हामीलाई नेपाली जुत्ता हो भन्दा अझ गर्व हुने स्थिति हुन्छ । तर, जेहोस् अहिलेको अवस्थामा नेपाली उपभोक्ताले नेपाली सामानलाई माया गरेको अवस्था छ । हिजोको दिनमा हामीले बेच्दा फलानो ढिस्कानो देशको अनेक भनेर बेच्नुपथ्र्यो, नभए जुत्तै बिक्दैन थियो । अहिले चाहिँ नेपाली भनेर किन्ने ७० प्रतिशत छन् भने ३० प्रतिशतलाई अझै पनि विदेशी भन्नुपर्ने अवस्था छ । र, जुत्ता चप्पलका लागि कच्चा पदार्थ चाइना र इन्डियाबाट ल्याइराखेका
  • जुत्ता चप्पल उद्योगीहरूले राज्यबाट के अपेक्षा लिएका छन् ?
    राज्यले यति मूल्यदेखि माथि हामीलाई चाहिँदैन भनेर एउटा सिलिङ तोकिदिने हो अर्थात् अरू देशमा जस्तै र हजारभन्दा कम मूल्यका जुत्ता बाहिरबाट नल्याउने हो भने हामी मज्जाले उपभोक्ताको मागलाई पूरा गर्न सक्छौँ । धेरै ठूलो वा विलासिताका रूपमा ब्रान्ड कन्सेस पाँचदेखि १० प्रतिशत त कहिल्यै पनि पूरा हुँदैन । तर, आमसर्वसाधारणका लागि नेपाली जुत्ता चप्पलको मागलाई पूर्णरूपमा पूरा गर्न सक्ने अवस्थामा हामी छौँ । त्यस्तै, प्रायः आमउपभोक्ता वा सर्वसाधारणहरू खाडी मुलुकजस्तो ठाउँमा गएर टन्टलापुर घाममा तातिएर बस्नुपरेको अवस्था छ र यहाँ जनशक्ति अभावका कारण उत्पादन गर्न गाह्रो भइराखेको छ । यो अवस्थालाई राज्यले ध्यान दिन जरुरी छ । राज्यले मेलाको हाम्रो आइटम नियालिदियोस् र मागनुसार उत्पादन, बिक्रीवितरण भएको छ, छैन हेरेर हौसला र सुझाव देओस् साथै देशलाई कसरी आत्मनिर्भर वा सम्पन्न बनाउने भन्नेतर्फ नियालिदेओस् भन्ने हामी उद्योगीको अपेक्षा छ । अर्को, चोरीपैठारीबाट निर्धक्क तरिकाले बाहिरबाट आइराखेको जुत्ता चप्पलप्रति सरकारले कडा निगरानी गरेर रोक्नुपर्‍यो । चोरीबाट आएको सामानमा कर नलागेपछि ती सामानहरू बजारमा सस्तो बिकिराखेको छ । यसबाट पहिलो घाटा राज्यलाई र दोस्रो घाटा हामीलाई भइराखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?