गण्डकी सरकारले सुरु गर्‍ यो बजेट निर्माणमा छलफल, विज्ञसँग लिईयो सुझाव

Read Time = 4 mins

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी वर्षको बजेट निर्माणका लागि विज्ञहरुसँग सुझाव लिएको छ । कोरोना संक्रमणका कारण आर्थिक संकटमा रहेको सरकारले संघ सरकारको अनुदानमै केन्द्रित भएर बजेट ल्याउन लागेको हो । यसअघि ३० अर्बको बजेट ल्याएको सरकारले अहिले बजेटको आकार अझै घट्न सक्ने संकेत गरेको छ ।

यसपटक विज्ञहरुले कृषि र पर्यटनलाई पहिलो प्रथामिकता दिन सुझाएका छन् । कृषिलाई आधुनिकिकरण र व्यवसायीकरण गर्दै नेपालमा उत्पादन हुने बस्तु तथा सेवामा विशेष जोड दिन उनीहरुको आग्रह छ । अहिले पनि अर्बौको उत्पादन नेपाल आयात हुने गरेको भन्दै त्यसलाई रोक्ने गरी आत्मनिर्भर अर्थतन्त्रमा ध्यान दिन उनीहरुको सुझाव छ ।

नेपालको माटो सुहाउँदो बस्तु तथा सेवा उत्पादन गर्न बाँझो जमिनलाई भूमि बैंकको रुपमा प्रयोग गरी ठूलो मात्रमा उत्पादन हुने र त्यस्ता ठूला फार्मलाई अनुदानको व्यबस्था गर्नुपर्ने सुझाव दिईएको छ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठले सरकारले बजेट खर्च गर्न नसकेका कारण देशमा आर्थिक तरलता बढेको बताउनु भयो ।

प्रदेश र स्थानीय सरकारको साढे ३ खर्ब सरकारी बैंकमै रहेको उनले जानकारी दिनुभयो । ‘सरकारी पैसा खर्च भएको छैन । ३ खर्बको कृषि बस्तु आयात भएको छ,’ उहाँले भन्नुभयो, ‘एकातिर खर्च नहुने अर्कोतिर आयात बढ्ने त राम्रो भएन ।’

उनले अधिकांश बजेट खर्चमा जोड दिन सुझाव दिएका छन् । कोरोना र हालको अर्थतन्त्रलाई चलायमान बनाउन छोटो समयमा ठूलो नतिजा ल्याउन प्रोडक्ट, प्रोसेस र मोडेल कार्यक्रम ल्याउनु पर्ने उनको भनाई छ ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. पुष्परमण वाग्लेले प्रदेशमा टुक्रे योजना बढेको र बजेट मागसमेत बढ्दै गएको बताउनु भयो । प्रदेशमा ३ हजार योजनाको माग भएको २५ अर्बको बजेट आवश्यक पर्ने उहाँको भनाई छ । कूल ७८ अर्ब लाग्नेमा २५ अर्ब सिलिङ रहेको वाग्लेले जानकारी दिनुभयो । नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले ८५ गाँउपालिकामा सुपथ मुल्यका पसल सञ्चालन गर्नुपर्ने सुझाव दिएनुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जग्गा प्राप्तिको समस्याले गौरवका योजनामा अवरोध भएको बताउनु भयो । संविधानले प्रदेशलाई कम अधिकार दिएकोले आफूहरुले चाहेर पनि धेरै काम गर्न नसकेको उनको भनाई छ ।

‘डेढ बर्ष पहिला प्रतिपक्ष दलको नेता हुँदा यही समस्या थियो । अहिले मुख्यमन्त्री हुँदा पनि त्यही समस्या छ,’ उनले भने । अर्थमन्त्री रामजी प्रसाद बरालले विज्ञहरुको सुझाव अनुसार बजेट र नीति तथा कार्यक्रम बनाउने बताउनु भयो । नयाँपन दिनुपर्ने, अनिवार्य दायित्व र बहुवर्षीय योजनालाई प्रथामिकता दिने उहाँको प्रतिबद्धता छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?