गठबन्धनको देशव्यापी चुनावी सभा : एजेण्डा छैनन्, गाली-गलौजमै खर्चिन्छन् समय

Read Time = 9 mins

डिबी शर्मा/हिटा
काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनले देशव्यापी चुनावी सभा गरिरहेको छ । चितवनको भरतपुरबाट सभा सुरु गरेको गठबन्धनले आइतबारसम्म काठमाडौं, जनकपुर, पोखरामा र तुल्सीपुरमा सभा सम्पन्न गरेको छ । सोमबार गठबन्धनले धनगढीमा संयुक्त सभा गर्दैछ भने २७ गते जितपुर सिमरामा सभा गर्ने गठबन्धनको तयारी छ । स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउन शीर्ष नेताहरू नै सभामा खटिएका छन् । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित जसपा र राष्ट्रिय जनमोर्चाका नेताहरूले दिनहुँ सभालाई सम्बोधन गरिरहेका छन् । गठबन्धनमा आबद्ध तीन दल कांग्रेस-माओवादी र नेकपा एसका शीर्ष नेताहरू सभामा देखिए पनि जसपा र जनमोर्चाका शीर्ष नेता भने सभामा देखिएका छैनन् । जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भने आफ्नो पार्टीको प्रचारमा व्यस्त रहनुभएको छ । सभामा बोल्ने शीर्ष नेताहरूले गठबन्धनको औचित्य र उम्मेदवार जिताउन अपिल गर्ने गरेका छन् । आइतबार पोखरामा भएको सभामा पनि शीर्ष नेताहरूले उस्तै कुरा दोहोर्‍याए ।
सभामा उनीहरूले एजेण्डाभन्दा विपक्षी दल र तिनका नेताहरूमाथि बढी टिप्पणी गर्छन् । खासगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि गठबन्धनका नेताहरू दैनिक खनिने गरेका छन् । गठबन्धन जोगाउन र उम्मेदवार जिताउन उनीहरूले जोड दिने गरेका छन् ।

ओली संसदीय प्रणाली मान्नेवाला छैनन्, जिते भने फेरि संसद् भंग गरिदिन्छन् : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले जितेर आए भने फेरि पनि संसद् विघटन गर्ने दाबी गर्नुभएको छ । पोखरामा पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहनुभएका देउवाले आफू गठबन्धनबाट प्रधानमन्त्री भएकाले गठबन्धन आजको आवश्यकता भएको बताउनुभयो । ‘हामीले संसद्मा विरोध गर्‍यो भने भंग गर्दिहाल्ने, ओली संसदीय प्रणाली मान्नेवाला छैनन्,’ देउवाले भन्नुभयो, ‘हामीले संसद्मा विपक्षीले विरोध गर्न पाउँछ । हामीले विरोध गरेका थियौँ, विरोध गर्दा संसद् भंग गर्दिने ? ओलीले जित्यो भने संसद् राख्छ ? भोलि नै भंग गरिदिन सक्छ । ओली र उनको पार्टी प्रजातन्त्रको खिलाफमा छ, गणतन्त्रको खिलाफमा छ ।’

गठबन्धन गरेर सबैलाई फाइदा पुगेको भए पनि कांग्रेसलाई आवश्यकता भएको उहाँको भनाइ थियो । ‘गठबन्धन बन्नुअघि हाम्रो कस्तो अवस्था थियो ? कांग्रेसको नेतृत्वमा सरकार छ । त्यसकारण सबै दलहरूमा कुनै शंका उपशंका गर्नै हुँदैन ।’ देउवाले स्थायित्व र स्थिरताको लागि गठबन्धन आवश्यक रहेको बताउनुभयो ।

फेरि पनि भन्छु, गठबन्धन दायाँबायाँ भयो भने देश राजनीतिक दुर्घटनामा जान सक्छ : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरमा सत्ता गठबन्धनले नजिते राजनीतिक दुर्घटनाको खतरा छ भन्ने आफ्नो भनाइलाई गलत अर्थ लगाइएको बताउनुभएको छ । पोखरामा गठबन्धनको चुनावी सभामा बोल्दैै प्रचण्डले गठबन्धन देशलाई राजनीतिक दुर्घटनाबाट बचाउनको लागि जन्मिएको बताउनुभयो । ‘एउटा ठूलो षड्यन्त्र लोकतन्त्र, संघीयता र संविधानको विरुद्ध हुँदै थियो । त्यसलाई परास्त गर्ने सन्दर्भमा जन्मेको हो गठबन्धन,’ उहाँले भन्नुभयो, ‘यो गठबन्धनविरुद्ध राजावादी, गणतन्त्र विरोधीहरूको अर्को गठबन्धन जो आएको छ त्यसलाई परास्त गर्न आवश्यक छ । अन्यथा देशमा फेरि राजनीतिक दुर्घटनाको खतरा छ । मैले यति भन्दा कतिपय मानिसले मैले जनता धम्क्यायो, हामीलाई नजिताए दुर्घटना हुन्छ भन्यो भनेर पनि गलत अर्थ लगाइएको छ । म फेरि पनि गम्भीर रूपले भन्न चाहन्छु, यो गठबन्धन देशलाई राजनीतिक दुर्घटनाबाट बचाउनका लागि जन्मिएको हो । यदि यो गठबन्धन दायाँबायाँ भयो भने देश फेरि राजनीतिक दुर्घटनामा जान सक्छ ।’

गठबन्धनले पाँच दललाई नै फाइदा पुर्‍याएको उहाँको भनाइ छ । देशमा गठबन्धनको संयुक्त सरकारको तरिकाबाट मात्रै देशमा राजनीतिक स्थायित्व कायम गर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । ‘यो गठबन्धन जन्मिने दिनदेखि नै प्रतिक्रियावादी र अवसरवादीले लगातार यो गठबन्धन टुटाउने कोसिस गरे,’ उहाँले भन्नुभयो, ‘अहिलेको निर्वाचनमा पनि संविधान, राष्ट्र र गणतन्त्रको रक्षाको निम्ति अगाडि बढेको गठबन्धनलाई कुनै न कुनै रूपमा विभाजित गर्ने षड्यन्त्र चली नै राखेको छ । स्थानीय निर्वाचनको तहमा मात्रै होइन भोलि प्रदेश र संघीय निर्वाचनसम्म पनि गठबन्धनलाई लैजानुपर्छ ।’ काठमाडौं र भरतपुरमा गठबन्धनका मेयर पदका उम्मेदवारलाई गलत ढंगले चित्रण गरिएको भन्दै प्रचण्डले आपत्तिसमेत जनाउनुभयो ।

दम्भ देखाए केपी ओलीको जस्तै विनाश हुन्छ : नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शक्तिशाली छौँ भन्ने दम्भ नराख्न चेतावनी दिनुभएको छ । पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले शक्तिशाली छौँ भन्ने दम्भ राखे एमाले अध्यक्ष केपी शर्मा ओली जस्तै विनाश हुने बताउनुभयो । ‘कहिलेकाहीँ कम्युनिष्टमा हामी शक्तिशाली छौँ भन्ने दम्भ हुन्छ । अनि कांग्रेसमा पनि दम्भ हुन्छ,’ उहाँले भन्नुभयो, ‘यस्तै दम्भ राख्नुभयो भने तपाईंहरूको पनि केपी ओलीको जस्तै विनाश हुन्छ ।’ विगतमा कांग्रेस र कम्युनिष्ट मिलेर अहिलेसम्मका परिवर्तन आएको भन्दै मिलेर नै पटक-पटक सरकार गठन गरेको उहाँको भनाइ छ । संविधान र गणतन्त्रको रक्षा गर्न अहिलेको गठबन्धन बनाउन परेको नेपालले बताउनुभयो ।

अध्यक्ष नेपालले फेवाताल अतिक्रमण हटाउन गठबन्धनलाई मतदान गर्नुपर्ने बताउनुभयो । गठबन्धनका उम्मेदवारले भ्रष्टाचार नगर्ने भन्दै महानगरभित्रका भ्रष्टाचार हटाउने दाबी उहाँले गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?