स्थानीय तह निर्वाचन : गुल्मीमा १३ सयभन्दा बढि कर्मचारीलाई तालिम

Read Time = 2 mins

रमेश विश्वकर्मा/गुल्मी । स्थानीय तहको निर्वाचनको दिन नजिकिएसँगै गुल्मी जिल्लामा निर्वाचन तयारीलाई तिब्र पारिएको छ । ३० वैशाखमा एकै चरणमा हुने स्थानीय तहको निर्वाचनलाई लक्ष्यित गरी कर्मचारी खटनपटन कार्य गरि तालिम सञ्चालन भइरहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी मेघलाल पाण्डेले जानकारी दिनुभयो ।

दुई नगरपालिका र दश गाउँपालिकामा ९३ वडा रहेको यस जिल्लामा २७९ मतदान केन्द्र रहेका छन् । निर्वाचनका लागि यस जिल्लामा एक हजार तीन सयभन्दा बढि कर्मचारीहरु खटिएका पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ २७९ मतदान अधिकृत, २७९ नै सहायक मतदान अधिकृत खटिएका छन् । मतदान स्थलका लागि ५५० जना सहायक कर्मचारी र २७९ कार्यालय सहयोगी गरी एक हजार ३८७ जना कर्मचारी खटाइएको उहाँले जानकारी दिनुभयो ।

स्थानीय तहको निर्वाचनमा यस जिल्लाबाट दुई लाख २४ हजार २ सय ७६ मतदाता सहभागी हुँदैछन् । पाँच सयभन्दा बढि मतदाता भएको मतदान केन्द्रमा पाँच जना र पाँच सयभन्दा कम मतदाता भएको मतदान केन्द्रमा चार जना कर्मचारी खटाइएको छ । मतदाताको संख्याको आधारमा मतदान अधिकृतले बढीमा तीन जना स्वयंसेवक नियुक्त गर्न पाउने पाण्डेले बताउनुभयो ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न, शान्ती सुरक्षालाई चुस्त राखिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न मतदान केन्द्रमा एक हजार पाँच सय भन्दा बढि सुरक्षाकर्मी खटाइएको र जिल्लाभर दुई हजार पाँच सय भन्दा बढि सुरक्षाकर्मी परिचालन गरिने उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?