कांग्रेस प्रचण्ड–नेपाल मात्र होइन एमालेविरुद्ध जो भेट्यो त्यही बोक्ने अवस्थामा पुग्यो: अध्यक्ष ओली

Read Time = 4 mins

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै लड्न नसक्ने भएपछि पाँच दलीय गठबन्धन बनाएको आरोप लगाउनु भएको छ । गृहनगर दमकमा भएको एमालेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले एमालेसँग लड्न नसकेपछि गठबन्धन बनाएको दाबी गर्नुभयो ।

उहाँले गठबन्धनको उद्देश्य भने विकास र समृद्धिलाई रोक्नु मात्र भएको बताउनु भयो । विकास रोक्नु, सुशासन हुन नदिनु, स्थायित्व र स्थिरता देशमा हुन नदिनु गठबन्धनको उद्देश्य भएको उहाँको भनाइ थियो । देश विकास गर्ने एमालेविरुद्ध मोर्चा बनाएर घेराबन्दी भएको बताउनु यभो । उहाँले प्रजातन्त्र पुनर्स्थापनापछिको ३० वर्षमा कांग्रेस एक्लैले २० वर्ष र अरूसँग मिलेर गरी १० वर्ष देश चलाउँदा पनि केही विकास गर्न नसकेको दाबी गर्नुभयो । उहाँले कांग्रेसले केही गर्न नचाहेको बताउनु भयो ।

कांग्रेसलाई विरोध गर्न मात्र आउने उहाँको भनाइ थियो । ‘ढलेको धरहरा हामीले उठायौँ । तर, सेतो भ्युटावर भन्दा केही पनि हैन रे । उनीहरू हरेक कुरालाई नकारात्मक ढंगले हेर्छन् । धरहरा बनेकोमा पिर परेको छ,’ उहाँले भन्नुभाये, ‘रानीपोखरी बनेकोमा पिर परेको छ । पुनर्निर्माण भएकोमा पिर परेको छ । पुरातात्विक महत्त्वका सामग्री निर्माण भएको र नौ लाख भूकम्पपीडितलाई घर बनाइदिएकोमा पिर परेको छ । मदन भण्डारी राजमार्ग र हजारौँ पुल बनेकोमा पीर परेको छ ।’

हुलाकी राजमार्गअन्तर्गत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा मात्र २७ वटा पुल बनेकाले के भनेर भोट मागेर जाने भन्नेमा संकट परेको बताउनु भयो। उहाँले कांग्रेसलाई लोकतन्त्रको बाटोमा फर्कन आग्रह गर्नुभयो । ‘कांग्रेसलाई अझै पनि लोकतन्त्रको बाटोमा फर्कनसचेत गराउन चहान्छु । लोकतन्त्रविरोधी अनेक जालझेल नगर्नुुस् । संसद्‌बाट सरकार बनाउने बाटोमा फर्कनुस् । जालझेल गरेर अदालतमा सेटिङ मिलाएर परमादेशबाट प्रधानमन्त्री खाने कुबुद्धि नआओस्,’ ओलीले भन्नुभयो, ‘कमसेकम हामीले प्रतिस्पर्धी त पाउँ । यहाँ त प्रतिस्पर्धी नै नहुने भयो । एमालेलाई अगाडिबाट देख्यो कि भागरेभाग । चुनाव आयो कि, सरकार चलाउन पर्‍यो कि सबै धुरिन्छन् ।’

उहाँले कांग्रेस एमालेविरुद्ध जे भेट्यो त्यही बोक्ने अवस्थामा पुगेको दाबी गर्नुभयो। ‘कहीँ राप्रपा, कहीँ प्रचण्ड त कहीँ माधव नेपाल बोकेका छन्,’ ओलीले भन्नुभयो, ‘कांग्रेस एमाले विरुद्ध जो भेट्यो त्यही बोक्ने अवस्थामा पुग्यो ।’

उहाँले दमकको विकासका लागि एमाले नै चाहिने बताउनु भयो । एमालेकै नेतृत्वले दमक विश्वमा चिनिएको दाबी गर्दै उहाँले भन्नुभयो । ‘एमालेको लालकिल्ला दमकमा एमालेलाई पाँच दलीय गठबन्धनले नभएर राप्रपासहितको ६ दलीय गठबन्धन बनाएका छन्,’ उहाँले भन्नुभयो, ‘दमकमा पार्टी नहेनुस् । विकासका लागि एमालेलाई जिताउनुस् ।’

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?