स्थानीय निर्वाचन अन्तिम क्षणमा छ । पार्टीहरूले प्रचारप्रसारको अन्तिमसम्मको कसरत गरिसकेका छन् । ३० गते हुने निर्वाचनका लागि आज २८ गते र भोलि २९ गते दुई दिन मौनअवधि छ । बाहिरी रूपमा प्रचारप्रसारको समय सकिएको छ तर भित्री रूपमा यही मौनअवधिमा बढी चलखेल र प्रचारप्रसार हुने गर्दछ । यो अन्तिम क्षण भएकाले पार्टी र उम्मेदवारहरू यसलाई जीवनमरणको प्रश्न बनाएर लागि पर्ने गर्दछन् । यस पटक केही गर्न नसके पुनःपाँच वर्ष पछि परिन्छ भन्ने मनोविज्ञानले उम्मेदवार जे-जस्ता वाञ्छित-अवाञ्छित कार्य गर्न तत्पर हुने गर्दछन् । हुनै लागेको स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरूले सोही बाटो अवलम्बन गरिरहेका छन् ।
विशेषगरी नेकपा एमालेका लागि यो निर्वाचन आफ्नो अस्तित्वसँग जोडिएको छ । त्यसैले यो पार्टीले जसरी भए पनि आफूलेमात्रै जित्नुपर्ने भन्ने भाषणवाजी गर्दै हिँडिरहेको छ । साम, दाम, दण्ड, भेदको नीति अवलम्बन गरेर अगाडि बढिरहेको छ । सरकारमा बसेको समयमा यती, ओम्नीलगायत अनेकौं काण्ड गरी कारोडौं कमाएको र कार्यकर्ताबाट पनि लेबी उठाएर धनी बनेको नेकपा एमाले पार्टीले करोडौं रुपैयाँ खर्च गरिरहेको चर्चा चलिरहेको छ । ठाउँठाउँमा अरू पार्टीका कार्यकर्ता कुट्नेदेखि अर्को पार्टीका प्रचार सामग्री खोस्ने पार्टी कार्यालयबाट झण्डा झिकेर फालिदिने जस्ता अराजक कार्य भइरहेका छन् । केही ठाउँमा विपक्षी पार्टीहरूका गाडी तथा मोटरसाइकल जलाइदिने जस्ता कार्य पनि भए ।
विधवाको सेतो सारीमा आफैंले अबिर छर्किएर कांग्रेसले गरेको भनेर दोष लगाउने नेताहरू भएको पार्टी भएकाले अब पनि त्यस्ता गलत कार्यहरू नेकपा एमालेबाट नहोलान् भन्ने कुनै आधार र ग्यारेन्टी रहेन । नेकपा एमालेले आफू सरकारमा बसेका बेला अनेकौं गैरराजनीतिक कार्य गरी बदनाममाथि बदनाम कमाएको थियो । त्यसको प्रतिवाद अन्य पार्टीहरू एकातिर उभिएर गरे । हाल आएर नेकपा एमालेले आफूले गरेका ती काम सही थिए र आफूले राम्रा काम गर्न खोज्दाखोज्दै प्रतिपक्षी पार्टीले अवरोध गरी काम गर्न नदिएको भनेर विभिन्न प्रष्टीकरणसहित आफ्ना प्रतिबद्धता प्रकट गरी घोषणापत्र जारी गरेको छ । त्यसमा उल्लेख भएका झुट र कपोलकल्पित कुराको खण्डन गरे अरू पार्टीहरूले आफ्नो धारणा व्यक्त गरिसकेका छन् ।
चुनावका बेला एकले अर्कालाई नराम्रो भन्ने र आफू सबैभन्दा राम्रो छु भन्ने गर्छन् । तर जसरी भए पनि आफैंले जित्नुपर्छ भन्ने मानसिकताले नभएका कुरालाई समेत भएका र अरूले गरेका कुरालाई आफैंले गरेको भनेर प्रचार गर्नु चाहिँ राजनीतिक बेइमानी हो । यस्ता कार्य कुनै पार्टीले गर्नु हुँदैन । त्यसैले प्रजातान्त्रिक चरित्र र संस्कार भएका पार्टीले नेकपा एमालेको यस्तो दुष्कार्यको सर्वत्र खण्डन गरेका छन् । नेपाली कांग्रेस पार्टीले एमालेलाई कांग्रेसले बनाएको नीतिको सावाँ र ब्याज खाने पार्टी भनेको छ । कांग्रेसलाई लगाइएका विभिन्न आरोपको कांग्रेसले प्रतिवाद गरेको छ । एमालेले आफू सरकारमा रहेका बेला पूरा गर्नै नसकिने अनेकौं कार्ययोजना अघिसारेर जनतालाई असम्भव आश्वासन दिेएको थियो ।
मोनोरेल, विद्युतीय रेल, पानीजहाज चलाउनेदेखि घरघरमा पाइपबाट ग्यास आपूर्तिको आश्वासन दिएको थियो जुन पूरा गर्न सकेन । अहिले ती योजना पूरा गर्न नसक्नुको कारणमा प्रतिपक्षीहरूको असहयोग हो भनिरहेको छ । भ्रष्टाचारीहरूको मुख नहेर्ने भनेर घोषणा गरेको एमालेले आफ्नो कार्यकालमा सबैभन्दा बढी भ्रष्टाचार गर्यो, त्यसैले आफ्नो साख जोगाउने प्रयासमा लागेको एमाले, जस्तोसुकै कसर गर्न पछि नपर्ने रणनीतिमा छ । चुनावमा अवाञ्छित कार्य होलान् कि भनेर सतर्क रहनुपर्ने हुन्छ । यो निर्वाचनमा सरकारले विशेष सुरक्षा व्यवस्था अपनाउनुका साथै निगरानी गर्नुपर्ने आवश्यकता छ ।
एनसेलको गैरकानुनी सेवा विस्तारमा उद्योग
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच