नेपाल भित्रने रेमिट्यान्समा ०.६ प्रतिशतले कमी, मूल्यवृद्धि अघिल्लो बर्ष भन्दा दोब्बर

Read Time = 4 mins

काठमाडौं । नेपाल भित्रने रेमिट्यान्समा ०.६ प्रतिशतले कमी आएको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको नयाँ तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालमा ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिको तुलनामा यस वर्ष नेपाल भित्रने रेमिट्यान्समा ०.६ प्रतिशतले कमी आएको हो ।

अघिल्लो वर्ष सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स १६.५ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा नेपाल भित्रने रेमिट्यान्समा २.२ प्रतिशतले कमी आई ६ अर्ब ५ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १३.१ प्रतिशतले बढेको थियो ।
यस वर्ष भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २४.४ प्रतिशत, २८.६ प्रतिशत र ५९.२ प्रतिशतले बढेको राष्ट्र बैंकको विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा मूल्यवृद्धि निरन्तर उकालो लागेको छ । राष्ट्र बैंकका अनुसार गत चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.१० प्रतिशत रहेको थियो ।

चैत महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.१८ प्रतिशत रहेको छ ।

चैत महिनामा औसत मुद्रास्फीति ५.६२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

२०७७ चैत महिनाको तुलनामा २०७८ चैत महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दुग्ध पदार्थ तथा अण्डा, दाल तथा गेडागुडी र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २८.३६ प्रतिशत, ११.५६ प्रतिशत, १०.५३ प्रतिशत र ८.९१ प्रतिशत रहेको छ ।

साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा र विविध वस्तु तथा सेवा उपसमूहको मुद्रास्फीति क्रमशः २०.१६ प्रतिशत, ८.७९ प्रतिशत र ८.१७ प्रतिशत रहेको छ ।

चैत महिनामा काठमाडौं उपत्यकामा ६.२५ प्रतिशत, तराईमा ७.६१ प्रतिशत, पहाडमा ७.७९ प्रतिशत र हिमालमा ८.२५ प्रतिशत मुद्रास्फीति रहेको छ ।

२०७७ चैतमा यी क्षेत्रहरुमा क्रमशः ३.२४ प्रतिशत, २.९२ प्रतिशत, ३.३८ प्रतिशत र १.५४ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

२०७८ चैत महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १४.४२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.१४ प्रतिशत रहेको थियो ।

चैत महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १७.०७ प्रतिशत, १४.१३ प्रतिशत र ७.२२ प्रतिशत रहेको छ । सोही महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २५.२२ प्रतिशत रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?