काठमाडौं । सरकारले आयातमा जतिसुकै कडाइ गरे पनि शोधनान्तर घाटा र आयातमा कमी आउन सकेको छैन । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७८/०७९ को नौ महिना अर्थात् चैतमा शोधनान्तर स्थिति दुई खर्ब ६८ अर्ब २६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर ४२ अर्ब ५४ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ८१ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब २५ करोडले घाटामा रहेको राष्ट्र बैंकद्वारा बुधबार सार्वजनिक वित्तीय तथ्यांकमा उल्लेख छ । २०७८ असारमा १३ खर्ब ९९ अर्ब तीन करोड रहेको कुल विदेशी विनिमय सञ्चिति १६.५ प्रतिशतले कमी आई २०७८ चैतमा ११ खर्ब ६७ अर्ब ९२ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असारमा ११ अर्ब ७५ करोड रहेकोमा चैतमा १८.२ प्रतिशतले कमी आई नौ अर्ब ६१ करोड कायम भएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति असारमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा चैतमा १७.९ प्रतिशतले कमी आई १० खर्ब २१ अर्ब ४५ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असारमा एक खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा चैतमा ५.१ प्रतिशतले कमी आई एक खर्ब ४६ अर्ब ४८ करोड कायम भएको छ । चैतको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ । नौ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.४ महिनाको वस्तु आयात र ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने बताइएको छ । २०७८ चैतमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः २४.१ प्रतिशत, ५५.२ प्रतिशत र २१.९ प्रतिशत रहेका छन् । असारमा उल्लेखित अनुपातहरू क्रमशः ३२.७ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।
चालु खाता पाँच खर्ब १२ अर्ब ७१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता दुई खर्ब १० अर्ब ५१ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ८० करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा चार अर्ब २८ करोडले घाटामा रहेको छ ।
विदेशिने बढे पनि बढेन रेमिट्यान्स
चालु आवको नौ महिनामा रेमिट्यान्स आयमा ०.६ प्रतिशतले कमी आई सात खर्ब २४ अर्ब ७४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १६.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आयमा २.२ प्रतिशतले कमी आई छ अर्ब पाँच करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आय १३.१ प्रतिशतले बढेको थियो । चालु आवको समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्यरूपमा वृद्धि भई दुई लाख ५६ हजार ३१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७४.९ प्रतिशतले घटेको थियो । त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १९९.९ प्रतिशतले वृद्धि भई दुई लाख छ हजार छ सय २९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६०.७ प्रतिशतले घटेको थियो ।
नौ महिनामा साढे १४ खर्बभन्दा बढीको आयात
चालु आवको नौ महिनामा कुल वस्तु निर्यात ६९.४ प्रतिशतले वृद्धि भई एक खर्ब ६० अर्ब ५७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २०.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ८६.९ प्रतिशत र २५.५ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २१.८ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, सोयाबिन तेल, धागो (पोलिस्टर तथा अन्य), ऊनी गलंैचा, पिनालगायतको निर्यात बढेको छ भने अलैंची, चिया, तार, दन्त मञ्जन, तामाको तारलगायतको निर्यात घटेको छ । नौ महिनामा कुल वस्तु आयात ३२.० प्रतिशतले वृद्धि भई १४ खर्ब ६६ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३.१ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २४.४ प्रतिशत, २८.६ प्रतिशत र ५९.२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्ट्स, सुनलगायतको आयात बढेको छ भने एमएस बिलेट, रासायनिक मल, सिमेन्ट, दाल, मोलासिस सुगरलगायतको आयात घटेको छ । नौ महिनामा कुल वस्तु व्यापारघाटा २८.५ प्रतिशतले वृद्धि भई १३ खर्ब छ अर्ब नौ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १२.५ प्रतिशतले बढेको थियो ।
मूल्यवृद्धि ७.२८ प्रतिशत
चैतमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.१० प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ७.४० प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.१८ प्रतिशत रहेको छ । समीक्षा अवधिको औसत मुद्रास्फीति ५.६२ प्रतिशत रहेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकामा ६.२५ प्रतिशत, तराईमा ७.६१ प्रतिशत, पहाडमा ७.७९ प्रतिशत र हिमालमा ८.२५ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ चैतमा उल्लेखित क्षेत्रमा क्रमशः ३.२४ प्रतिशत, २.९२ प्रतिशत, ३.३८ प्रतिशत र १.५४ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच