नारायण भण्डारी/हिटा
काठमाडौं । स्थानीय तहको निर्वाचनमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले पनि उत्साहजनक सहभागिता जनाएका छन् । आफ्नो मतदाता नामावली भएको स्थानमा पुगेर नेताहरू मतदानमा सहभागी भएका हुन् । नेकपा एमाले एकाध स्थानबाहेक एक्लै चुनावी मैदानमा होमिएको छ भने अरू प्रमुख राजनीतिक दलहरू गठबन्धन बनाएर निर्वाचनमा उठेका छन् । जसको कारणले गर्दा शीर्ष नेताहरूले नै अर्को दलको चु्नाव चिन्हमा मतदान गरेका छन् । नेपाली कांग्रेस माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले विभिन्न ठाउँमा तालमेल गरेका छन् । सोही कारण स्थानीय तहका पदहरूमा भागबण्डा गरिएको छ ।
गठबन्धनका दललाई निर्वाचित गराउन आफ्नो दलको उम्मेदवार नभएको ठाउँमा सहकार्य गरेका दलको चुनाव चिन्हमा मतदान गरेका हुन् । पूर्व-प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन महानगरपालिकाको चुनावमा भाग लिनुभएको थियो । उहाँले महानगरको उपप्रमुखमा कांग्रेसको रूख चिन्हमा मतदान गर्नुभयो र अन्य स्थानमा पनि कांग्रेस र माओवादीका चिन्हमा मतदान गर्नुभयो । यस्तै, पूर्व-प्रधानमन्त्री बाबुराम भट्टराईले त मतदान गरेको तस्वीर नै सार्वजनिक गर्नुभएको थियो । उहाँको गृहपालिकामा जसपाले नेकपा एमालेसँग तालमेल गरेका कारण उहाँले एमालेको सूर्य चिन्हमा पनि मतदान गरेको दृश्य देखिएको थियो । यसरी शीर्ष नेताहरू नै अर्को दलको चुनाव चिन्हमा मतदान गर्दाको दृश्य रोचक देखिएको थियो । सबैजसो राजनीतिक दलका शीर्ष नेताहरूले उल्लासमय रूपमा आफ्नो गृहपालिकामा पुगी मतदान गरेका छन् ।
लोकतन्त्रको मूलस्तम्भ स्थानीय निर्वाचन हो : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो गृहपालिका डडेल्धुराको गन्यापधुरा-१ को मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । मतदानलगत्तै प्रधानमन्त्री देउवाले सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो, ‘चुनाव हुँदैन हुँदैन भन्ने केपी ओलीजीले पनि मतदान गर्नुभयो होला ।’ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले निर्वाचन मिति घोषणा भएपछि पटक-पटक प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत नेताले चुनाव सार्ने षड्यन्त्र गरेको आरोप लगाउँदै आउनुभएको थियो । प्रधानमन्त्री देउवाले शुक्रबार मतदानपछि स्थानीय निर्वाचन नै लोकतन्त्रको मूलस्तम्भ भएकाले सहज रूपमा निर्वाचन सम्पन्न गर्नु नै सरकारको प्रमुख दायित्व भएको बताउनुभयो ।
सदरमुकामदेखि २४ किलोमिटर दूरीमा रहेको मतदान केन्द्रमा प्रधानमन्त्री देउवा हेलिकप्टरबाट मतदान गर्न पुग्नुभएको हो । उहाँ धनगढीबाट मतदान गर्न आफ्नो वडामा आइपुग्नुभएको थियो । प्रधानमन्त्री देउवा एक सातादेखि सुदूरपश्चिममा हुनुहुन्छ । तीन दिन गृह जिल्ला डडेल्धुरामा रहनुभका देउवा बुधबार डडेल्धुराबाट धनगढी जानुभएको थियो । प्रधानमन्त्री देउवाको गृहपालिका गन्यापधुरामा कांग्रेसबाट विद्रोही उम्मेदवारले एमालेसँग तालमेल गरी निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । डडेल्धुरामा दुई नगरपालिका र पाँच गाउँपालिकासहित सात स्थानीय तह रहेका छन् ।
देश मूलतः दुई दलीय प्रणालीमा गइसक्यो : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश मूलतः दुई दलीय प्रणालीतर्फ गएको बताउनुभएको छ । शुक्रबार स्थानीय तह निर्वाचन २०७९ को अवसरमा भक्तपुरको सूर्यविनायकस्थित महेन्द्र शान्ति विद्यालय ‘क’ मतदान केन्द्रबाट भोट हालेपछि अध्यक्ष ओलीले एकातर्फ एमाले र अर्कोतर्फ अन्य दलको गठबन्धन रहेको बताउनुभयो । ‘देश मूलतः दुई दलीय प्रणालीतर्फ गएको देखिन्छ । कांग्रेस पनि एक्लै चुनाव लड्ने स्थितिमा रहेन । वडासम्म पनि एक्लै लड्ने हिम्मत रहेन,’ ओलीले भन्नुभयो । अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा जनताको सहभागिता उल्लेख्य र उत्साहजनक रहेकोसमेत बताउनुभयो । ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख ९ गतेसम्म पनि आफूलाई निर्वाचन सार्न प्रस्ताव गरेको दाबी पनि गर्नुभयो । उहाँले आफ्नो अस्वीकारले सहमति नमिलेपछि चुनाव तोकिएकै समयभित्र भएको धारणा राख्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख ९ गते मलाई स्थानीय निर्वाचन पर सारौँ भन्ने औपचारिक प्रस्ताव पठाउनुभएको थियो । धाक लगाउने कुरा होइन, मैले अस्वीकार गरेर देशलाई द्वन्द्वतिर नधकेल्नुहोस्, अलोकतान्त्रिक बाटो नहिँड्नुस्, भनेर उहाँलाई राम्रैसँग खबर पठाएको थिएँ । निर्वाचन रोक्ने कुरामा सहमति हुन नसकेपछि र कानुनले बाध्यता भएपछि उहाँहरू तयार हुनुभएको हो । ९ गतेसम्म पर सारौँ भन्नुहुन्थ्यो । आज आफैँले शंकाको बीचमा भोट हाल्नुभयो होला नि भन्नुभएको छ तर शंका होइन, सप्रमाणको कुराबाहेक केही छैन । मैले यो कुरा भनेको थिइनँ ।’ प्रधानमन्त्री शेरबहादुर देउवाले ‘यो सरकारले चुनाव गराउँदैन’ भन्ने ओलीजीले पनि मतदान गर्नुभयो होला भनेर व्यंग्य गरेपछि अध्यक्ष ओलीले त्यसको जवाफ दिनुभएको हो ।
हार-जितलाई स्वाभाविक रूपमा लिनुपर्छ : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमा हुने हार-जितलाई स्वाभाविक रूपमा लिनुपर्ने बताउनुभएको छ । चितवनको भरतपुर महानगरपालिकामा मतदान गरेपछि दाहालले जितमा अनावश्यक हौसिने र पराजयमा पूरै निराश हुँदा लोकतन्त्र बलियो बन्न नसक्ने प्रतिक्रिया दिनुभयो । उहाँले मतदातालाई स्वतन्त्रतापूर्वक आत्मविश्वासको साथ निर्वाचनमा सहभागी हुन पनि आह्वान गर्नुभयो अध्यक्ष दाहालले मुलुक अप्ठ्यारोमा परेको अवस्थामा गठबन्धन भएको बताउनुभयो । उहाँले आमनेपाली जनताले गठबन्धनको महŒव राजनीतिक स्थायित्व र विकास रूपमा लिनुपर्ने बताउनुभयो । दाहालले आफूले चितवनमा दिएको अभिव्यक्ति तोडमरोड गरिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । निर्वाचन प्रचारका क्रममा दाहालले चितवनमा मतदातालाई धम्क्याएको आरोप लागेको थियो । उहाँले भन्नुभयो, ‘मैले हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान्छ भनेको होइन । मेरो भनाइ तोडमोड गरियो । हँसिया हथौडामा नहाले, रेनुलाई भोट नहाले देश दुर्घटनामा जाने भनेकै होइन । मैले जनतालाई धम्क्याउने र घुक्र्याउने भन्ने हुँदैन ।’
नसोचेको परिणाम आउँछ : नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यसपटकको निर्वाचनमा नसोचेको परिणाम आउने दाबी गर्नुभएको छ । गौरस्थित रामजानकी कन्या विद्यालयबाट शुक्रबार मतदान गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीका साथै गठबन्धनले रौतहटसँगै देशभर नै उत्साहजनक रूपमा परिणाम ल्याउने दाबी गर्नुभयो । यस्तै, उहाँले एक फरक प्रसंगमा स्थानीय तहको निर्वाचनमा पैसाको चलखेल भएको दाबी गर्नुभएको छ । उहाँले मतदाता प्रभावित पार्न पैसा बाँडिएको र त्यसलाई रोक्न निर्वाचन आयोग असफल भएको बताउनुभएको हो ।
यो जनताको नेतृत्व नवीकरणको ऐतिहासिक अवसर : खनाल
स्थानीय तह निर्वाचन जनताले आफ्नो नेतृत्व नवीकरण गर्ने ऐतिहासिक अवसर भएको पूर्व–प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले बताउनुभयो । पूर्व-प्रधानमन्त्री खनालले इलाममा मतदान गरेपछि उक्त प्रतिक्रिया दिनुभएको हो । उहाँले इलामको सूर्योदय नगरपालिका-३ पान्दाममा रहेको केन्द्रबाट मतदान गर्नुभएको थियो । नेपालमा अहिले पनि लोकतान्त्रिक व्यवस्था कलिलो रहेको खनालको भनाइ थियो । स्थानीय तहहरूमा निर्वाचित भएर आउने जनप्रतिनिधिले कृषि, पर्यटन, रोजगार, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रलाई प्राथमिकता दिनुपर्ने खनालले बताउनुभयो ।
मतदान गोप्य हुनुपर्छ भन्ने छैन : भट्टराई
पूर्व–प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त नरहेको दाबी गर्नुभएको छ । आफूले गरेको गोप्य मतदान सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि विवादमा तानिएकाले त्यसबारे प्रष्ट पार्नुभएको हो । उहाँले सामाजिक सञ्जालमार्फत प्रष्टीकरण दिँदै लेख्नुभएको छ, ‘लोकतन्त्रको आधार भनेको व्यक्तिले आफ्नो विचार र मत खुला रूपमा व्यक्त गर्न र प्रचारप्रसार गर्न पाउनु हो । मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुँदैन । गोप्य मतदान भनेको कसैले आफ्नो मत गोप्य राख्न चाहन्छ भने उसलाई त्यो छुट दिने भनेको हो । तर, कसैले खुला गर्छ भने रोक्ने भनेको हैन ।’ यद्यपि, उहाँले गरेको कार्य कानुनविपरीत भएको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । चित्तबुझ्दो जवाफ नदिए कानुनअनुसार कारबाही गर्ने आयोगको तयारी छ । उहाँले गोरखाको पालुङटार नगरपालिका-१ स्थित अन्नपूर्ण माविको मतदान केन्द्रमा मतदान गर्नुभएको थियो उहाँले आफूले गरेको मतपत्रसमेत सार्वजनिक गर्नुभएको थियो । गोप्य हुने भनिएको मतदानको मतपत्र नै सार्वजनिक गरेपछि उहाँको चौतर्फी आलोचना भएको थियो ।
इमानदार मान्छेहरू नेतृत्वमा आउनेछन् : लिङ्देन
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले यो निर्वाचनबाट इमानदार मान्छेहरू नेतृत्वमा आउने दाबी गर्नुभएको छ । झापाको हल्दिबारी गाउँपालिका-१ को कार्यालय रहेको केन्द्रबाट मतदानपश्चात् संक्षित प्रतिक्रिया दिँदै यस्तो बताउनुभएको हो । लिङ्देनले विकाश, समृद्धि र सुशासनका लागि जनताले राप्रपालाई मतदान गरेको बताउनुभयो । उहाँले राप्रपाप्रति देशैभरि आम जनताको विश्वास र उत्साह रहेको जिकिर गर्नुभयो ।
एनसेलको गैरकानुनी सेवा विस्तारमा उद्योग
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच