‘भोट गरेपछि जनप्रतिनिधिलाई खबरदारी गरौं’

Read Time = 7 mins

काठमाडौं । शुक्रबार स्थानिय तहको निर्वाचन सकिएसँगै त्यसै रातिबाट मतगणना भइरहेको छ । केही जिल्लामा मतगणना सकिए पनि अधिकांश स्थानमा भने मतगणना जारी छ ।

यसैबीच कलाकार पनि मुलुकका विभिन्न स्थानमा आफ्नो गृह जिल्लामा पुगेर मतदान गर्नुभयो । काठमाडौं उपत्यकालाई कर्मथलो बनाउनुभएका कलाकार बुधबार त कोही बिहीबारसम्म गृहजिल्ला पुगेर मतदान गर्नुभएको थियो भने कतिपय फर्कने क्रममा हुनुहुन्छ । कलाकारले मतदान गरिसकेपछि विभिन्न सन्देश प्रवाह गर्नुभएको छ । आफ्नो गाउँठाउँको विकासका लागि आफूले मतदान गरेर चुनेको प्रतिनिधिले सही ढंगले काम गरोस् भन्दै आआफ्नो ठाउँबाट खबरदारी गर्नुपर्ने कलाकारको धारणा छ ।

अभिनेता राजेश हमालले काठमाडौंको लैनचौरस्थित कन्या हाइस्कुलको केन्द्रबाट मतदान गर्नुभयो । बिहान मतदाताको लाइनमै लागेर उहाले आफ्नो मत दिनुभएको हो । अभिनेता हमालले एकछिन मतपत्र अध्ययन गरेरमात्र भोट दिएको बताउनुभयो । साथै उहाँले भोट हालिसकेपछि चुप लागेर बस्न नहुने बताउनुभयो । उहाँले भन्नुभएको छ, ‘जनमानसलाई यो भन्न चाहन्छु कि, हामीले मतदान गरेर आफ्नो कर्तव्य पूरा गरिसकेपछि जनप्रतिनिधिले सही काम गरे वा गरेनन् भनेर हरदम खबरदारी गरिरहनुपर्नेछ । औंला ठड्याइरहनुपर्नेछ । जनसमुदायको सहभागिता अनन्त कालसम्म जारी रहनेछ ।’

यस्तै हमालले आगामी पाँच वर्षपछिको निर्वाचनमा राजनीतिमा आउन पनि सकिने भनाइ राख्नुभयो । आगामी पाँच वर्षपछिको राजनीतिमा आउनुहुन्छ कि नाई ? भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ, ‘भविष्यवाणी त म के गरौं ? तर सकिँदैन भन्न पनि सकिँदैन ।’

यस्तै अभिनेत्री करिश्मा मानन्धरले पनि शीतल निवास अगाडि रहेको केन्द्रमा स्थानीय तह निर्वाचनमा मतदान गर्नुभयो । भोट हाल्न पति विनोद र छोरी कवितासँगै पुग्नुभएकी करिश्माको स्थायी बसोबास ललितपुर गोदावरीमा भए पनि काठमाडौंको लाजिम्पाटबाट मतदान गर्दै आउनुभएको छ । आफूले काठमाडौंको मेयरमा एमाले उम्मेदवार केशव स्थापित र उपमेयरकी उम्मेदवार सुनिता डंगोललाई मतदान गरेको उहाँले बताउनुभयो ।

‘म एमालेमा नभए पनि स्थापितजीलाई नै भोट हाल्थें’ केही महिनाअघि एमाले प्रवेश गर्नु भएकी करिश्माले भन्नुभयो, ‘छोरी र विनोदजीलाई मैले यसमा हाल्नुस् भनेर भनिनँ ।’ मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको प्रशंसा गर्दै करिश्माले उहाँ जोशसहितको युवा भएको बताउनुभयो । बालेनजस्तै युवा राजनीतिमा आउनुपर्ने बताउँदै करिश्माले युवालाई राजनीतिमा स्थान दिनुपर्ने बताउनुभयो ।

हाँस्य मतदान गर्नुभएका अभिनेता हरिवंश आचार्यले सही जनप्रतिनिधि नहुँदा विकासले गति लिन नसकेको भन्दै हरेक नागरिकले आफ्नो अधिकारको प्रयोग गरेर हाम्रोभन्दा पनि राम्रो मान्छे मनोनयन गर्न सकियो भने स्थानीय क्षेत्रमा आइपर्ने दैनिक समस्या हल गर्न सहज हुने बताउनुभयो । उहाँले भन्नुभएको छ, ‘भौतिक पूर्वाधार, बाटोघाटो निर्माण हुने साथै खानेपानीको समस्या, फोहोरमैलाको समस्यामा समाधान गर्ने भूमिका खेल्न सक्छन् । स्थानीय निर्वाचनले देश सफा राख्ने, भ्रष्टचारलाई निर्मूल गर्ने काममा राम्रो भूमिका खेलोस भन्ने लाग्छ ।’
यस्तै उहाँले पछिल्लो समय कलाकर्मी, सेलिब्रिटीहरू पनि अहिले राजनीतिमा आइरहेको प्रसंगमा भन्नुहुन्छ, ‘राजनीतिमा आउन चाहनु आफ्नो अधिकार हो । काम गर्छु भन्ने लक्ष्यका साथ राजनीतिमा आउनुभएको छ राम्रै हो । तर, म लोकप्रिय छु मलाई फाइदा हुन्छ भन्ने हिसाबले आउनु हुँदैन ।’

उहाँले आफूले जानेको काम आफ्नै क्षेत्रमा गरियो भने बढी काम लाग्नसक्ने र अन्य क्षेत्रमा काम नलाग्न सक्छ भन्ने तर्क दिनुभयो । उहाँले आफूले सकेको काम गरौं भन्दै अघि भन्नुभयो, ‘कसैलाई म राजनीतिमा गएर परिवर्तन गर्न सक्छु, जनताको सेवा गर्न सक्छु भनेर कुनै सेलिब्रेटीले इच्छा राख्यो भने राजनीति गर्न पाइन्छ । यो अधिकारको कुरा हो ।’

यस्तै लोकप्रिय नायिका आँचल शर्माले काठमाडौंको चावहिल सरस्वतीनगरबाट मतदान गर्नुभयो । आँचलले यसपालिको भोट हाम्रोलाई हैन राम्रोलाई भन्दै सन्देश प्रवाह पनि गर्नुभएको छ । उहाँले माइतीतर्फको परिवारसहित पुगेर मतदान गर्नुभएको हो ।

अभिनेत्री रेखा थापाले चावहिलस्थित पशुपति बहुमुखी क्याम्पसको केन्द्रबाट मतदान गरेपछि चुनाव जितिसकेपछि जनतासामु नाकमुख नै नदेखाउने नेताहरूको प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनु भयो । राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य समेत रहनु भएकी रेखाले यसपटक जनप्रतिनिधि छान्ने कार्यमा हरेकले बुझेर मतदान गर्नुहुन्छ भन्ने लागेको भन्दै भन्नुभयो, ‘सही जनप्रतिनिधि छान्ने र उनीहरूले सही काम गर्ने हो भने देशको मुहार फेरिन्छ ।’

उहाले जनतालाई मालिक भन्ने गरिएको भए पनि यो व्यवहारमा भने लागू नभएको बताउनुभयो । रेखाले नेताहरूको चरित्र सुधार्न जनताले मतपेटिका नै खाली गरिदिन पछि हट्न नहुने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?