लिभरपुल एफ कप च्याम्पियन

Read Time = 3 mins

लन्डन । लिभरपुलले एफए कपको उपाधि उचालेको छ । टाइब्रेकरमा चेल्सीलाई ६-५ ले पराजित गर्दै लिभरपुल च्याम्पियन बनेको हो । लिभरपुलको जितमा गोलरक्षक एलिसन बेकर नायक बन्नुभयो । बेम्बली स्टेडियममा शनिबार राती भएको खेलको निर्धारित र थप गरिएको अतिरिक्त समयमा कुनै गोल ननिस्किएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । जसमा लिभरपुलले बाजी मार्‍यो ।

लिभरपुलका जेम्स मिल्नर, थियागो अलकान्तरा, रोबर्टाे फिर्मिनो, ट्रेन्ट एलेक्सान्डर आर्नाेल्ड, डिएगो जोटा र कोन्सटाटिनोस टिसिमिकासले गोल गर्दा साडियो माने गोल गर्न सफल हुनुभयो । चेल्सीका मार्काेस अलन्सो, रिस जेम्स, रोस बार्कले, जर्गिन्हो र हाकिम जियाचले गोल गर्दा सेसर एज्पिलिक्वेटा र मासन माउन्टका अघि एलिसन बेकर बाधक बन्नुभयो ।

एलिसनले चेल्सीको दोस्रो पेनाल्टीमा सेसर एज्पिलिक्वेटा र सातौँ पेनाल्टीमा मासन माउन्टको प्रहारलाई बचाउनुभएको थियो । अर्कातिर लिभरपुलका साडियो माने पाँचौँ पेनाल्टीमा चुक्नुभएपछि टाइब्रेकर रोमाञ्चक बनेको थियो । त्यसपछि लिभरपुलले लगातार दुई गोल गर्दा चेल्सीका अघि भने लिभरपुलका गोलरक्षक बेकर बाधक बन्नुभयो ।

लिभरपुलको यस सिजनमा यो दोस्रो उपाधि हो । लिभरपुलले यसअघि लिग कपको उपाधि जितिसकेको छ । यसबाहेक लिभरपुल प्रिमियर लिगको उपाधि नजिक रहेको छ भने च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरिसकेको छ ।

चेल्सी भने लगातार तीन सिजन फाइनल पुगे पनि उपाधिबाट वञ्चित बन्यो । गत सिजन चेल्सी लेस्टर सिटीसँग तथा त्योभन्दा अघि आर्सनलसँग पराजित भएको थियो ।

खेलपछि लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले खुशी व्यक्त गर्नुभयो । उहाँले थपिएको समयमा पनि गोल ननिस्किदा चिन्तित बनाएको भन्दै अन्त्यमा ट्रफी हात लाग्दा निकै खुशी भएको बताउनुभयो । ‘१२० मिनेटको संघर्षमा पनि हामीले गोल निकाल्न सकेनौँ तर भित्री मनमा मलाई कहीँ न कहीँ उपाधि हामीले जित्छौँ भन्ने लागेको थियो । चेल्सीले पनि हामीलाई निकै चुनौती दियो तर मानसिकरूपमा हाम्रा खेलाडीहरूले बाजी मार्नुभयो । पेनाल्टी हाम्रो पक्षमा रहनु सुखद भयो,’ उहाँले भन्नुभयो, ‘यो सिजनको दोस्रो उपाधि हो । बाँकी उपाधिका लागि पनि हामी यही जोसजाँगरका साथ खेल्नेछौँ ।’ एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?