स्थानीय निर्वाचनमा जनचाहनाको प्रतिबिम्बन

Read Time = 6 mins

स्थानीय निर्वाचनका प्राप्त पछिल्ला परिणामले केही फरक खालका सन्देश दिन खोजेको देखिएको छ । दलीय प्रणालीमा दलहरूको सर्वोपरी वर्चस्व रहेको हुन्छ । दलका प्रतिनिधि वा उम्मेदवारहरूको निर्विवाद प्रतिनिधित्व रहेको हुन्छ तर सिद्धान्त र यथार्थमा फरक खालको परिणति पनि देखिने गर्छ भन्ने कुरा यस पटकको स्थानीय तहको निर्वाचनको प्राप्त भइरहेको परिणामले संकेत गरेको छ । यस्तो परिणाम आउला भन्ने दलहरूले सोचेका थिएनन् होला । परिणाम फरक खालका आइरहेका छन् । सरकारमा रहेका दलहरूले स्थानीय निर्वाचनमा जानका लागि पनि गष्ठबन्धन गरेका थिए । तर, जहाँ-जहाँ जुन-जुन दलको उपस्थिति राम्रो थियो ती ती ठाउँहरूमा तिनले अरूलाई समावेश गर्न चाहेनन् र एक्लाएक्लै चुनावमा उम्मेदवारी दिए ।

त्यस्ता ठाउँहरूमा ती दलहरू विजयी भएका परिणाम प्राप्त भइरहेका छन् । केही ठाउँमा नेकपा माओवादी केन्द्र एक्लै निर्वाचित भएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी पनि केही ठाउँमा विजयी भएको छ । यसबाट ठूला भनिएका दुई पार्टीबाहेकका अन्य पार्टीको अस्तित्वलाई समेत जनताले अस्वीकार गरेका छैनन् भन्ने देखिन आएको छ । केही ठाउँहरू ती पार्टीको पकडमा अझैसम्म रहेका छन् भन्ने यसबाट प्रमाणित हुन आउँछ । यसका साथै नेकपा एमालेबाट फुटेर गएको नयाँ पार्टी नेकपा एमाले समाजवादीले पनि केही ठाउँमा विजय हासिल गरेको छ र केही ठाउँमा अग्र स्थानमा छ । यसबाट नयाँ शक्तिलाई समेत जनताले स्वीकार गरेका छन् भन्ने अर्थ लगाउँन सकिन्छ ।

यतिमात्र होइन यस पटकको निर्वाचनमा मिश्रित खालको परिणाम पनि आइरहेको छ । केही ठाउँमा वडा अध्यक्ष एउटा पार्टीको र सदस्यहरू अर्को पार्टीको पनि आएका छन् । यसले गर्दा स्थानीय तहमा जनताले पार्टीलाई भन्दा पनि व्यक्तिलाई हेरेका हुन् कि भन्ने जस्तो देखिएको छ । हुन पनि साधारण मतदातालाई त पार्टीभन्दा पनि आफ्नो गाउँठाउँको मानिस र परेका बेला आफ्नो काम गरिदिने मानिस नै चाहिएको हुन्छ । त्यसैको प्रकटित अवस्था हो यो निर्वाचन र यसको परिणाम । यसभन्दा पनि अझै राम्ररी जनताले स्वातन्त्र उम्मेदवारलाई मत दान गरी दलहरूप्रतिको वितृष्णा प्रकट गरेका छन् । केही ठाउँमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् र केही स्थानमा तिनको अग्रता छ । यसबाट दलहरूप्रतिको वितृष्णा जनताले त्यहाँ खन्याएका हुनसक्छन् भन्ने अनुमान गर्न सकिन्छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा एकजना कलिलो उमेरकी युवतीलाई अत्यधिक मत दिएर काठमाडौ महानगरवासीले दलप्रतिको वितृष्णा प्रकट गरेका थिए जसको कारण नेपाली कांग्रेसका मत काटिएर नेपाली कांग्रेसका उम्मेदवार पराजित भएका थिए र अहिलेको परिस्थिति पनि त्यस्तै प्रकारको छ । स्वतन्त्र रूपमा उम्मेदवारी दिएका बालेन्द्र शाहले धेरै मत ल्याउने आकलन गरिएको छ । उनले जति धेरै मत ल्याउँछन् त्यति नै बढी नेपाली कांग्रेसका मत काटिन्छन् । किनभने कम्युनिष्ट पार्टीका प्रतिबद्ध मत हुन्छन् र ती अरू पार्टी वा स्वतन्त्रलाई जाँन्दैनन् । त्यसैले बालेन्द्र शाह जित्लान् वा नजित्लान् तर उनले काट्ने अत्यधिक मत संख्या भने नेपाली कांग्रेस संबद्ध मतदाताहरूकै हो ।

बालेन्द्रका पक्षमा अत्यधिक युवा वर्ग लागेको देखिएको छ । उनीहरूमध्ये धेरैजसो राजनीति नबुझेर एकजना कलाकार भनेर उनको पछिपछि लागेका होलान् तर सबै युवाले राजनीति बुझेका छैनन् भन्ने होइन । केही युवाहरू राजनीतिमा चासो राख्ने पनि होलान् र यति धेरै युवाहरूमध्ये केही त राजनीतिक परिवारका पनि होलान् । तर, उनीहरू किन स्वतन्त्र उम्मेदारका पक्षमा लागे भन्ने प्रश्न अहम् हो । जे होस् नेपालको राजनीतिको मियोका रूपमा नेपाली कांग्रेस पार्टी नै रहँदै आएको छ र यससँगसँगै वरिपरि नेकपा एमाले घुसिमरहेको छ भन्ने प्रमाणित भने यस निर्वाचनको जारी मतपरिणामले पुष्टि गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?