टेबलटेनिसका पदक विजेतालाई राखेपको बधाई

Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले दक्षिण एसियाली क्याडेट तथा जुनियर टेबलटेनिस प्रतियोगिताका पदक विजेता खेलाडीसहितको टोलीलाई सोमबार स्वागत गर्नुका साथै बधाई दिनुभएको छ ।

त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षामा आयोजित एक कार्यक्रमबीच सदस्य–सचिव घिसिङले टोलीलाई खादासहित मायाको चिनो प्रदान गर्दै आगामी दिनमा अझ सफलताका लागि शुभकामना दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य-सचिव घिसिङले खेलाडीले आफ्नो कमजोरीलाई सुधार गर्दै आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा अझ गर्विलो उपलब्धि हासिल गर्न अझ मिहिनेत गर्नुपर्नेमा जोड दिनुभयो ।
माल्दिभ्सको मालेमा वैशाख २६ देखि २८ गतेसम्म भएको प्रतियोगितामा नेपालले १ रजत र २ कास्य पदक जितेको थियो । नेपालबाट चार पुरुष र तीन महिला गरी सात खेलाडी सहभागी थिए । सबै पदक जित्न सफल हुनुभएको थियो ।

क्याडेट गल्र्स टिम इभेन्टमा इभाना थापा मगर, वियांका राई र शुभश्री श्रेष्ठले नेपाललाई रजत दिलाउनुभयो । नेपालसहित ६ राष्ट्र सहभागी उक्त स्पर्धाको सेमिफाइनलमा नेपालले श्रीलंकालाई पराजित गर्दै भारतसँग स्वर्ण भिडन्त पक्का गरेको थियो । फाइनलमा भने भारत विजयी भयो ।

जुनियर ब्वाइज टिममा संयोग कपाली, रुविन महर्जन र प्रिन्स थापाले कास्य जित्नुभएको थियो । क्याडेट ब्वाइज डबल्समा प्रिन्स थापा र उज्ज्वल मानन्धरको जोडीले कास्य प्राप्त गर्‍यो । राउन्ड रोविन लिगका आधारमा भएको दुवै स्पर्धामा नेपालसहित पाँच राष्ट्रले भाग लिएका थिए । प्रिन्स बुटवलमा भएकाले कार्यक्रममा उपस्थित हुन सक्नुभएन ।

टोलीको नेतृत्व अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले गर्नुभएको थियो । व्यवस्थापनमा टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्य तथा प्रशिक्षकमा शंकर गौतम र मोहनदास वासुकला रहनुभएको छ । कम्पिटिसन म्यानेजरमा तेजेन्द्रसिंह महरा हुनुहुन्थ्यो । नेपाली टोली वैशाख २९ गते स्वदेश फर्किएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?