सुरक्षा कान्सको रेड कार्पेटमा हिँड्ने

Read Time = 3 mins

काठमाडौं । नेपालमा निर्माण हुने ठूला चलचित्र अथवा लघुचलचित्रहरू अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रायः कमै छनौट भइरहेका हुन्छन् । त्यसो त पछिल्लो समय केही छोटा चलचित्र फेस्टिभल टार्गेट बनेपछि केही वर्षअघिसम्म यो प्रचलन खासै थिएन ।

यसैक्रममा विश्वप्रख्यात फिल्म फेस्टिभल ‘कान्स फिल्म फेस्टिभल’को विश्वभर खुवै चर्चा हुनेगर्छ । यस फेस्टिभलमा छनौट हुने आशाले नेपालमा थुप्रै चलचित्र बन्ने गरेका छन् । यसैक्रममा नेपाली अभिनेत्री सुरक्षा पन्त यसै ‘कान्स फिल्म फेस्टिभल’को रेड कार्पेटमा हिँड्ने पहिलो नेपाली कलाकार बन्ने हुनुभएको छ । उहाँ कान्स फिल्म फेस्टिभल २०२२ मा उपस्थित हुन मंगलबार फ्रान्सका लागि उड्नुभयो ।

अभिनेत्री पन्तले अभिनय गरेको अन्तर्राष्ट्रिय चलचित्र ‘द एट माउन्टेन्स’ कान्सको मुख्य प्रतिस्पर्धामा छानिएको हो । उक्त चलचित्र छनोटमा परेपछि उहाँलाई कान्सबाट फेस्टिभलमा सहभागी हुन निम्तो आएपछि उहाँ कान्स फिल्म फेस्टिभलका लागि फ्रान्स लाग्नुभएको हो ।

मंगलबार फ्रान्सका लागि उड्नुअघि हिमालय टाइम्ससँग कुरा गर्ने क्रममा खुशी साट्दै सुरक्षाले भन्नुभयो । ‘द एट माउन्टेन्स नेपालको मनाङमा सुटिङ भएको थियो । त्यो बेलामा उक्त चलचित्रमा अभिनय गर्ने मौका पाएकी थिएँ । विशेषगरी उहाँहरूलाई नेपाली पात्रको रूपमा एकजना नेपाली कलाकार चाहिएको थियो र त्यहाँ मैले मौका पाएकी हुँ ।’

‘द एट माउन्टेन्स’ सोही नामको अवार्ड जित्न सफल उपन्यासमा आधारित चलचित्र हो । यस चलचित्रलाई बेल्जियमका निर्देशकद्वय फिलिक्स भ्यान ग्रोनिगेन र शार्लोट भ्यान्डामेर्शले निर्देशन गर्नुभएको हो ।

अभिनेत्री पन्तका अनुसार उक्त चलचित्रको स्क्रिनिङ बुधबार साँझ हुँदै छ । कान्समा नेपालबाट अरू कलाकार तथा फिल्मकर्मी गैसके पनि कान्सबाट अफिसियल निमन्त्रणा आएर रेडकार्पेटमा नै हिँड्ने सुरक्षा पहिलो नेपाली कलाकार हुनुहुन्छ । केही वर्षअघि प्रियंका कार्की पनि कान्समा जानुभएको थियो । तर, उहाँलाई कान्सको अफिसियल निमन्त्रणामा भने थिएन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?