श्रीलंकामा बाढीका कारण सयौं परिवार प्रभावित

Read Time = 3 mins

कोलम्बो । आर्थिक अवस्थाका कारण केही महिनादेखि नै संकटपूर्ण रहेको श्रीलंकामा बाढीको कहरका कारण थप संकट थपिएको छ । शनिबारदेखि जारी रहेको अविरल वर्षाका कारण सयौं परिवार प्रभावित भएका छन् । राजधानी कोलम्बोबाट दक्षिणमा रहेको रतन पूरा जिल्लामा बाढीको प्रकोप बढी देखिएको छ । बाढीमा परेर ६ सयभन्दा बढी परिवारका दुई हजार २९० जना विस्थापित हुन पुगेका छन् ।

मौसमसम्बन्धी अधिकारीले वर्षा अझै जारी रहने भएकाले सतर्कता अपनाउन भनेका छन् । सो जिल्लाका ८२ भन्दा बढी घर भत्किएका छन् भने अरू भौतिक संरचनामा पनि बाढीले क्षति पु¥याएको छ । श्रीलंकाका लागि अहिले कठिन समय रहेको प्रधानमन्त्री रनिल विक्रमासिंघेले बताउनुभएको छ । उहाँले देशको आर्थिक अवस्था केही महिनादेखि नै संकटपूर्ण रहेको र त्यो अवस्था दिन प्रतिदिन बिग्रिँदै गएको भन्दै यस्तो परिस्थितिमा सबैले आपसमा मिलेर काम गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले सोमबार साँझ एक सन्देशमा भन्नुभएको छ, यतिखेर देश निकै नै अप्ठेरो अवस्थामा छ, हामी सबैले यस्तो अवस्थामा मिलेर काम गर्नुपर्ने अवस्था छ । केही दिनअघि राष्ट्रपति गोटावाय राजापाक्षले रनिल विक्रमासिंघेलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । नवनियुक्त प्रधानमन्त्री विक्रमासिंघेले चाँडै नै मुलुकको आर्थिक तथा राजनीतिक संकट समाधानको खाका तयार पार्ने अठोट व्यक्त गर्नुभएको छ । दक्षिण एसियाली मुलुक यतिखेर आर्थिक तथा राजनीतिक संकटमा गुज्रिएको छ ।

यसैबीच श्रीलंकाली राष्ट्रपति गोताबया राजपाक्षेले चार मन्त्री नियुक्त गर्नुभएको छ । रनील विक्रमासिंघेलाई प्रधानमन्त्रीमा नियुक्त गरेको तीन दिनपछि राष्ट्रपति राजपाक्षेले चार मन्त्री नियुक्त गर्नुभएको हो । नयाँ मन्त्रीमा जिएल पेरिस (परराष्ट्र), दिनेश गुनवर्देना (सामान्य प्रशाशन), प्रसन्न रानातुंगा (शहरी विकास) र कन्चना विजेसेकरा (ऊर्जा) हुनुहुन्छ । पेरिस अघिल्लो सरकारमा पनि परराष्ट्रमन्त्री हुनुहुन्थ्यो । सन् १९४८ मा बेलायतको उपनिवेशबाट मुक्त भएयता श्रीलंकाले सबैभन्दा ठूलो आर्थिक संकट व्यहोरिरहेको बताइएको छ । एजेन्सी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *