आकासिएको महँगीले निराश गृहिणीहरू

Read Time = 9 mins

विवेक खड्का/हिटा
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-१७ फोर्टिनाइनकी पार्वती पौडेल गोलभेडाको भाउ प्रतिकिलो एक सय रुपैयाँ पुगेको भन्दै जिब्रो टोक्नुहुन्छ । केही साताअघि मात्र तीन किलोको एक सय रुपैयाँ तिरेको बताउनुहुने पार्वती अहिले प्रतिकिलो तेब्बर मूल्यवृद्धि भएको गुनासो गर्नुहुन्छ । तुलसीपुर उपमहानगरपालिका-१८ की गृहिणी देवा केसीलाई खाने तेलको भाउले पिरोलेको छ । महिनैपिच्छे पाँच/पाँच लिटरका दरले खाने तेल किन्ने देवा पछिल्लो चार महिनायता हरेक पटकको खरिदमा कम्तीमा पाँच लिटरमा एकसय रुपैयाँभन्दा कम मूल्यवृद्धि भएको छैन । अघिल्लो महिना उहाँले पाँच लिटर तोरीको तेलको स्थानीय मिलमा एक हजार सात सय रुपैयाँमा खरिद गर्नुभएको थियो । तर, एक महिनाकै अवधिमा यो मूल्यवृद्धि भएर दुई हजार एक सय रुपैयाँ पुगेको छ ।

स्थानीय तोरीको तेलमा मात्र होइन, आयातित सोयाबिनको तेल पनि दुई सय रुपैयाँ प्रतिलिटरबाट तीन सय रुपैयाँ प्रतिलिटर पुगेको देवाले बताउनुभयो । पसलेहरूले उतैबाट महँगिएर आएको बताउँदै आएका छन् । तुलसीपुर-१८ कै जनप्रतिनिधि धनबहादुर बस्नेतले पनि तेलदेखि चामलसम्मको मूल्य बढेको बताउनुभयो । सबै उपभोग्य सामानको मूल्य इन्धनको मूल्यवृद्धिका कारण भएको र स्थानीय सरकारले यसलाई सन्तुलनमा ल्याउन नसक्ने पनि उहाँको अभिव्यक्ति थियो ।

खाने तेल मात्र होइन, स्थानीय उत्पादन मन्सुली चामलको मूल्य पनि प्रतिकिलो ८० रुपैयाँबाट बढेर दुई महिनाको बीचमै प्रतिकिलो ९० रुपैयाँ पुगेको तुलसीपुर-१७ की गृहिणी पुष्पा रिजालको भनाइ छ । सुक्खा मौसमको सुरुआतसँगै हरियो तरकारीको भाउ पनि छोइसक्नु छैन । गत वर्ष यो समयमा देउखुरीको हरियो तरकारी बोडी, भाण्टा, तितेकरेला, लौका, भिण्डी प्रतिकिलो ३० देखि ४० रुपैयाँको हाराहारीमा उपभोक्ताले पाउथे, तर यसपालि हरियो तरकारीको भाउ प्रतिकिलो एक सय रुपैयाँभन्दा कम छैन । यसले सबैभन्दा बढी भान्सामा काम गर्ने गृहिणीहरूलाई अत्यासलाग्दो बनाएको छ । महँगीले भान्सामा मन जान छाडेको छ, गृहिणीको । महँगो भान्साले मन दुखाएको छ, उनीहरूको ।

डिजेलको भाउ प्रतिलिटर १४३ पुग्दा टमाटर प्रतिकिलोको मूल्य एक सय रुपैयाँ पुगेको छ । तेल चामलमा मात्र होइन, नेपालमै उत्पादन भएका जंकफुडमा पनि कम्तीमा १५ प्रतिशतसम्म मूल्यवृद्धि भएको पुष्पाले बताउनुभयो । तरकारीको मूल्य पनि अत्यधिक वृद्धि भएको छ ।

हरियो तरकारीसँगै लसुन, प्याजसम्मको मूल्य अत्यासलाग्दो रूपमा वृद्धि भएकाले गृहिणीहरूले भान्सा उतार्न गाह्रो भएको बताएका छन् । लसुनको मूल्य प्रतिकिलो पाँच सय रुपैयाँ पुगेको छ । यसअघि १५० रुपैयाँ प्रतिकिलोमा उपभोक्ताले पाउँथे । प्याजको मूल्य प्रतिकिलो ८० रुपैयाँ त बोडी, भिण्डी र तिते करेलाको प्रतिकिलो मूल्य दुई सय रुपैयाँ पुग्दा उपभोक्ताहरू महँगीको मारमा प्रताडित भएका छन् ।

अघिल्लो वर्ष यही सिजनमा बोडी, भिन्डी, तितेकरेला लगायतका हरियो तरकारी प्रतिकिलो ३० रुपैयाँदेखि ४० रुपैयाँसम्म पथ्र्यो । टमाटरको मूल्य पनि एक महिनाकै अवधिमा ३० रुपैयाँ प्रतिकिलोबाट वृद्धि भएर प्रतिकिलो ७० रुपैयाँसम्म पुगेको तरकारी व्यवसायी शंकर रेग्मीले हिमालय टाइम्सलाई बताउनुभयो । स्थानीय उत्पादन नै अझै नआइसकेको तथा बाहिरी जिल्लाबाट मगाउनुपर्ने भएकाले तरकारीको मूल्य अत्यधिक बढेको रेग्मीको भनाइ छ । भान्साका सामान मात्र होइन, निर्माण सामग्रीमासमेत अत्यधिक महँगी बढेकाले केही नागरिकले भौतिक निर्माणको योजनालाई नै थाती राखेका छन् । ‘यसै महिना नयाँ घरको जग बसाउने कार्यक्रम थियो, तर पसलमा सोचेअनुसारको साइजमा छड नै पाइएको छैन, पाए पनि निकै महँगो भएको छ’, तुलसीपुर-१७ झिंगैका मानबहादुर बस्नेतले भन्नुभयो, ‘केही महिनापछि मात्रै घर बनाउने योजना बनाएको छु ।’

निर्माण व्यवसायीहरूले पनि छडको अभाव र इन्धनको मूल्यवृद्धिसँगै ढुवानी भाडामा पनि वृद्धि भएका कारण हार्डवेयरका सबै सामानको मूल्य १० देखि २५ प्रतिशतसम्म बढेको बताएका छन् । त्यस्तै, सिमेन्टको मूल्य पनि ढुवानी भाडा बढेकै कारण प्रतिबोरा ४५ रुपैयाँसम्म महँगो भएको पनि हार्डवेयर व्यवसायीले बताएका छन् । ‘मूल्यवृद्धि मात्र होइन, खोजेको साइजमा फलामे छडसमेत बाहिरबाट आउन छाडेको छ’, तुलसीपुर उपमहानगरपालिका-१८ बिजौरीस्थित खड्का हार्डवेयरका सञ्चालक रेश्मीराज खड्काले भन्नुभयो ।

एक महिनाअघि प्रतिकिलो ९५ रुपैयाँमा बिक्री गर्ने छडको मूल्य बढेर प्रतिकिलो १३५ रुपैयाँ पुगेको खड्काले बताउनुभयो । हरेक निर्माण सामग्रीको मूल्य यसरी नै बढिरहँदा व्यापार व्यवसायसमेत उत्साहजनक नभएको खड्काले बताउनुभयो । त्यसैगरी, शौचालयमा प्रयोग गरिने पिभिसी पाइपमा समेत प्रतिपिस एक सय रुपैयाँ वृद्धि भएको छ ।

अर्थ विश्लेषकहरूले पछिल्लो एक महिनायताको मूल्यवृद्धिलाई रसिया-युक्रेन लडाइँको कारण भनेका छन् । युद्धको प्रभावले जहाँ जे उत्पादन भएका छन्, ती सामानलाई सहज रूपमा अन्यत्र निर्यातमा रोक लगाइएको छ । त्यसमा पनि पेट्रोलियम पदार्थको निर्यात रोक्दा यसको प्रत्यक्ष असर अन्य बजारमा पनि परेको छ । मूल्य वृद्धिको प्रमुख कारण ढुवानी भाडामा वृद्धि पनि भएको ती विश्लेषकले बताएका छन् ।

निर्माण व्यवसायीले फलामे छड बनाउन चाहिने आवश्यक आइरन र रसियालगायत समुद्रपारका मुलुकहरूबाट आउने, सनफ्लावर तेल पनि उतैबाट आउने तथा पेट्रोलियम पदार्थ पनि रसियालगायत मुलुकबाट आउने बताएका छन् । रसिया र युक्रेनबीच लगातार एक महिनादेखिको सशस्त्र युद्धको प्रभावले ती सामानहरूको अभाव हुन थालेको व्यवसायीको भनाइ छ । कतिपय व्यापारीहरूले सामानमा अंकित मूल्यभन्दा पनि बढी लिएर सामान बेच्ने गरेको पाइएको छ । यसमा स्थानीय सरकारबाट अर्थपूर्ण अनुगमन हुन सकेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?