शहरमा चुनावी चर्चा : काठमाडौंका गल्लीमा फोहोरको कथा

Read Time = 7 mins

डिबी शर्मा/हिटा
काठमाडौं । जेठको गर्मी । चर्को घाममा चुनावी सरगर्मी पनि त्यतिकै बढेको छ । चुनावी परिणामले देशभरको माहोल तातिएको छ । मतगणना सकिएका पालिकामा विजयोत्सवका र्‍यालीले गाउँ-शहर तातिएका छन् । नारा/जुलुस र जिन्दावादका नाराले गाउँ/शहर गुन्जिएका छन् । मतगणना जारी भएका ठाउँमा समर्थक/शुभेच्छुकको ढुकढुकी बढेको छ । चर्चा कसले जित्ला र हार्ला भन्नेमा छ । मतगणनास्थल वरिपरि बाक्लै चहलपहल हुन्छ ।

काठमाडौं महानगरपालिकाको मतगणना भृकुटीमण्डलस्थित राष्ट्रियसभा गृहमा भइरहेको छ । सभागृहमा विभिन्न उम्मेदवारका समर्थक र शुभेच्छुकको दैनिक भिड लाग्छ । अपेक्षाकृत मत नआएपछि स्थापित दलका समर्थकहरू फाट्टफुट्ट मात्रै सभागृह पुग्छन् । सुरुवातदेखि नै अग्रता बनाउनुभएका बालेन्द्र साह (बालेन)का समर्थकहरू भने सभागृहमा बाक्लै भेटिन्छन् । जिन्दावाद र हाई-हाईका नाराले सभागृह गुन्जिन्छ । अहिले सबैको ध्यान महानगरको मतगणनामा छ ।

तर, मतगणना भइरहेको सभागृहभन्दा थोरै अगाडि मदमोदय मोडनजिकै वाल्मीकि विद्यापीठ छ । विद्यापीठको बाहिर दैनिक फोहोरको रास लाग्छ । फोहोरको डंगुर पार भएर आउजाउ गर्नेहरू नाक थुन्दै हिँड्नुपर्ने बाध्यता छ । सोही बाटो भएर मतगणना भइरहेको सभागृहतिर जानेहरूका नजरमा पनि पक्कै फोहोर पर्छ होला । तर, चर्चा गणनाको हुन्छ, फोहोरको छैन ।

उसो त फोहोर थुप्रिएको त्यहाँ मात्रै होइन । काठमाडौंका विभन्नि सडक, चोक र गल्ली-गल्लीमा फोहोरको डंगुर थुप्रिएको हप्तौँ भयो । चोक र गल्लीमा थुप्रिएका फोहोरले महानगर दुर्गन्धित बनेको छ । महानगरपालिकाले वैशाख ११ देखि नै नियमित फोहोर उठाउन सकेको छैन । विगतमा छिटफुट उठाउने प्रयास भए पनि त्यसले निरन्तरता पाउन सकेन । फोहोर लैजाने सिसडोलमा भएको अवरोधका कारण फोहोर नियमित उठाउन नसकिएको महानगरपालिकाले जनाएको छ । नुवाकोटतर्फ जाने फोहोरका गाडीहरू स्थानीयको अवरोधका कारण जान सकेका छैनन् । सम्झौताअनुसार सडक कालोपत्रे गर्न आलटाल गरेको भन्दै विभिन्न ठाउँमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । उनीहरूको अवरोधका कारण फोहोर नियमित उठ्न नसकेको हो ।

उसो त अवरोध मात्रै होइन पानी पर्न थालेपछि फोहोर लैजान समस्या पर्छ । अहिले दैनिक प्रायः पानी परिरहेको छ । यसले पनि फोहोर लैजान समस्या हुने गरेको महानगरले जनाएको छ । तीन सातादेखि थुप्रिएको फोहोरले महानगर दुर्गन्धित बनेको छ । चर्को घाम र बेलाबेलामा परिरहने पानीले फोहोर कुहिएर बाटोमा हिँड्नै नसक्ने अवस्था बनेको छ । गर्मी याममा फैलिएको दुर्गन्धले कुन दिन महामारीको रूप लिन्छ भन्न सक्ने अवस्था छैन ।

महानगरपालिकाले केही समय पहिले कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न आग्रहसमेत गरेको थियो । घरमै फोहोर छुट्याएर राख्न महानगरले गरेको आग्रह कार्यान्वयनमा आउन सकेको छैन । कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गरेर नकुहिने फोहोर मात्रै सडकमा ल्याउनुपर्ने नत्र कारबाही गर्ने भन्दै सूचना निकाले पनि त्यो कार्यान्वयन हुन नसकेको हो ।

मानवीय र प्राकृतिक अवरोध भएन भने एक सातामा फोहोर उठिसक्छ : महानगर
महानगर वातावरण विभाग प्रमुख सरिता राईले काठमाडौंमा नियमित फोहोर उठ्न नसकेको बताउनुभयो । तर, फोहोर उठाउन ठप्प भने नभएको उहाँको भनाइ छ । बेलाबेलामा फोहोर उठाइरहेको उहाँले बताउनुभयो । वातावरण विभाग प्रमुख राईकै अनुसार कुनै अवरोध नभएमा अबको एक हप्ताभित्र मात्रै सडकमा थुप्रिएको फोहोर उठ्न सक्छ । ‘फोहोर नियमित उठ्न सकेको छैन । सोमबारबाट उठाउन थालेका छौँ । स्थानीय अवरोध गरिरहेकै छन् । अन्य वैकल्पिक बाटो प्रयोग गरेर उठाइरहेका छौँ,’ उहाँले भन्नुभयो, ‘मानवीय र प्राकृतिक रूपमा कुनै अवरोध भएन भने एक सातामा उठाइसक्छौँ ।’ उहाँले फोहोर व्यवस्थापनमा सबै गम्भीर बन्नुपर्ने बताउनुभयो ।

उपत्यकाका १८ स्थानीय तहको फोहोर विसर्जन गर्नका लागि दीर्घ समाधान हुन नसक्दा पटक-पटक समस्या उत्पन्न हुने गरेको छ । काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहोर नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन हँदै आएको छ । उक्त स्थान पनि भरिएपछि फोहोर व्यवस्थापनमा थप समस्या हुन थालेको हो । निजी र महानगरपालिका गरी दैनिक दुई सयभन्दा बढी टिपर/ट्रकले नुवाकोटको ककनी गाउँपालिका-२ को सिसडोल फोहोर लैजाने गर्छन् । दैनिक २५० टन फोहोर फाल्न मिल्ने सिसडोलमा अहिले दैनिक १५० ट्रकले एक हजार टनभन्दा बढी फोहोर फालिरहेका छन् । तीन वर्षमै निर्माण सम्पन्न गर्ने भनिएको बन्चरेडाँडा ल्याण्डफिल साइट १६ वर्षसम्म पनि नबन्दा उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?