स्थानीय तहको परिणाम हाम्रो लागि उत्साहजनक: वर्षमान पुन

Read Time = 3 mins

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले स्थानीय तह निर्वाचनको मत परिणाम आफ्नो पार्टीका लागि उत्साहजनक रहेको टिप्पणी गर्नु भएको छ ।
बुधबार नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा कुरा गर्दै नेता पुनले स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम माओवादी केन्द्रका लागि उत्साहजनक रहेको बताउनुभएको हो । उहाँले निर्वाचन परिणामले माओवादी केन्द्रको एजेण्डा जनताले रुचाएको पुष्टि भएको प्रतिक्रिया समेत दिनु भयो । नेता पुनले पार्टीको अपेक्षा अझै धेरै जित्ने भएपनि आन्तरिक मतभेदहरु मिलाउन नसकिएकाले अझ राम्रो हुन नसकेको बताउनुभयो ।
नेता पुनले स्थानीय तह निर्वाचनमा २५ प्रतिशत ठाउँमा मात्र गठबन्धन गरेको उल्लेख गर्दै गठबन्धन सफल भएको बताउनुभयो । केही ठाउँमा माओवादीलाई मत नहालिएको भएपनि धेरै ठाउँमा गठबन्धन सफल भएको उहाँको भनाई छ । गठबन्धनको औचित्य अझै रहेको भन्दै नेता पुनले प्रदेश र केन्द्रको निर्वाचनसम्म गठबन्धन जाने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘कतिपय ठाउँहरुमा नहालेको पनि देखियो । तर धेरैजसो ठाउँमा गठबन्धन सफल नै भएको छ । यो प्रतिगमनको विरुद्ध, लोकतन्त्र रक्षाको लागि, संविधानको रक्षाको लागि, देशलाई राजनीतिक स्थायित्वका लागि गरिएको गठबन्धन हो । यस अर्थमा यसको औचित्य अझैपनि छ । हामी एउटा निर्वाचनको लागि मात्रै गठबन्धन गरेको होइन । हामी प्रतिगमन रोक्न सफल छौँ । राजनीतिक स्थायित्वका लागि सफल छौँ । संविधानको रक्षाका लागि सफल छौँ । अहिले स्थानीय निर्वाचनमा मुलत्ः सफल भएको छ । हामी यो गठबन्धन अगाडी लैजान्छौँ । केन्द्र, प्रदेशमा पनि जान्छ गठबन्धन । अहिले खासमा त २५ प्रतिशत मात्रै हो गठबन्धन गरेको । त्यसैले हामीले यसलाई यही कारणले हारेको वा यही कारणले जितिएको भन्न मिल्दैन । पार्टीहरुका आ–आफ्ना स्ट्रेन्थहरु छन् । आ–आफ्ना संगठनहरु छन् । आ–आफ्ना एजेण्डाहरु छन् । मुल कुरो पार्टीका आफ्नो शक्ति नै हो । र गठबन्धन एक चौथाइ मात्रै भयो । त्यसमा मुलत्ः सफल भएको छ ।’

उहाँले पार्टीको जित वा हारको कारण गठबन्धनलाई मात्रै मान्न नसकिने बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?