मारिउपोलमा रुसको पूर्ण कब्जा

Read Time = 4 mins

मस्को । युक्रेनका मारिउपोलमा रुसले पूर्णरूपमा कब्जा गरेका छ । रुससँगको युद्धमा युक्रेनले दक्षिणमा रहेको मारिउपोल गुमाएको हो । ८२ दिनदेखि रुसी सेनाको आक्रमणको सामना गर्दै आएको मारिउपोलमा रुसले कब्जा जमाएको छ । युक्रेनी सेनाको अन्तिम टुकडीले मारियुपोलस्थित अजोभास्टल स्टिल प्लान्टमा रुसी सेनासमक्ष आत्मसमर्पण गरेको दाबी गरिएको छ । २६० भन्दा बढी युक्रेनी सैनिकहरू महिनौँसम्म स्टिल प्लान्टमा थुनिएका थिए र यहाँबाट रुसी सेनामाथि प्रतिकारात्मक हमला गरिरहेका थिए ।

रुसले गत २४ फेब्रुअरीदेखि निरन्तर युक्रेनमा हमला गर्दै आएको छ । रुसी सेनाको आक्रमणको कारण मारिउपोल पूर्ण-रूपमा ध्वस्त भएको छ । यति धेरै दिनको भीषण युद्धपछि रुसी सेनाले मारियुपोल कब्जा गर्नुलाई पुटिनका लागि ठूलो जित मानिएको छ । मारिउपोल कब्जापछि अब अजोभ सागरदेखि खार्किवसम्म एक ठूलो क्षेत्र रुसी सेनाको कब्जामा आएको छ ।

रुसले यसलाई आत्मसमर्पण भनेको छ भने युक्रेनले आफ्ना सैनिकको ज्यान जोगाउन यस्तो गरेको बताएको छ । युक्रेनी रक्षामन्त्री ओलेक्सी रेज्निकोभले आफ्नो ज्यान बचाउनको लागि यस्तो गरिएको र युक्रेनलाई उनीहरूको आवश्यकता भएको बताउनुभएको छ ।
अहिले यो ठाउँ पूर्णरूपमा भग्नावशेषमा परिणत भएको छ । युद्धको पहिलो दिनदेखि मारिउपोलमा रुसी सेनाको भयंकर हमलाहरू चलिरहेको थियो । युक्रेनका बाँकी शहरहरूको तुलनामा यहाँ सबैभन्दा बढी विनाश भएको छ ।

युक्रेनी सैनिकहरूलाई बसबाट ओलेनिभका शहरको एउटा कोलोनीमा लगिएको बताइएको छ । ओलेनिभका र मारिउपोल दुवै युक्रेनको पूर्वी डोनेट्स्कका क्षेत्र हुन् । ओलेनिभका सन् २०१४ देखि रुसी समर्थित पृथकतावादीहरूको नियन्त्रणमा छ । मारिउपोल युक्रेनको दक्षिणी भागमा अवस्थित छ र आजोभ सागरसँग जोडिएको छ र एउटा बन्दरगाह छ । मारिउपोल रुसी सेनाका लागि महत्वपूर्ण छ किनभने यहाँको कब्जाले यसलाई क्राइमियाबाट पूर्वी युक्रेनसम्मको भूमिमार्ग दिन्छ ।

यस युद्धले निम्त्याएको विनाशले युक्रेनलाई बर्बादीको संघारमा पुर्‍याएको छ । रुसले गत फेब्रुअरी २४ बाट युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । रुसले युक्रेनका सम्पूर्ण संरचनालाई ध्वस्त पारेको छ । सधैँ चहलपहल रहेने युक्रेनी शहरमा मसानटघाट जस्तै सन्नाटा छाएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?