काठमाडौं । लगानी बोर्ड र नबिल बैंकबीच विदेशी लगानी भित्र्याउने सम्झौता भएको छ । बुधबार लगानी बोर्डको कार्यालयमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
नेपालमा लगानी गर्न खोजिरहेका विदेशी लगानीकर्तालाई सहजीकरण तथा प्रवद्र्धनमा नबिल बैंकले बोर्डसँग सहकार्य गर्नेछ । बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले विदेशी लगानी भित्र्याउन बैंकको भूमिका महत्वपूर्ण हुने भन्दै बोर्ड स्थापनाको १० वर्षपछि लगानी भित्र्याउन पहिलोपटक बैंकलाई साझेदार बनाइएको बताउनुभयो । नबिलसँगको सम्झौताले विदेशी लगानी भित्र्याउन धेरै सहयोग पुग्ने अपेक्षा रहेको पनि उहाँले बताउनुभयो ।
नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले पनि नबिल बैंकले नाफामात्रै नहेरेर सस्टेनेबल बैंकिङसँगै सस्टेनेबल देश बनाउन पनि ध्यान दिएको बताउनुभयो । बैंकिङ क्षेत्र लगानी प्रवद्र्धनको महत्वपूर्ण क्षेत्र भएकाले विदेशी लगानी भित्र्याउन बैंकहरूसँग सम्झौता गर्नु महत्वपूर्ण कार्य भएको उहाँको भनाइ छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले यसअघि पनि नबिल बैंकले विदेशी लगानी भित्र्याउन महत्वपूर्ण कार्य गर्दै आएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच