प्रारम्भिक परिणाम : कांग्रेस-माओवादीलाई लाभ, समाजवादी र जसपामा बिलौना, एमाले दोस्रोमा

Read Time = 10 mins

डिबी शर्मा/हिटा
काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना जारी छ । बुधबार अबेरसम्म देशभरका आधा बढी पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । पूर्ण नतिजा आइनसके पनि प्रारम्भिक परिणामले चुनावको चित्र देखाएको छ । स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी हुने स्पष्ट देखिएको छ । ठूलो मतान्तरले अगाडि देखिएको कांग्रेसलाई झिनो जितसहित नेकपा एमालेले पछ्याइरहेको छ । कांग्रेसले दुई सय बढी पालिकामा जित हात पार्दा एमालेले सय कटाएको छ । हालसम्म तेस्रो दलकारूपमा रहेको नेकपा (माओवादी केन्द्र)ले पनि एमालेकै हाराहारीमा सय पालिकामा जित हात पारेको छ । कांग्रेस अझैं सय बढी पालिकामा अग्र स्थानमा छ । एमाले ५० बढी र माओवादी २० बढी पालिकामा अग्र स्थानमा छ ।

प्रमुख तीन दलबबाहेक नेकपा (एकीकृत समाजवादी) र मधेश केन्द्रित दलहरूले उल्लेख्य पालिका जित्न सकेका छैनन् । अग्रताका हिसाबले पनि उनीहरूले दुर्ई दर्जन हाराहारी मात्रै पालिका जित्ने देखिएको छ । समाजवादी र मधेश केन्द्रित दलभन्दा अन्य दल र स्वतन्त्र उम्मेदवारले बढी पालिका जितेका छन् । अग्रताका हिसाबले पनि उनीहरू अगाडि देखिएको छन् । सबै पालिकाको अन्तिम नतिजा आउन बाँकी रहेको भए पनि प्रारम्भिक मत परिणामले देखाएको संकेत यही हो ।

कांग्रेसमा खुसी, माओवादीभित्र अन्तर्घातको चर्चा
प्रारम्भिक चुनावी परिणामअनुसार गठबन्धनको लाभ सबैभन्दा धेरै कांग्रेसलाई प्राप्त भएको छ । सबै दल एक्लाएक्लै प्रतिस्पर्धा गरेको भए सायदै कांग्रेसले अहिलेको नतिजा हात पाथ्र्यो । कांग्रेसले गठबन्धनको भरपुर लाभ उठाएको छ । यद्यपि, कतिपय ठाउँमा अनपेक्षित परिणाम आउने संकेत देखिएका छन् । गठबन्धनमा माओवादी समर्थक मतदाताले कांग्रेसलाई मत दिएको तथ्यांकले देखाउँछ । तर, माओवादीका उम्मेदवारले कांग्रेसबाट अपेक्षित मत नपाएको गुनासो गरेका छन् । उनीहरूले कांग्रेसका तल्ला तहका नेता-कार्यकर्ताले अन्तर्घात गरेको आरोप लगाएका छन् । कतिपय तथ्यले पनि माओवादीको गुनासोलाई पुष्टि गर्छ । प्रमुख-उपप्रमुखमा गठबन्धन भएका ठाउँमा कांग्रेस उम्मेदवारले प्राप्त गरेको मतभन्दा माओवादीका उम्मेदवारले कम मत प्राप्त गरेका छन् । कतिपय ठाउँमा कांग्रेसका उम्मेदवार नै नभए पनि रूखमा भोट हालिएको पाइएको छ । ललितपुर महानगरमा मेयर कांग्रेसले लिएर उपमेयर माओवादीलाई दिएको थियो । तर, माओवादीको उम्मेदवार भएको ठाउँमा भन्दा कांग्रेसको उम्मेदवारै नभएको रूखमा धेरे भोट आएको छ । यसले भित्रभित्रै माओवादी नेता–कार्यकर्ताहरू असन्तुष्ट छन् । यद्यपि, उनीहरूले आफ्नो असन्तुष्टि आधिकारिक रूपमा सार्वजनिक गरेका छैनन् । समग्रमा प्राप्त नतिजाप्रति माओवादी सन्तुष्टै देखिन्छ । गठबन्धनको लाभ माओवादीले पनि राम्रै उठाएको छ ।

गठबन्धनभित्रै असन्तुष्टि
कांग्रेस माओवादीले गठबन्धनबाट लाभ लिइरहँदा नेकपा समाजवादी र जसपाले भने अनपेक्षित हार व्यहोरेका छन् । उनीहरूले गठबन्धन असफल भएको अभिव्यक्ति सार्वजनिक रूपमै व्यक्त गर्न थालेका छन् । दुई दलका नेताहरूले सार्वजनिक रूपमै असन्तुष्टि पोख्न थालेका छन् । उनीहरूले गठबन्धनको समीक्षा हुनुपर्ने र यसको फाइदा नेपाली कांग्रेस र माओवादी केन्द्रले मात्र लिएको आरोप लगाइरहेका छन् ।

हामी निर्वाचनको गम्भीर समीक्षा गर्नेछौँ : नेपाल
नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यसबारे पार्टीभित्र समीक्षा गर्ने बताउनुभएको छ । स्थानीय तह निर्वाचनको परिणाम आफ्नो पार्टीले प्राप्त गर्नुपर्ने जति नभएको उहाँको भनाइ छ । गठबन्धनका घटकले नै आफूहरूसँग सहकार्य गर्न नचाहेको उहाँको आरोप छ । ‘हामी निर्वाचनको गम्भीर समीक्षा गर्नेछौँ । गठबन्धनको पनि समीक्षा हामी गर्नेछौँ,’ अध्यक्ष नेपालले भन्नुभयो, ‘समीक्षा गरेर कहाँ राम्रो भयो, कहाँ त्रुटि गर्‍यौँ र आगामी दिनमा हामीले के कुरामा होस गर्नुपर्ने हो । अहिलेसम्मको निर्वाचनको परिणाम अवश्य पनि हाम्रो पार्टीले प्राप्त गर्नुपर्ने जति छैन ।’

चुनावी नतिजामा अध्यक्ष नेपाल मात्रै होइन सम्मानित नेता झलनाथ खनालको पनि असन्तुष्टि छ । उहाँले पनि चुनावी परिणाम सकारात्मक नबनेको बताउनुभयो । गठबन्धनलाई निरन्तरता दिने विषयमा पार्टीमा समीक्षा गरिने उहाँको भनाइ छ । ‘अहिलेसम्म जेजस्तो परिणाम आएको छ, उत्साहजनक छैन,’ उहाँले भन्नुभयो, ‘कसरी अगाडि जान्छ भनेर हामी छलफल गर्नेछौँ ।’

कांग्रेस-माओवादीले सेटिङ गरेर लाभ लिए : भट्टराई
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारूढ नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनमा सेटिङ गरेर लाभ लिएको आरोप लगाउनुभएको छ । आफू विगतदेखि नै गठबन्धनको विपक्षमा रहेको उल्लेख गर्दै उहाँले स्थानीय तह निर्वाचनमा गरिएको गठबन्धन सफल नभएको बताउनुभयो । ‘जुन अभ्यास गर्न खोजियो त्यो सफल भएन । केही दलहरूलाई खासगरी कांग्रेस र माओवादीले अलिकति सेटिङ गर्नुभयो र केही लाभ भयो,’ उहाँले भन्नुभयो, ‘जे सिद्धान्त अपनाइएको थियो, त्यो कसैले पनि पालना गरेन ।’

निर्वाचनमा धाँधली भयो, आयोग मूकदर्शक भएर बसेको छ : कर्ण
उसो त धाँधलीको आरोप लगाउने एमाले एक्लो पार्टी भने होइन । लोसपाले पनि चुनावमा धाँधली भएको आरोप लगाएको छ । लोसपा सांसद लक्ष्मणलाल कर्णले स्थानीय तह निर्वाचनमा धाँधली भएको आरोप लगाउनुभयो । निर्वाचनमा धाँधली हुँदासमेत निर्वाचन आयोग मूकदर्शक भएर बसेको उहाँले आरोप लगाउनुभयो । ‘गठबन्धनको चुनावले गर्दा यति धाँधली भएको छ । निर्वाचन आयोग मूकदर्शक भएर बसेको छ,’ उहाँले भन्नुभयो, ‘यो सम्पूर्ण कारणले तलमाथि परिणाम त परी नै राखेको छ । निष्पक्ष, स्वतन्त्र, धाँधलीरहित देखिएन ।’

हारेपछि धाँधलीको आरोप
प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचनमा धाँधली भएको आरोप लगाएको छ । पहिलो पार्टी बन्ने दाबी गरेको एमालेले अपेक्षाकृत नतिजा नआएपछि निर्वाचनमा धाँधली भएको आरोप लगाएको हो । अन्तिम परिणाम नआउँदै धाँधली भएको आरोप लगाएको एमालेले गठबन्धनका कारण अपेक्षाकृतभन्दा कम पालिकामा विजय हासिल गरेको छ । कतिपय एमालेको गढ मानिएका पालिकामा समेत उसले पराजय व्यहोरेको छ । चुनावअघि ठूलो संख्यामा विभिन्न पार्टीका नेता-कार्यकर्ता भित्र्याएर टिकट वितरण गरेको एमालेले चुनावी परिणामलाई स्वीकार गर्नुको साटो धाँधलीको आरोप लाएर उम्किन खोजेको छ ।

एमालेले निर्वाचनमा सरकारबाटै धाँधली भएको आरोप संसद्मै पनि लगाएको छ । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै एमाले सांसद प्रदीप ज्ञवालीले निर्वाचन नै गराउन नचाहेको सरकारले राज्य शक्तिको प्रयोग गरेर चुनावमा धाँधली गरेको आरोप लगाउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?