एमालेको सदासयता !

Read Time = 6 mins

गत मंगलबारदेखि संघीय संसदको बर्खे अधिवेशन सुरु भएको छ । यस अधिवेशनलाई बजेट अधिवेशन भन्ने गरिएको छ । प्रत्येक वर्षको जेठ १५ गते संघीय सरकारको वार्षिक बजेट संसदमा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संविधानले नै तोकेअनुसार त्यो मितिभन्दा फरक नपर्ने गरी बजेट प्रस्तुत गर्न केही दिनअधिदेखि अधिवेशनको सुरुवात गर्नुपर्ने हुन्छ र सोहीअनुसार अस्ति मंगलबारबाट उक्त अधिवेशन सुरु भएको हो । हाल निर्वाचनको चटोरो छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय निकायको निर्वाचनको मतगणना कार्य हालसम्म जारी छ । धेरैजसो ठाउँहरूको मतपरिणाम आइसकेको छ तर केही ठाउँको मतपरिणाम अझैसम्म आइसकेको छैन । अहिलेको गठबन्धनका कारण नेकपा एमाले पराजित मानसिकतामा थियो तर प्राप्त परिणामबाट उसलाई निकै उत्साह पैदा भएको छ ।

सरकारमा भएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले समाजवादीलगायत पार्टीहरूको गठबन्धन सामु आपूm एक्लै उभिनुपरेकाले पराजित हुनुपर्ने भयमा रहेको नेकपा एमाले हाल उसले पाएको नेपाली कांग्रेसपछिको दोस्रो स्थानले निकै उत्साहित भएको छ । मतमतान्तर भई आफूबाट अलगिएका माओवादी केन्द्र आफूभन्दा निकै पछि पुगेको र एमाले समाजवादी त धेरैपछि परेका कारण सबै एकातिर हुँदा पनि आफू यस पोजिसनमा पुग्न सकिने रहेछ तथा सत्तारुढ दलहरूको गठबन्धन नभएको भए आपूm पहिलो शक्ति बन्न सकिने रहेछ भन्ने सोचाइमा रहेको छ ।

एमालेलाई अरू दुई पार्टीको डर त छँदै थियो त्यसका साथै माधवकुमार नेपालको नेतृत्वमा दर्ता भएको एमाले समाजवादीले पनि आफूलाई निकै नै क्षति पुर्‍याउँछ कि भन्ने सोचाइमा रहेकोमा अपेक्षाकृत एमाले समाजवादीले विजय हासिल गर्न नसकेकोमा एमालेलाई खुशी छ । संसदको हिउँदे अधिवेशनमा लामो समयसम्म एमालेले अवरोध पुर्‍याएका कारण माधवकुमार नेपाल पक्ष जो एमालेबाट विभाजित भई अर्को पार्टी बन्न पुगेको थियो त्यस पार्टीका सांसदहरूले दलबदल गरेकाले कारबाही गर्नुपर्छ भन्ने माग तिनीहरूको थियो । सर्वोच्च अदालतमा यो विषयमा मुद्दा चलिरहेकाले उनीहरूलाई सजाय गर्न मिल्दैन भन्ने सभामुखको तर्क थियो । उनीहरूलाई कारबाही भएन भनेर एमालेले हिउँदे अधिवेशनमा लगातार अवरोध गरेकाले संसद चल्नै सकेको थिएन ।

हाल सञ्चालन भइरहेको संसदको बर्खे अधिवेशनमा भने अवरोध नगर्ने निर्णय एमालेले गरेको छ । यसलाई एमालेको सदासयता मान्न सकिएला तर कुनै न कुनै कारण नभई यसरी सदासयता देखाउने पार्टी एमाले होइन । एमाले एउटा रिजिट पार्टी हो । नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको सहयोगबाट माधवकुमार नेपाल त्यसबेला प्रधानमन्त्री त बन्नुभयो तर नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्री बन्नबाट नेकपा एमाले पार्टीले नै रोक्यो र त्यसपछि झलनाथ खनाल प्रधानमन्त्री बन्न सफल हुनुभयो । यस प्रकारको इतिहास भएको पार्टी हो एमाले । गुनले गुन खान्छ म तँलाई खान्छु भन्ने आहान नेकपा एमालेमा लागू हुन्छ ।

हाल संसदमा अवरोध नगर्ने गरी नेकपाले जुन नीतिगत निर्णय गर्‍यो त्यति लामो समयसम्म अवरोध गर्ने पार्टीले कुनै कारणविना यसरी अवरोध हटाएको भने होइन भन्ने अनुमान गर्न सकिन्छ । यो पार्टीका नेताहरूले आफूबाट फुटेर गएकाको पार्टी नेकपा समाजवादीको क्षमता पहिचान गरेपछि यस्तो निर्णयमा पुगेको आसयको अभिव्यक्ति दिएका छन् । जनताले उनीहरूलाई जवाफ दिए भनेर यस्तो निर्णमा पुगेका हुन सक्छन् तर त्यति लामो समयसम्म संसद अवरोध गरेर चौतर्फी आलोचना भोगिरहेको एमाले अहिले भने सोझो गरी आत्माआलोचना नगरी घुमाउरो किसिमले यस मार्गमा अवतरित भएको हुनसक्छ । एमालेको यस निर्णयका कारण अब संसद सुचारु रूपमा सञ्चालन हुनेछ भन्न सकिन्छ तर यो एमालेको सदासयताका रूपमा होइन बाध्याताका रूपमा आएको निर्णय हुनसक्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?