बाँकेमा चार दाजुभाइको चुनावी लडाइँ, भाइहरूको जित, दाइहरू पराजित

Read Time = 3 mins

-शुभाकर विश्वकर्मा

नेपालगञ्ज । बाँकेका दुई स्थानीय तहमा एउटै आमाबुवाको कोखबाट जन्मेका दाजुभाइ चुनाव लड्दा भाइहरूले जित हासिल गरेका छन् । जिल्लाको नेपालगञ्ज उपहानगरपालिका र कोहलपुर नगरपालिकाका दुईवटा वडामा दाजुभाइ चुनाव लड्दा भाइहरूले जितेका हुन् । जिल्लाको नेपालगञ्ज–१ र कोहलपुर–३ मा उहाँहरूको बीच स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदका लागि प्रतिस्पर्धा भएको थियो ।

नेपालगञ्ज उपहानगरपालिकामा नेकपा एमालेबाट उम्मेदवारी दिनुभएका प्रमोद रिजालले ७८१ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित हुनुभयो । उहाँले प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विनोद रिजाललाई पराजित गर्नुभएको हो । वडा अध्यक्षमा पुनः निर्वाचित रिजाल यसअघि पनि निर्वाचित हुनुभएको थियो । उहाँको यो दोस्रो कार्यकाल हो । भाइसँग पराजित हुनुभएका विनोद तरुण दल बाँकेको सचिव हुनुहुन्छ । ‘वडामा गरेका राम्रा कामहरूको मूल्यांकन गरेर जनताले अनुमोदन गर्नुभयो । थप जिम्मेवारी बोध गरेको छु । हामी आ-आफ्नो पार्टीबाट प्रतिनिधित्व गरेकाले सम्बन्धमा कुनै तिक्तता छैन’ उहाँले भन्नुभयो ।

यस्तै, कोहलपुर नगरपालिकामा पनि दुई सहोदर दाजुभाइबीच वडा नम्बर ३ मा भएको प्रतिस्पर्धामा भाइ माधव रिजाल निर्वाचित हुनुभएको छ भने दाजु तारकेश्वर रिजाल पराजित हुनुभएको छ । भाइ दोस्रोपटक निर्वाचित हुँदा दाइ पनि दोस्रोपटक नै पराजित हुनुभएको छ ।

नेकपा एमाले उम्मेदवार माधवले माओवादीका उम्मेदवार ताराकेश्वर रिजाललाई तीन सय मत अन्तरले पराजित गर्नुभएको हो । निर्वाचित भएपछि भाइ माधवले भन्नुभयो, ‘दुवैले आ-आफ्नो जितका लागि प्रतिस्पर्धा गरेका हौँ । यो बिल्कुलै राजनीतिक प्रतिस्पर्धा मात्र हो ।’ हालसम्म बाँकेमा दुई पालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । अन्य पालिकामा भने मतगणना जारी छ ।

हालसम्म नेपाली कांग्रेसका तप्तबहादुर पौडेल र खजुरा गाउँपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका डम्बरबहादुर विक निर्वाचित हुनुभएको छ । अहिलेसम्म ५० भन्दा बढी वडाको मतपरिणाम आइसकेको छ । अब ३० वटा वडाको मतपरिणाम आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *