अचम्मको काठमाडौं

Read Time = 12 mins
A A- A+

✍️  डा. शान्तिकृष्ण अधिकारी
नेपालको राजधानी काठमाडौं शहर सबै प्रकारले अचम्मको छ । यहाँको सांस्कृतिक विविधता, परम्परा, रहनसहन, भौगोलिक विविधता आदि कुराहरू काठमाडौं बाहिरका मानिसका लागि विचित्रका लाग्दछन् । काठमाडौं नबुझेकाका लागि र अझ विदेशीहरूका लागि झनै अचम्म लाग्दा छन्, रहर लाग्दा र बुझिनसक्दा छन् । त्यसभन्दा पनि बढी यहाँ बसोवास गर्ने मानिसहरूको मनस्थिति र बेलाबखतका निर्णयहरू झनै अचम्मका हुने गर्दछन् । काठमाडौंका मतदाताहरूले र समय समयमा देखिने चुनावी परिणामहरूले त मै हूँ भन्ने राजनीतिक विश्लेषकहरू र राजनीतिका माहिर खेलाडीहरूलाई समेत रनभुल्लमा पार्ने गरेका छन् ।

दलीय व्यवस्थाका लागि सबैभन्दा बढी संघर्ष गर्ने यही काठमाडौं हो भन्दा बढी हुँदैन । लोकतन्त्रका लागि सबैभन्दा बढी शहीद यही काठमाडौंले उत्पादन गरेको छ भन्न कुनै अप्ठेरो मान्नु पर्दैन । गणतन्त्र स्थापना गर्न सबैभन्दा ठूलो आन्दोलन भएको शहर पनि यही काठमाडौं ने हो । संसदीय व्यवस्थाका लागि रगत पसिना बगाउनेहरूको शहर मध्येमा काठमाडौं अग्रणी शहरमा पर्दछ भन्न पनि कसैले संकोच मान्दैन तर बेलाबखत यही संसदीय व्यवस्था मान्ने दलहरूको खिल्ली उडाउनमा पनि अहं भूमिका यही काठमाडौंले खेल्ने गर्दछ भन्नमा पनि गाह्रो मान्नुपर्ने अवस्था देखिँदैन ।

नेपालको वर्तमान संविधानका बारेमा सबैभन्दा बढी पढेका मानिसहरू यही राजधानी शहर काठमाडौंमै बस्दछन् । यो संविधानले मुलुकको शासन सत्ता सञ्चालनको परिकल्पना दलीय माध्यमबाटै गरेको छ भनी बुझ्ने क्षमता राख्नेहरू मुलुकका अन्य शहरहरूमा भन्दा काठमाडौं नै बढी छन् भन्न पनि संकोच मान्नु पर्ला जस्तो देखिँदैन । काठमाडौंका बासिन्दाले यो संविधानको मनैदेखि सम्मान गर्दछन् र यसको संरक्षणमा दिलोज्यान दिन कदापि पछि हट्दैनन् भन्ने पनि सबैलाई थाहा छ । तथापि बेलाबेलामा यहाँका मतदाताले लिने गरेका निर्णयबाट काठमाडौंका मान्छेले के चाहेका हुन् भन्ने अनुमान गर्न निकै कठिन पर्ने गरेको पनि पाइन्छ ।

वैशाख ३० गते नेपालका ७५३ पालिकाहरूका लागि निर्वाचन सम्पन्न भयो । आधाभन्दा बढी पालिकाका मेयर उपमेयर या अध्यक्ष उपाध्यक्षहरू दलीय प्रतिस्पर्धाबाटै निर्वाचित हुनपुगेका छन् । त्यसैगरी नगर सदस्यहरू पनि अपवादबाहेक कुनै न कुनै दलका नै निर्वाचित भएका छन् र मतदान टुंगिन बाँकी पालिकाहरूमा समेत राजनीतिक दलकै व्यक्तिहरू निर्वाचित हुने पक्कापक्की नै छ तर काठमाडौं महानगर, जहाँ मुलुकभरिका नागरिकहरूको चासो थियो, आजसम्म पनि स्वतन्त्र उम्मेदवारको अग्रता कायम छ । उनले जित्लान् या नजित्लान्, केही दिनपछि थाहा हुन्छ तर बहुदलका लागि घोर संघर्ष गरेको राजधानी दलभन्दा बाहिर गएर मत दिन अग्रसर रहेको पाइयो ।

स्वतन्त्र उम्मेदवारका एजेण्डा महानगरमा कार्यान्वयन गर्न कठिन हुन्छ भन्ने पनि राजधानीवासीलाई थाहा छ । ३२ वटा वडाहरूबाट छानिएर आउने वडाध्यक्षहरू, नगर सदस्यहरू कुनै न कुनै दलसंग सम्बद्ध नै हुन्छन् । तिनै जितेका पदाधिकारीको महानगर सभा गठन हुने कुरा पनि सबैको जानकारीमा छ । महानगरको कार्यक्रम र बजेट त्यही सभाबाट पारित गर्नुपर्दछ भन्ने जानकारी नभएका पनि कोही भए जस्तो लाग्दैन । त्यो सभामा प्रतिनिधित्व गर्ने सबैको प्रयास आफ्नै दलको प्रस्ताव पारित गराउने हुन्छ र त्यतिबेला स्वतन्त्र मेयरका पक्षमा उभिने कमै हुन्छन् भन्ने ज्ञान पनि अधिकांश मतदातामा छँदैछ र पनि स्वतन्त्र मेयरका पक्षमा उभिने प्रयास गर्ने शहर काठमाडौं नै हो ।

काठमाडौं सांस्कृतिक विविधताको शहर हो र यहाँका सबै संस्कृति र परम्पराहरूको संरक्षण सम्बद्र्धन गर्न सकेमात्रै काठमाडौंको पहिचान जीवित रहन सक्दछ । विविधायुक्त परम्पराले अत्यन्त धनी र समृद्ध शहर काठमाडौं नै हो र यी परम्पराहरू जोगाउन संघर्षरत शहर काठमाडौं हो । कसले यो शहरको परिचयलाई कायम राख्दै विकासको योजनाहरू कोर्ने काम गरेको छ र कसले यहाँका पुराना बासिन्दाका सभ्यतालाई समाप्त पार्नका लागि प्रयास गरेको थियो भन्ने थाहा हुँदाहुँदै पनि नेवारहरूका गुठी मास्न उद्यतहरूलाई नै मत दिने शहर पनि यही काठमाडौं नै देखिँदा निकै अचम्म मान्नुपर्ने भएको छ ।

काठमाडौंलाई अहिले सबैभन्दा बढी सताएको फोहोरमैलाको व्यवस्थापनले हो र खानेपानीको अभावले हाहाकार मच्चाएको शहर हो । सवारीसाधनको अत्यधिक चापका कारण आवागमनमा हुनेगरेको कठिनाइ र पार्किंगको समस्याले आजित नागरिकहरूको शहर यही काठमाडौं हो । कुनै समस्या हल गर्न त कठिन होला तर अधिकांश समस्या महानगरका सामान्य प्रयासबाट समाधान हुन सक्दथे तथापि जस्ताका तस्तै छन् । यद्यपि पटक-पटक जिताउँदा समेत सामान्यभन्दा सामान्य समस्या समाधान गर्न नसक्नेमात्र होइन कि त्यतातर्फ ध्यानै नदिने राजनीतिक दलकै उम्मेदवारलाई मत दिनपछि नपर्ने शहर पनि यही काठमाडौं नै देखिएको छ ।

काठमाडौंका घरहरूमा हेर्ने हो भने नेपाली कांग्रेसका झण्डाहरू टाँगिएका देखिन्छन् । कतैकतै नेकपा एमालेका झण्डाहरू झुण्डिएको पाइन्छ त कतिपय घरमा हँसिया हथौडा अंकित माओवादीको चुनाव चिहृनका व्यानरहरू देखिन्छन् । हलो चुनाव चिह्न भएको राप्रपाका प्रचार सामग्री पनि टाँसिएका छन् । काठमाडौंका मानिसहरूसित कुरा गर्दा अधिकांश मानिस कुनै न कुनै राजनीतिक दलसंग आबद्ध रहेकै छन् जस्तो लाग्दछ तर पनि स्वतन्त्र उम्मेदवारलाई अत्यधिक मत प्रदान गर्ने शहर काठमाडौं नै हो ।

वि.सं. २००७, २०१७, २०३६, २०४६ या वि.सं. २०६२-०६३ मा भएका सबै जनआन्दोलन र संघर्षहरूमा नेपाली कांग्रेसले काठमाडौंका जनतालाई सडकमा बोलायो । आफ्नो ज्यान हत्केलामा राखेर कांग्रेसलाई साथ दिन उर्लेको शहर काठमाडौं हो । नेकपा एमालेका अध्यक्ष केपी ओलीको सर्वसत्तावादका विपक्षमा ओर्लन कांग्रेसले आहृवान गर्दासमेत काठमाडौं खर्लप्पै उर्लिएको थियो । नेकपा एमालेले पनि कांग्रेससंग मिलेर गरिएका जनआन्दोलन र पार्टीका बेलाबेलाका कार्यक्रममा बोलाउँदा पनि साथ दिन्छ काठमाडौं । माओवादी केन्द्रलाई पनि समय समयमा निराश पार्दैन काठमाडौं तर चुनाव आउँदा कहिले कता किन निराश बनाउँछ काठमाडौं ?

देश विदेश देखेका र भोगेकाहरूको शहर हो काठमाडौं । धेरै पढेका र सुविधा भोगेकाहरूको शहर हो काठमाडौं । नदेखेका, नभोगेका र नबुझेकाहरूको भन्दा यहाँका बासिन्दाको अपेक्षा राजनीतिक दलहरूसँग बढी हुनु स्वाभाविकै हो । नेपालको स्रोत र साधन सीमित छ र यहाँका बासिन्दाको आवश्यकता र अपेक्षा असीमित छ । सीमित साधन र स्रोतबाट असीमित चाहना परिपूर्ति गर्न सम्भव छैन भन्ने राम्रैसंग बुझेको छ काठमाडौंले तर पनि राजनीतिक दलहरूमाथि बेलाबेलामा रिस फेर्ने गर्दछ काठमाडौं ।

पञ्चायतकालसम्म यहाँको अवस्था कस्तो थियो ? यहाँका बाटाघाटा कस्ता थिए ? दरबार मार्ग, चक्रपथ र शहरका केही सडकहरू बाहेक पिच भएका कति थिए ? असन, सिंहदरबार वरपरबाट केही एक दुई किलोमिटर परका बस्तीहरूमा मोटर चढ्ने कति थिए ? काँठहरूमा पुग्न कत्तिको सहज थियो ? जनताको आर्थिक हैसियत कस्तो थियो र अहिलेको अवस्थामा पुर्‍याउने काम कसले गर्‍यो ? विद्यालयहरूको अवस्था के थियो ? अस्पतालहरू कस्ता थिए ? टेलिभिजन कहिलेदेखि हेर्न पाइयो ? घरमा फोन कहिले जोडियो र जोड्न सक्ने हैसियतमा कसले पुर्‍यायो ?

हात हातमा मोबाइल बोक्ने अवस्थामा मुलुकलाई पुर्‍याउने को हो ? सबै कुरा जान्दा जान्दै पनि हुन नसकेका कुराहरू सम्झेर दलहरूलाई स्वाद चखाउँछ काठमाडौं । विकासको पूर्वाधार जनतासम्म पुर्‍याउने पहिलो सरकार वि.सं. २०४८ मा गठित गिरिजाप्रसाद कोइरालाको सरकार हो भन्ने राजधानीबासीलाई थाहा छ । केहीअघिदेखि पिउन पाएको मेलम्चीको पानीमा किसुनजीको देन छ भन्ने पनि नजान्ने कोही छैन । जति पनि विकासका कामहरू भए त्यसपछि नै भए भन्न पनि संकोच मान्दैन काठमाडौं ।

नेकपा एमालेका पालामा पनि कत्ति पनि कामहरू नभएका होइनन् । पानी जहाज र रेलका कुरा गर्ने र भ्यू टावरहरू बनाउने काम त केपी ओलीको भर्खरै ढलेको सरकारले मात्र गरेको हो, त्यसअघि केही न केही भएकै थियो । नेपाली कांग्रेसका पालामा कति काम भयो र एमालेका पालामा कति भयो भन्नेमा पूरै जानकार छ काठमाडौं तर पनि यिनै दलहरूलाई खुच्चिङ भन्न कहिलेकाहिँ रमाउँछ काठमाडौं । कत्ति नबुझे झैं गर्दिन्छ काठमाडौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Umesh Ghimire
Umesh Ghimire
2022-05-19 8:41 am

चित्रविचित्रको काठमाडौँको चित्र उतारिएको आलेख!

छुटाउनुभयो कि ?