नेपालले गुमायो सिरिज

Read Time = 4 mins

काठमाडौं । नेपालले युगान्डासँगको महिला टी-२० क्रिकेट सिरिज गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको तेस्रो महिला टी–२० अन्तर्राष्ट्रिय खेलमा ६ विकेटको हार बेहोर्दै नेपालले पाँच खेलको सिरिज ३-० ले गुमाएको हो ।

जितका लागि नेपालले दिएको १ सय रनको लक्ष्य युगान्डाले १८.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो । युगान्डाकी ओपनर तथा विकेटकिपर केभिन एविनो ५१ बलमा ४ चौकासहित ४२ रन बनाउँदै टोलीलाई जित दिलाउनुभयो । यस्तै जेनेत म्बावाजीले ३९ बलमा १ चौका र १ छक्कासहित २७ रन थप्नुभयो ।

कविता कुँवरले तेस्रो ओभरको पहिलो बलमा ओपनर लियोना बबिरेलाई ५ रनमा ज्योति पाण्डेबाट क्याच दिलाएर नेपाललाई सुरुवाती सफलता दिलाउनुभएको थियो तर दोस्रो विकेटका लागि म्बावाजी र एविनोले ६७ रनको साझेदारी गर्दै पाहुना टोलीलाई जित दिलाउनुभयो ।
नेपालकी कविता कुँवरले ३ ओभरमा २२ रन खर्चेर २ तथा इन्दु बर्मा र रुविना क्षेत्री बेलबासेले १-१ विकेट लिनुभयो ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९९ रन बनाएको थियो । नेपालकी ओपनर ज्योति पाण्डे ५४ बलमा ५ चौकासहित ४७ रनमा बोल्ड हुनुभयो ।

नेपालले राम्रो सुरुवात गर्न सकेन । ओपनर बिन्दु रावल दोस्रो ओभरको तेस्रो बलमा फिओना कुलुमलेको हातबाट ४ रनमा बोल्ड हुनुभयो । सीता रानामगर जेनेत म्बावाजीको बलमा कुलुमेबाट १२ रनमा क्याच हुनुभयो । २५ बल खेल्नुभएकी सीताले १ चौका प्रहार गर्नुभयो । इन्दु बर्मा १, रोमा थापा र डली भट्ट ३-३ रनमा आउट हुनुभयो । कप्तान रुविना क्षेत्री बेलबासे १५ बलमा २ चौकासहित १८ रनमा अविजित रहनुभयो ।

युगान्डाकी फिओना कुलुमेले ४ ओभरमा २३ रन खर्चेर २ तथा कोन्सी एविकोले ४ ओभरमा रन खर्चेर दुई विकेट लिनुभयो । सारा अकिटेंगले ४ ओभरमा १ मेडनसहित १६ रन खर्चेर २ विकेट लिनुभयो । यसअघि नेपाल पहिलो खेलमा १२ रन र दोस्रो खेलमा १ विकेटले पराजित भएको थियो । नेपालले चौथो खेल शुक्रबार र पाँचौँ खेल शनिबार खेल्नेछ ।

नेपालले यस खेलमा तीन परिवर्तन गरेको थियो । पछिल्लो खेलमा बाहिर रहनुभएकी विकेटकिपर ज्योति पाण्डे, रोमा थापा र संगीता राईलाई टोलीमा फर्काइएको थियो । विकेटकिपर काजोल श्रेष्ठ, कविता जोशी र अप्सरी बेगमलाई भने बेन्चमा राखिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?