आजबाट ‘लाइफ इन एलए’ सिनेमा हलमा

Read Time = 6 mins

काठमाडौं । पछिल्लो समय कोरोना कहरको असर कम हुँदै गएपछि नेपाली चलचित्र पनि हलमा प्रदर्शन भइरहेका छन् । केही समय खाली भएका हल अहिले सातामा विदेशी र नेपाली चलचित्र चारभन्दा बढी चलचित्र प्रदर्शन गरिरहेका छन् । दुई नेपाली चलचित्र पनि जुधिरहेको अवस्था छ । यसैबीच आज (शुक्रबार)बाट अर्को नयाँ नेपाली चलचित्र ‘लाइफ इन एलए’ प्रदर्शनमा आएको छ । यद्यपि यो चलचित्रको अन्य ठूला व्यानरको जस्तो प्रदर्शन अघि चर्चा नभएपछि निर्माण टिमले आफ्नो तबरबाट सक्दो प्रचार गरिरहेको थियो ।

यस्तै बुधबार ललितपुरस्थित क्युएफएक्स लविम मलमा प्रिमियर गरिएको थियो । केही चलचित्रकर्मीका साथ गरिएको प्रिमियरमा चलचित्रले मिश्रित प्रतिक्रिया पाएको छ । चलचित्र हेर्न लविम मलमा निर्देशक प्रकाश सायमी, निर्देशक तथा कलाकार दीपाश्री निरौला, निर्देशक दीपक श्रेष्ठ, वितरक कोपाल काजी कायस्थ, क्युएफएक्सका सञ्चालक नकिम उद्दिन, अभिनेता संदीप क्षेत्री, नेपाली फुटबल टिमका पूर्वकप्तान विराज महर्जन, खेलाडी भरत खवास, नेपाली महिला फुटबलर अञ्जना थापामगरलगायत पुग्नुभएको थियो ।

अमेरिका र नेपालमा छायांकन गरिएको सिनेमा ‘लाइफ इन एलए’को टिमबाट निर्देशक सूर्य एन श्रेष्ठ, निर्माता तथा अभिनेता व्यास विस्सु, कार्यकारी निर्माता संसार सुवेदी, अभिनेता बुद्धि तामाङ, अभिनेता लोकेन्द्र लेखक, अभिनेत्री शिल्पा मास्के, अभिनेत्री अकेशा विष्ट, अभिनेत्री निलम चन्द प्रिमियरमा उपस्थित हुनुहुन्थ्यो ।

चलचित्र हेरिसकेपछि चलचित्रकर्मीले अमेरिकालाई सपनाको देशमात्र भन्ने नेपालीले त्यहाँ गएपछिको लाइफष्टाइल कस्तो हुन्छ भन्ने कुरा चलचित्रबाट थाहा पाउन सकिने भन्दै चलचित्रबारे बोल्नुभएको थियो । पूर्वडीआईजी रमेश खरेलले निर्माता व्यास बिस्सुले आफ्नो लाइफसँग जोडेर सिनेमा बनाएकाले कति दृश्यमा आफू इमोसनल भएको बताउनुभयो ।

निर्देशक प्रकाश सायमीले पनि सिनेमा राम्रो लागेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, ‘अमेरिकामा बनेको सिनेमा भएकाले यसले एउटा फरक भ्यालु राख्छ । अमेरिकामा बस्ने नेपालीको कथालाई सिनेमामा बुनिएको छ । समाज, आर्थिक विकास, नेपालीले पु¥याएको योगदान र अमेरिका जानचाहनेलाई सिनेमाले सुझाब दिन्छ । यो सिनेमाबाट नेपाली निर्माताले धेरै कुरा सिक्न पाउँछन् ।’
निर्माता अर्जुन कुमारले पनि सिनेमा आफूलाई मन परेको बताउनुभयो । नयाँ सोचसहित चलचित्र निर्माण गरेको देख्दा खुशी लागेको भन्दै हेरिरहेको सिनेमाभन्दा फरक लाग्छ । त्यस्तै, फुटबल खेलाडी विराज महर्जन र भरत खवासले सिनेमामा वास्तविक कथालाई प्रस्तुत गरिएकाले मन छोएको बताउनुभयो ।

प्रिमियरमा सुखद् प्रतिक्रिया मिलेपछि खुशी देखिएका निर्माता तथा अभिनेता बिस्सु दर्शकलाई पनि चलचित्र मन पर्नेमा आशावादी देखिनुभएको छ । ‘चलचित्रले मानिसलाई धेरै कुराको ज्ञान दिन्छ । सबैले अमेरिका कस्तो छ भनेर सोच्छन्, सिनेमाले त्यो देखाएको छ । मैले पनि अमेरिका जाँदा कति दुःख पाएको थिएँ, त्यो सिनेमामा देख्न सकिन्छ । सिनेमाले दर्शकको विश्वास जित्नेमा ढुक्क छु,’ उहाँले भन्नुभयो ।

सूर्य एन श्रेष्ठ निर्देशित त्रिकोणात्मक प्रेमकथा ‘लाइफ इन एलए’मा व्यास बिस्सु, आकेशा विष्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, निलम चन्द, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोवास गर्ने जारेड विलप्स, साम भुजेल, जयन्द्र चिलुवाललगायतको अभिनय छ । सिनेमामा एलिस कार्की र प्रतिक पौडेलको संगीत र प्रताप दास, प्रविसा अधिकारी र कविता श्रेष्ठको स्वर छ ।

व्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रलाई व्यास बिस्सुले निर्माण गर्नुभएको हो । संसार सुवेदी कार्यकारी निर्माता रहेको सिनेमामा अमेरिकाका लागि राजेन्द्र ठकुराथी निर्माताको रूपमा हुनुहुन्छ । चलचित्रको अमेरिकाको दृश्य छायांकन क्रिस वारेन र एडवर्ड युकेन गर्नुभएको हो भने नेपालको पार्ट बाबु श्रेष्ठले खिच्नुभएको हो । चलचित्रमा भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?