युवामा उत्साह भर्ने बजेट बनाउन सुझाव

Read Time = 9 mins

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले आगामी आर्थिक वर्षको बजेट युवालाई भविष्यप्रति उत्साहित बनाउने हुुनुपर्ने बताउनुभएको छ । बिहीबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँले युवाहरू भविष्यप्रति विश्वस्त नहुँदा विदेशिने लहर नै चलेको र सो देशको विकास अभियानका लागि राम्रो संकेत नभएको बताउनुभयो ।

चौधरीले भन्नुभयो, ‘हाम्रो ध्यान युवाका लागि गुणस्तरीय शिक्षाको ग्यारेन्टी गर्नेतर्फ हुनुपर्छ । उनीहरूका लागि आकर्षक रोजगारी सिर्जना गर्नेतर्फ हुनुपर्छ । आगामी वर्षको बजेटले यसबारेमा ठोस कार्यक्रम ल्याउनुपर्छ । बजेट हाम्रा लागि आउने होइन भन्ने युवाहरूको धारणामा परिवर्तन ल्याउँदै उनीहरू उत्साहित हुने बजेट ल्याउनुपर्छ ।’ युवालाई केन्द्रमा राखेर सरकारले नीति र बजेट बनाउन नसकेमा हाम्रा युवाहरू रोजगारीको खोजीका लागि गोरखपुर पुगेर रेल चढ्ने र कोही युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान चढ्ने क्रम जारी नै रहने उहाँको भनाइ छ । नेता चौधरीले अर्थतन्त्रमा सामान्य समस्या रहेको सो समस्या विगत सरकारबाट वर्तमान सरकारलाई हस्तान्तरण भएको जिकिर गर्दै थोत्रो गाडीमा इमानदार ड्राडभर फेर्दैमा गाडी रफ्तारमा कुद्न नसक्ने बताउनुभयो । जसका लागि गाडीकै मर्मतसम्भार आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘अर्थतन्त्रमा गत वर्षदेखि नै समस्या थिए तर हाम्रो सुझावलाई बेवास्ता गरियो, त्यसको परिणाम अहिले देखिएको मात्रै हो ।’

नेपाली अर्थतन्त्रलाई श्रीलंकाको अर्थतन्त्रसँग जोडेर केहीले धमिलो पानीमा माछा मार्न खोजेको पनि उहाँले आरोप लगाउनुभयो । नेता चौधरीले भन्नुभयो, ‘हाम्रो अर्थतन्त्रमा केही समस्या छन् तर ती समस्या हाम्रै पहलमा समाधान गर्न सकिन्छ र अर्थतन्त्रलाई गतिशील बनाउन सम्भव छ, त्यसका लागि कार्यान्वयनमा रहेका विकास परियोजनालार्ई समयसीमा निर्धारण गरी सम्पन्न गर्नुपर्छ । पाइपलाइनमा रहेका परियोजनालाई द्रुतगतिमा कार्यान्वनमा लैजान आवश्यक छ ।’

वैदेशिक मुद्राको सञ्चितिमा परेको चाप र रोजगारीजस्ता विषयको समाधान आन्तरिक र बाहृय लगानी वृद्धि गर्नु हो भन्दै उहाँले सरकारको ध्यान वैदेशिक लगानीकर्ता र आन्तरिक लगानीकर्ताका लागि लगानीको उत्साहजनक वातावरण तयार गर्ने र उनीहरूलाई प्रोत्साहन गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा पनि जोड दिनुभयो । नेपाली अर्थतन्त्र बलियो बनाउन पर्यटन र जलविद्युत्को विकासमा गम्भीर बन्नुपर्ने आवश्यकता रहेको पनि नेता चौधरीले आंैल्याउनुभयो । उहाँले भन्नुभयो, ‘भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदैछन्, हाम्रो ध्यान भारत र चीनबाट ५० लाख पर्यटक नेपाल ल्याउने हुनुपर्छ ।’

बढ्दो व्यापारघाटा अर्को समस्या रहेको भन्दै नेता चौधरीले व्यापारघाटालाई सन्तुलनमा ल्याउन जलविद्युत् निर्यात नै उपयुक्त विकल्प रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले १५ सय मेगावाट बिजुली निर्यात गर्न सक्यौँ भने हाम्रो व्यापारघाटा सन्तुलनमा ल्याउन सकिनेछ ।’

तरलता संकट र बढ्दो व्याजदरको समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकले विशेष ध्यान दिन आवश्यक रहेकोतर्फ ध्यानाकर्षण गराउँदै उहाँले सरकारको ढुकुटीमा थुप्रिएको रकमलाई बजारमा ल्याउन आवश्यक रहेको बताउनुभयो । चौधरीले भन्नुभयो, ‘आर्थिक वर्षको १० महिनासम्ममा पनि सरकारले पुँजीगत बजेटको ३१ प्रतिशतमात्रै खर्च गरेको छ । हाम्रो विकासको संरचनागत प्रणालीमै समस्या छ । यसमा सुधार नगरेसम्म हामीले विकासको अनुभूति नै गर्न नपाउने भयौँ, विकास बजेट कार्यान्वयन गरे पनि हुने र नगरे पनि हुने अहिलेको प्रणालीमा सुधार ल्याउन खास व्यवस्था मिलाउनुपर्छ । अन्यथा आगामी वर्षमा पनि विकासको यही दारुण कथा दोहोरिइरहनेछ ।’
हाम्रो अर्थतन्त्रमाथि दबाब बढ्नुमा बाहृय कारण पनि जिम्मेवार रहेको उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ, स्टिललगायतका वस्तुको उच्च मूल्यवृद्धि भएको र त्यसको प्रत्यक्ष असर हामीलाई परेको उल्लेख गर्दै नेता चौधरीले यस्ता विषयमा सजग रहन आवश्यक रहेको बताउनुभयो ।

वैदेशिक मुद्राको सञ्चिति जोगाउने प्रयासमा आयातमा गरिएको कडाइले कतिपय अवस्थामा हाम्रो आन्तरिक उत्पादनमूलक उद्योगमा नकारात्मक असर पर्ने अवस्था आउन सक्नेतर्फ ध्यानाकर्षण गराउँदै चौधरीले आन्तरिक उत्पादन घट्ने, राजस्व संकलनमा नकारात्मक असर पर्ने र रोजगारी कटौतीका लागि दबाब पर्ने जस्ता समस्या आउन सक्ने भएकाले सरकार, निजी क्षेत्र र सरोकारवालाबीचमा गम्भीर गृहकार्य आवश्यक रहेको बताउनुभयो ।

त्यसैगरी माओवादी नेता तथा सांसद गिरिराजमणि पोखरेलले गरिबी शून्यमा झार्ने रोजगारी र स्वरोजगारीमा जोड दिनुपर्ने बताउनुभयो । हाल १५ देखि २९ वर्षका १९.२ प्रतिशत युवा बेरोजगार रहेको उल्लेख गर्दै उहाँले चुनावमा तिनै युवाले मतदान गरेको बताउनुभयो । तीनै तहको सरकारले मात्रै नभई गैरसरकारी क्षेत्रलाई पनि परिचालन गरेर उनीहरूलाई शिक्षा, स्वास्थ्य, रोजगारीसहित सुखमय वातावरणको बाटो देखाउनुपर्ने उहाँको भनाइ छ । पोखरेलले सरकारको फोकस कृषि, वन, विद्युत्, यातायात, पर्यटन र आइटी क्षेत्रमा हुनुपर्ने बताउनुभयो । उहाँले शिक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगले नेपालको २५ वर्षको जनशक्ति प्रक्षेपणको एउटा अध्ययन प्रतिवेदन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको र त्यो सार्वजनिक नभएको पनि बताउनुभयो ।

नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले पुँजीगत खर्च नहुनुमा अर्थतन्त्रमा रहेको संरचनागत संरचनाले काम गरेको जिकिर गर्नुभयो । उहाँले पुँजीगत खर्च नहुने प्रवृत्ति अन्त्यका लागि सरोकारवाला एवं सांसद र अर्थ मन्त्रालयलगायतले सार्थक प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । शोधनान्तर घाटा कम गर्न देशभित्रै खाद्य उत्पादनमा वृद्धि गर्नुपर्ने तथा उद्योग व्यवसायको प्रवद्र्धन, निजी, सार्वजनिक साझेदारीका सम्बन्धमा स्पष्ट नीतिगत व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ । डा. रिजालले विश्वव्यापीरूपमा अर्थतन्त्रमा परेको दबाब र चापको प्रभाव अर्थतन्त्र र मुद्रास्फीतिमा परेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?