सरकारको प्राथमिकतामा चुनाव : यस वर्ष पनि विद्यार्थीले समयमै पाठ्यपुस्तक नपाउने

Read Time = 8 mins

डिबी शर्मा/हिटा
काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु हुनासाथ माध्यमिक तहसम्म अध्ययनरत विद्यार्थीलाई एउटै पिरलो हुन्छ, ‘समयमै पाठ्यपुस्तक पाइन्छ कि नाइँ ?’ यो समस्या नौलो होइन । बर्सेनि प्रायः यस्तै अन्योलबीच नयाँ शैक्षिक सत्र सुरु हुन्छ । परिणाम समयमै सबै विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउँदैनन् । नयाँ शैक्षिक सत्र सुरु हुनासाथ विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्नुपर्ने हो ।

प्रायः रहेक वर्ष विद्यार्थीको हातमा समयमै पाठ्यपुस्तक पुग्दैन । यस वर्ष पनि विद्यार्थीले समयमै पाठ्यपुस्तक नपाउने निश्चित भएको छ । छपाइको काम नसकिएकोले विद्यार्थीले समयमै पाठ्यपुस्तक नपाउने भएका हुन् । देशभरि वैशाख पहिलो सातादेखि सुरु हुने भए पनि केही जिल्लामा १ फागुनदेखि शैक्षिक सत्र सुरु हुन्छ ।

यसपटक कोरोना महामारीका कारण जेठ पाँचदेखि नयाँ शैक्षिक सत्र सुरु गर्न शिक्षा मन्त्रालयले निर्देशन दिएको थियो । तर, पाठ्यपुस्तक र पाठ्यसामग्री छाप्ने जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्रले भने अझैसम्म छपाइको काम सम्पन्न गर्न सकेको छैन । जेठ ५ गतेबाट नै शैक्षिक सत्र सुरु भए पनि पाठ्यपुस्तक छपाइ र वितरण हुन नसक्दा विद्यार्थीलाई कसरी पढ्ने ? भन्ने अन्योल सिर्जना भएको छ ।

कक्षा ४, ७ र ९ मा सरकारले नयाँ पाठ्यपुस्तक लागू गरेको छ । तर, अहिलेसम्म पनि छपाइ कार्य पूरा हुन सकेको छैन । सरकार स्थानीय निर्वाचनको तयारीमा लाग्दा जेठ पहिलो सातासम्म पनि विद्यार्थीहरूको हातमा पाठ्यपुस्तक उपलब्ध हुन नसकेको हो । सरकारले निर्वाचन र मतपत्र छपाइलाई प्राथमिकता दिँदा लाखौँ विद्यार्थी समयमै पाठ्यपुस्तक पाउनबाट वञ्चित भएका हुन् ।

सरकारले पाठ्यपुस्तक छपाइमा हेलचेक्रयाइँ गर्‍यो : कँडेल
नयाँ शैक्षिक सत्र सुरु भइसक्दासमेत पाठ्यपुस्तक नपाएपछि लाखौँ बालबालिकाहरूको भविष्यमा अन्योलमा पारेको प्राध्यापकहरू बताउँछन् । विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेल समयमै पाठ्यपुस्तक नपाएर विद्यार्थीले पढ्न पाउने अधिकारबाट वञ्चित हुनुपर्ने स्थिति आएको बताउनुहुन्छ । अबका दुई/तीन महिनासम्म पनि विद्यार्थीहरूले पाठ्यपुस्तक पाउने सम्भावना नरहेको उहाँको भनाइ छ । पाठ्यपुस्तक नभएपछि पाठ्यक्रमको आधारमा पठनपाठन गर्ने र अग्रज विद्यार्थीहरूका पुस्तक मागेर नयाँ विद्यार्थीहरूलाई दिने योजना रहेको उहाँको भनाइ छ ।

प्रधानाध्यापक कँडेलले कक्षा ४, ७ र ९ को नयाँ पाठ्यपुस्तकहरू लागू भएकोले यी कक्षामा अध्ययन गर्ने विद्यार्थीहरूलाई अध्यापन गराउन समस्या भएको बताउनुभयो । ‘सरकारले जेठ ५ गतेबाट पठनपाठन सुरु गर्न भनेको थियो । हामीले जेठ ५ गतेदेखि नियमित पठनपाठन गर्ने योजना बनाएका थियौँ,’ उहाँले भन्नुभयो, ‘कक्षा १ देखि १० सम्मकै पाठ्यपुस्तक छैन । हामी अन्योलमा छौँ । डेढ/दुई महिना ढिलो हुन्छ भनेर जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले भनेको छ भनेर पुस्तक पसलेहरू भन्नुहुन्छ ।’ सरकारले पाठ्यपुस्तक छपाइमा हेलचेक्रयाइँ गरेको प्रधानाध्यापक कँडेलको आरोप छ ।

समयमा कागज आपूर्ति नहुँदा र छपाइकै सिजनमा चुनाव हुँदा ढिला भयो : आचार्य
माध्यमिक तहको पाठ्यपुस्तक छपाइको काम अधिकांश जनक शिक्षा सामग्री केन्द्रले गर्दै आएको छ । यसवर्ष निर्वाचनलगायत कारणले समयमै सबै पाठ्यपुस्तक छाप्न नसकिएको स्वीकार गरेको छ । सामग्री केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यले समयमै सबै पाठ्यपुस्तक छाप्न नसकिएको स्वीकार गर्नुभयो । ‘छपाइमा केही ढिला भएको हो । कागज पनि समयमा आपूर्ति भएन र छपाइकै सिजनमा चुनाव पनि भयो,’ उहाँले भन्नुभयो, ‘त्यसले पनि ढिला भयो ।

तर, थारै मात्रै छपाइको काम बाँकी भएकोले जेठभित्रै सबै विद्यार्थीले पाठ्यपुस्तक पाउने उहाँको दाबी छ । एक महिनामा सम्पूर्ण छपाइ सक्नेगरी काम भइरहेको बताउँदै केही दिनमै पुस्तक बिक्री सुरु गर्ने उहाँको भनाइ छ । ‘२०/३० लाख जति छाप्न बाँकी छ । एक करोड ८०/९० लाख जति आवश्यक हो । डेढ करोड छापिसकेका छौँ,’ उहाँले भन्नुभयो, ‘यो महिनाभरिमा विद्यार्थीले पाठ्यपुस्तक पाउँछन् । एक करोड ८०, ९० लाख जति चाहिने हो । एक महिनामा सक्ने गरी काम गरिरहेका छौँ । छाप्दै दिँदै गर्छौं ।’

समयमै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्छ : कोइराला
शिक्षा मन्त्रालयले भने समयमै विद्यार्थीले पाठ्यपुस्तक पाउने दाबी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले पाठ्यपुस्तक सम्बन्धित ठाउँमा पठाइएकोले समयमै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने बताउनुभयो । ६ महिनाअघि नै कर्णाली प्रदेशमा पाठ्यपुस्तक पुगिसकेको र अन्य ठाउँहरूमा समयमै विद्यार्थीहरूको हातमा पुस्तक पुग्ने उहाँको भनाइ छ । स्थानीय तह निर्वाचन र युक्रेनमा भएको युद्धका कारण केही ढिलो हुन गएको उहाँले स्वीकार गर्नुभयो ।

‘वैशाखमा पुस्तक छाप्ने हाम्रो योजना थियो । युक्रेनमा भएको युद्धका कारण सप्लायर्सले कागजहरू ल्याउन सकेनन्,’ उहाँले भन्नुभयो, ‘तेस्रो भनेको चुनावको कारणले पनि छाप्न सकिएन । पाठ्यपुस्तक समयमै सबै ठाउँमा गइसकेको छ । हामीले छिट्टै किताब वितरण गर्न थाल्नेछौँ । अझै ५/७ दिन मत गणनाको कारणले ढिला हुने देखिन्छ । स्थानीय निर्वाचनका कारण केही ढिला भएको जस्तो दखिएको हो तर समयमै सबैको हातमा किताब पुग्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?