६ सय पालिकाको नतिजा सार्वजनिक हुँदा कांग्रेसले जित्यो २६५ ठाउँमा, माओवादी र एमाले एक/एक उपमहानगरमा विजयी

नारायण भण्डारी
Read Time = 13 mins

नारायण भण्डारी/हिटा
काठमाडौं । शनिबारदेखि जारी मतगणनामा ६ सय भन्दा बढी पालिकाहरूको नतिजा आइसकेको छ । बिहीबार राति ११ बजेसम्मको मत परिणाम अनुसार नेपाली कांग्रेसले २६५ स्थानमा विजयी भएको छ भने ५९ पालिकामा अग्रता लिइरहेको छ । दोस्रो स्थानमा रहेको नेकपा एमालेले १६९ पालिकामा जित हात पारेको छ । यसैगरी उसले २७ स्थानमा अग्रता लिइरहेको छ । उता माओवादी केन्द्र १०७ स्थानमा विजयी र १३ स्थानमा अग्रता कायम गर्दै तेस्रो स्थान ओगट्न सफल छ ।

मतगणनाको परिणाम सार्वजनिक हुने क्रममा दुई उपमहानगरपालिकाको नतिजा पनि आइसकेको छ जसमा जितपुर सिमरा उपमहानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रले जित हात पारेको छ भने दाङको घोराहीमा एमाले विजयी भएको छ । तर देशका ६ वटा महानगरपालिकामा र ९ उपमहानगरपालिकामा भने मतगणना जारी नै छ । कतिपय उपमहानगरपालिकामा मतगणना अन्तिम चरणमा पुगेको छ । काठमाडौं महानगरपालिका अहिलेसम्म ५० प्रतिशत समेत मतगणना भएको छैन ।

बिहीबार राति यो समाचार तयार पार्ने बेलासम्म काठमाडौंमा ७० हजारको हाराहारीमा मत गणना भइसकेको छ । महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ( बालेन) अग्रस्थानमा हुनुहुन्छ । अग्रस्थान मात्र होइन उहाँको मतान्तर झन् झन् फराकिलो हुँदै गएको छ । बालेनले २४ हजार ६३३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले १३ हजार ३७ मत ल्याउनुभएको छ । त्यस्तै नेपाली (कांग्रेस) की उम्मेदवार सृजना सिंहले १२ हजार २७२ मत पाउनुभएको छ ।

त्यस्तै सबैभन्दा चर्चाको रूपमा हेरिएको भरतपुर महानगरमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेनु दाहाल अगाडि हुनुहुन्छ । दाहालले १७ हजार ९७२ मत ल्याउनुभएको छ । एमालेका उम्मेदवार विजय सुवेदीले १४ हजार ६४७ मत ल्याउनुभएको छ । कांग्रेसबाट बागी उठ्नुभएका जगन्नाथ पौडेलले सात हजार २३१ मत ल्याएर तेस्रो स्थानमा हुनुहुन्छ ।

यता उपत्यकाभित्रको अर्को महानगर ललितपुरमा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन अघि हुनुहुन्छ । महर्जनले सुरुवातदेखि नै आफूलाई अग्रता दिलाउँदै आउनुभएको छ । उहाँको प्रारम्भिक मत परिणाम हेर्दा पुनः ललितपुरको महानगर प्रमुखमा दोहोरिने निश्चितजस्तै देखिन्छ । चिरीबाबुले १९ हजार ३२४ मत पाउँदा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १० हजार ६१० मत पाउनुभएको छ ।

त्यस्तै पोखरा महानगरमा गठबन्धनका उम्मेदवार धनराज आचार्य अगाडि देखिनुभएको छ । उहाँले २४ हजार ३२ मत प्राप्त गर्नुभएको छ । एमालेका उम्मेदवार कृष्णबहादुर थापाले २१ हजार १८७ मत ल्याउनुभएको छ । विराटनगर महानगरमा कांग्रेसका नागेश कोइराला अग्रस्थानमा हुनुहुन्छ । कोइरालाले पछिल्लो मत परिणाम अनुसार २० हजार ७९५ मत ल्याउनुभएको छ । एमालेका सागरकुमार थापाले १५ हजार ४३४ मत ल्याउनुभएको छ । वीरगंज महानगरपालिकामा गठबन्धनका उम्मेदवार अगाडि रहनुभएको छ । जनता समाजवादी पार्टीका उम्मेदवार राजेशमान सिंहले १९ हजार ४३९ मत ल्याएर अगाडि हुनुहुन्छ । एमालेका विजयकुमार सरावगीले १० हजार १६१ मत पाउनुभएको छ ।

इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेस उम्मेदवार हेम कर्ण पौडेल २०,७७३ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । पौडेललाई पछ्याइरहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का यामकुमार चुंगवाङ सुब्बाले १७,५५२ मत ल्याउनुभएको छ । उपमेयरमा एमालेकी संगीताकुमारी चौधरी २०,०६७ मतसहित अगाडि हुनुहुन्छ । उहाँलाई एकीकृत समाजवादीका केशवकुमार विष्टले ११,८७६ मतसहित पछ्याइरहनुभएको छ ।

धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्रका हर्कराज राई अघि हुनुहुन्छ । उहाँले ९,२९५ मतसहित अग्रता लिइरहनुभएको छ । उहाँलाई नेपाली कांग्रेस उम्मेदवार किशोर राई ९,०२२ मतका साथ पछ्याइरहनुभएको छ । यस्तै एमालेकी मञ्जु भण्डारी ७,२८८ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ । उमपेयरमा माओवादीका अइन्द्र विक्रम बेघा १०,१६९ मतसहित अगाडि हुनुहुन्छ भने उहाँलाई एमालेका पदमप्रसाद लिम्बुले ९,७३६ मतसहित पछ्याइरहनुभएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी ५,४४८ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । सुडीलाई पछ्याइरहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का शिवशंकर साहले ३,४९६ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा कांग्रसकी किशोरी साह ५,९११ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने उहाँलाई रुणादेवी झाले ३,७८० मतसहित पछ्याइरहनुभएको छ ।

बाराको कलैया उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका विनोदप्रसाद साह १८,०३९ मतसहित अगाडि हुनुहुन्छ । उहाँलाई कांग्रेसका राजेश राय यादवले १,३१७३ मतसहित पछ्याइरहनुभएको छ । त्यस्तै उपमेयरमा पनि एमालेका रौशन परविन १३,८३५ मतका साथ पहिलो स्थानमा हुनुहुन्छ भने ११,७३० मतका साथ उहाँलाई पछ्याइरहनुभएको छ ।

जितपुर सिमरा उपमहानगरपालिकाको मेयरमा नेपाल कम्युनिष्ट पार्टीका (माओवादी केन्द्र) उम्मेदवार राजन पौडेल निर्वाचित हुनुभएको छ । उहाँले १८,७४३ मतका साथ विजय प्राप्त गर्नुभयो । पौडेलका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)की सरस्वतीदेवी चौधरीले १७,७७९ मतमा रोकिनुभयो । त्यस्तै उपमेयरमा भने एमालेका भोलाप्रसाद अधिकारी १७,४९२ मतसहित विजयी हुनुभएको छ । उहाँकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी मेघा शाहीले १५,८४२ मत प्राप्त गर्नुभयो ।

हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेपाल कम्युनिष्ट पार्टीकी (एकीकृत समाजवादी) उम्मेदवार मीनाकुमारी लामाले १८,२७१ मतका साथ अग्रता लिइरहनुभएको छ भने दोस्रोमा(एमाले)का अनन्तप्रसाद पौडेलले १७,०२६ मत ल्याउनुभएको छ । राप्रपाका दीपक बहादुर सिंहले १६,३११ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा कांग्रेसका राजेश बानिया २ ६४४६ मतसहित पहिलो स्थानमा हुनुहुन्छ भने एमालेकी सुमित्रा काफ्ले १९,१०२ मतसहित दोस्रो स्थानमा रहनुभएको छ ।

बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेस उम्मेदवार खेलराज पाण्डेय २२,७७२ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । पाण्डेयलाई पछ्याइरहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बाबुराम भट्टराईले १६,५२० मत ल्याउनुभएको छ । उपमेयरमा एमालेकी सावित्रादेवी अर्याल १६,०८८ मतसहित अग्रस्थानमा रहँदा एकीकृत समाजवादीका चीनबहादुर गुरुङले ११,६२० मतसहित पछ्याइरहनुभएको छ ।
दाङको घोराही उपमहानगरपालिकाको मेयरमा एमालेका नरुलाला चौधरी विजयी हुनुभएको छ । चौधरीले ३१,७२८ ल्याएर नेकपा माओवादी केन्द्रका हेमराज शर्मा पोख्रेललाई पराजित गर्नुभयो । त्यस्तै उपमेयरमा पनि एमालेकै हुमाकुमारी डिसीले ३०,६४०३ मतले विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका भुप बहादुर डाँगी ३०,३५४ मत ल्याएर पराजित हुनुभयो । दाङकै अर्को उपमहानगरपालिका तुलसीपुरमा कांग्रेसका गेहेन्द्र गिरीले ६,२३२ मत ल्याएर अग्रता लिइरहनुभएको छ । उहाँलाई एमालेका टिकाराम खड्काले ६००३ मतका साथ पछ्याइरहनुभएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार प्रशान्त विष्ट १८,३४८ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । विष्टलाई पछ्याइरहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पशुपति दयाल मिश्राले १०,००५ मत ल्याउनुभएको छ । उपप्रमुखमा जसपाका कमरुद्दीन राई १३,३३० मतका साथ अग्रता लिइरहनुभएको छ भने राप्रपाकी बिन्दु चर्ति मगरले ९,४८७ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।

उता, धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल १६,४१५ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । हमाललाई पछ्याइरहनुभएका नेपाली कांग्रेसका नृपबहादुर वडले ८,१२३ मत ल्याउनुभएको छ । त्यस्तै उपमेयरमा नेकपा माओवादी केन्द्रकी शान्तिकुमारी अधिकारी ७,४५७ मतसहित अगाडि हुनुहुन्छ भने एमालेकी कन्दकलाकुमारी राना ६,६१७ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।

निर्वाचनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई सरकारको धन्यवाद
सरकारले स्थानीय तह सदस्य निर्वाचन २०७९ मा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरूलाई धन्यवाद दिएको छ । वैशाख ३० गते देशभर एकसाथ सम्पन्न भएको स्थानीय तह निर्वाचन २०७९ मा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरूको सहयोग अतुलनीय भएको भन्दै सरकारले धन्यवाद दिएको हो ।

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले निर्वाचनमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरूलाई धन्यवाद दिएको गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।
बैठकमा गृहमन्त्री खाँणले निर्वाचनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना एवं मृत्यु भएकाहरूप्रति समवेदना एवं परिवारलाई राहत तथा क्षतिपूर्ति प्रक्रिया शीघ्र अघि बढाउन निर्देशन दिनुभएको सहसचिव पोखरेलले जानकारी गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?