स्वतन्त्र उम्मेदवारप्रति मतदाताको विश्वास, राजनीतिक दलबाट कारबाहीमा परेका जनताबाट पुरस्कृत

Read Time = 15 mins

अनिल क्षेत्री/हिटा
काठमाडौं । सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको कैलारी गाउँपालिकामा सत्तारूढ पाँच दलीय गठबन्धनले कारबाही गरेका नेपाली कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिनुभएका राजसमझ चौधरी अध्यक्षमा निर्वाचित हुनुभयो । चुनावी गठबन्धनको सिट बाँडफाँटमा कैलारी माओवादी केन्द्रको भागमा परेको थियो । तर, स्थानीयस्तरमा सहमति नजुटेपछि गठबन्धनको सहमतिविपरीत चौधरीले उम्मेदवारी कायमै राख्नुभयो । उम्मेदवारी फिर्ता लिने बेलासम्म गठबन्धन दलमा सहमति नजुट्दा कांग्रेसका तर्फबाट अध्यक्षमा राजसमझको उम्मेदवारी कायम रहेको थियो । चौधरी रूख चिन्हबाटै चुनाव लड्नुभएको थियो । चौधरी गठबन्धनकै आधिकारिक उम्मेदवार माओवादीका लाजुराम चौधरीलाई पराजित गर्दै गाउँपालिकाको अध्यक्षमा विजयी हुनुभएको हो ।

राजसमझले १० हजार ४९२ मत प्राप्त गर्दा गठबन्धनका आधिकारिक उम्मेदवार लाजुरामले ६ हजार ४३० मत पाउनुभयो । उपाध्यक्षमा नेपाली कांग्रेसकी आधिकारिक उम्मेदवार भागवतीकुमारी चौधरी विजयी हुनुभयो । भागवतीले १० हजार ४८४ मत ल्याएर निवर्तमान उपाध्यक्ष माओवादी केन्द्रकी लक्ष्मी सत्गौवा थारूलाई पराजित गर्नुभएको हो । कैलारी गाउँपालिकामा कांग्रेसले १ देखि ९ वडासम्म पूरै प्यानलसहित जितेको छ । गत स्थानीय तह चुनावमा गाउँपालिका अध्यक्षसमेत जितेको माओवादी यसपालि कैलालीमा ‘क्लिनस्विप’ भयो ।

चुनावी प्रचार अभियानका क्रममा गत वैशाख २६ गते धनगढी पुगेर प्रधानमन्त्रीसमेत रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवाले राजसमझलाई उम्मेदवारी फिर्ता गर्न निर्देशन दिनुभएको थियो । यसअघि पनि स्वतन्त्र उम्मेदवारकै कारण हारेको इतिहास रहेको उल्लेख गर्दै देउवाले गठबन्धनलाई हराउने उम्मेदवारलाई नछाड्ने चेतावनीसमेत दिनुभएको थियो । मनोनयनको समय घर्केर पनि गठबन्धनमा सहमति नभएपछि कांग्रेसबाट रामसमझले अध्यक्षमा र माओवादी केन्द्रबाट उपाध्यक्षमा लक्ष्मी सत्गौवाले उम्मेदवारी दिनुभएको थियो । तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्षमा कांग्रेसका रामसमझले उम्मेदवारी फिर्ता नगरेको र कांग्रेसले फिर्ता नगराएको भन्दै लक्ष्मीको पक्षमा मत माग्नुभएको थियो । लक्ष्मी पनि उपाध्यक्षमा पराजित हुनुभयो ।

यता, जुम्लाको चन्दननाथ नगरपालिका-५ का नेपाली कांग्रेसका नेता राजुसिंह कठायतले नेपाली कांग्रेसबाट मेयरको टिकट नपाएपछि नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनुभयो । स्वतन्त्र उम्मेदवारमा मनोनयन दर्ता गरेपछि कठायतले कांग्रेसको साधारण सदस्य नरहने गरी राजीनामा दिएर एकीकृत समाजवादी र राप्रपासँग चुनावी तालमेल गर्नुभयो । अन्ततः आफ्नै दल नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार पदमबहादुर शाहीलाई हराउँदै नगर प्रमुखमा विजयी मात्र हुनुभएन कांग्रेसको गढ भत्काउन सफल हुनुभयो । यसअघि राप्रपाका नेता रहनुभएका कठायत २०५४ को स्थानीय निर्वाचनमा राप्रपाले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार भएर चन्दननाथ-७ को वडाध्यक्षमा विजयी हुनुभएको हो ।

दलका नेताहरूले टिकट वितरणमा मनोमानी गरेको भन्दै पार्टीबाट विद्रोह गरेर स्वतन्त्र उठेका धादिङको नीलकण्ठ नगरपालिका-८, नीलकण्ठ-३, ज्वालामुखी-४ र धुनीबेंसी-५ का उम्मेदवार पनि विजयी भएका छन् । नीलकण्ठ-८ मा भुइँकटहर चिह्न पाउनुभएका वडाध्यक्ष प्रकाशकुमार श्रेष्ठले एक हजार १५३ मत पाउनुभयो । एमालेका जितबहादुर कुमालले ४१२ र कांग्रेसका रमेश कोइरालाले ३६३ मत प्राप्त गर्नुभयो । श्रेष्ठ २०७४ मा कांग्रेसबाट विजयी भएर वडा सदस्य तथा नगर कार्यपालिका सदस्य हुनुहुन्थ्यो । बागी प्यानलबाट महिला सदस्यमा दुर्गा अधिकारी, दलित सदस्यमा विमला बराइली, खुला सदस्यमा छविप्रसाद काप्री र उमेश मगर विजयी हुनुभयो । नीलकण्ठ-३ मुख्य प्रतिस्पर्धी कांग्रेसका गोपीकृष्ण भण्डारीसहित एमाले र माओवादीका उम्मेदवारलाई दोब्बर मतले पराजित गर्दै स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठ वडाध्यक्षमा विजयी हुनुभयो । कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिनुभएका श्रेष्ठले गुलाबको फूल चिन्हबाट चुनाव लड्नुभयो । कांग्रेसको पकड रहेको वडामा कांग्रेसबाटै स्वतन्त्र उठेर श्रेष्ठ चुनाव जित्न सफल हुनुभयो ।

धादिङकै धुनिबेसी-५ को वडाध्यक्षमा कांग्रेसकै स्वतन्त्र विशाल भट्टराई ८८६ मत ल्याएर विजयी हुनुभयो । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कृष्णकुमार रेग्मीले ६७८ मत प्राप्त गर्नुभयो । धादिङकै ज्वालामुखी-४ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिनुभएका कृष्णबहादुर गुरुङले कांग्रेसकै उम्मेदवार कृष्णलाल श्रेष्ठलाई दोब्बरभन्दा बढी मतले पराजित गर्नुभयो । पार्टीले टिकट नदिएपछि खरायो चिन्हमा चुनाव लड्नुभएका गुरुङले एक हजार १३० मत ल्याउनुभयो । कांग्रेसका आधिकारिक उम्मेदवार श्रेष्ठको भन्दा यो ५९१ मत बढी हो ।

झापाका गौरादह नगरपालिका-३, झापा गाउँपालिका-३ र ५ तथा बाह्रदशी गाउँपालिका-४ मा स्वतन्त्र उम्मेदवारहरूले जित हासिल गर्न सफल हुनुभएको छ । गौरादह-३ को वडाध्यक्षमा एमालेबाट स्वतन्त्र दिलीपकुमार भण्डारी एमालेकै आधिकारिक उम्मेदवार गजेन्द्रप्रसाद घिमिरेलाई झण्डै दोब्बर मतान्तरले पराजित गरेर विजयी बन्नुभयो । जेब्रा चिन्ह लिएर चुनाव लड्नुभएका भण्डारीले एकहजार ९४ मत पाउँदा निकटतम प्रतिस्पर्धी घिमिरेले ५८६ मत मात्र पाउनुभयो ।

झापा गाउँपालिका-३ को वडाध्यक्षमा पनि बागी उम्मेदवार सुवासलाल गणेश निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसका क्रियाशील गणेश पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएर निकटतम प्रतिस्पर्धी एमालेका खड्गनारायण राजवंशी र कांग्रेसका भागीरथप्रसाद गणेशलाई पारजित गर्दै विजयी हुन सफल हुनुभयो । कांग्रेस गाउँ सभापति सागीरथप्रसाद गणेशले आफ्ना दाजु भागीरथ प्रसादलाई वडाध्यक्षको टिकट दिने निर्णय गरेपछि सुवासलाल स्वतन्त्र उम्मेदवार उठ्नुभएको थियो । भुइँकटर चुनाव चिन्ह लिएर वडाध्यक्षमा निर्वाचित सुवासलालले ९५५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धीहरू एमालेका खड्ग नारायणले ६६३ र कांग्रेसका भागीरथले ५५९ मत पाउनुभयो । झापा गाउँपालिका–५ मा पनि एमालेका स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद राजवंशीले पनि निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अबेदुल मियाँ र एमालेका उम्मेदवार रत्नप्रसाद दुलाललाई पराजित गर्दै वडाध्यक्षमा जित हासिल गर्न सफल हुनुभएको छ । राजवंशीले ४८४ मत पाउँदा मियाँले ४०७ र एमालेका उम्मेदवार दुलालले भने २७९ मत पाउनुभयो ।

झापाकै बाह्रदशी गाउँपालिका-४ मा कांग्रेसबाट स्वतन्त्रको प्यानल नै विजयी भएको छ । कांग्रेसका पुराना क्रियाशील सदस्य महताव आलमले पार्टीबाट टिकट नपाएपछि प्यानलसहित स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । बाह्रदशीमा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएपछि उक्त वडामा माओवादीले उम्मेदवार उठाएको थियो । गठबन्धनविरुद्ध प्यानल बनाएर स्वतन्त्र उम्मेदवारी दिएका आलमले ७५२ मत पाउनुभएको थियो भने गठबन्धनबाट वडाध्यक्षका उम्मेदवार बन्नुभएका माओवादी केन्द्रका समिम मियाँले ५९१ मत मात्र पाउनुभयो । गुलाफको फूल चिन्ह लिएर चुनाव लड्नुभएका आलमको प्यानलबाट महिला सदस्यमा कल्पना श्रेष्ठ, दलित महिला सदस्यमा सुमित्रादेवी मोची तथा सदस्यमा विवेककुमार गणेश र बलबहादुर बानियाँ निर्वाचित हुनुभयो । दलित महिला सदस्य सुमित्रा र सदस्य विवेक पनि कांग्रेसका बागी हुन् । कल्पना भने एमालेकी बागी उम्मेदवार हुन् ।

स्वतन्त्र उम्मेदवारप्रति मतदाताको भरोसा
स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरू निकै सफल देखिएका छन् । बिहीबार साँझसम्मको मत परिणामअनुसार सातवटा स्थानीय तहमा त स्वतन्त्र उम्मेदवार निर्वाचित भइसकेका छन् । डोल्पाको डोल्पो गाउँपालिकामा कार्मा छोइवेल गुरुङ, जुम्लाको चन्दननाथ नगरपालिकामा राजुसिंह कठायत, कालीकोटको खाँडाचक्र नगरपालिकामा कमलबहादुर शाही, कालीकोटकै सान्नी त्रिवेणी गाउँपालिकामा मोहनबहादुर केसी निर्वाचित हुनुभएको छ । अप्रत्यासित रूपमा स्वतन्त्र उम्मेदवारहरूले ठूला र स्थापित राजनीतिक दलका आधिकारिक उम्मेदवारलाई पछाडि पारेका छन् ।

मुलुकको राजधानी काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन साहले निरन्तर दोब्बर अग्रता लिइरहँदा अरू प्रमुख शहरका पनि स्वतन्त्र उम्मेदवारहरूले ठूला राजनीतिक दलका उम्मेदवारहरूलाई सकस पारिरहेको छ । काठमाडौंसहित मुलुकका प्रमुख शहर सुनसरीको धरान, धनुषाको जनकपुर र कैलालीको धनगढी उपमहानगरपालिका तथा काभ्रेको धुलीखेल नगरपालिका लगायतका ठाउँमा स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन् । धनगढी उपमहानगरपालिकाको प्रमुखका उम्मेदवार गोपाल हमालले आफ्ना निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर बडलाई दोब्बर मतले पछाडि पार्नुभएको छ । स्वतन्त्र उम्मेदवार हमाल जित नजिक पुग्नुभएको छ ।

नेपाली कांग्रेसबाट राजीनामा दिएर जनकपुर उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनुभएका मनोजकुमार साह निकटतम् प्रतिस्पर्धी उम्मेदवारभन्दा निरन्तर निकै अगाडि देखिनुभएको छ । सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ (राई)ले स्थापित राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई धौ-धौ पारिरहनुभएको छ । बिहीबार साझसम्मको मतगणनामा साम्पाङ नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाईसमेत पछाडि पार्नुभएको छ ।

महोत्तरीको बर्दिबास नगरपालिकाको प्रमुखमा राजनीतिक दलका आधिकारिक उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार प्रल्हादकुमार क्षेत्रीले निरन्तर अग्रता लिइरहनुभएको छ । काभ्रेको धुलिखेल नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनुभएका विनोदकुमार बस्नेतले निवर्तमान नगर प्रमुखसमेत रहनुभएका एमालेका उम्मेदवार अशोक ब्याञ्जुलाई कडा टक्कर दिइरहनु भएको छ ।

तनहुँको व्यास नगरपालिकामा पनि नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार बैकुण्ठ न्यौपानेलाई पछि पारेर स्वतन्त्र उम्मेदवारले दीपकराज जोशीले लिड गरिरहनु भएको छ । यसअघिका चुनावमा पनि स्वतन्त्र उम्मेदवारले अपवादको संख्यामा चुनाव जित्ने गरेको भए पनि यसपटकको स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारको जित लहरकै रूपमा देखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?