स्थानीय तह निर्वाचन २०७९ को संकेत र सन्देश

Read Time = 17 mins

✍️ शम्भु कोइराला
नमागिएको सल्लाह :
स्थानीय तह निर्वाचन २०७९ को अधिकांश परिणाम आइसकेको छ । धेरै मतदाता भएका महानगरपालिका र उपमहानगरपालिकामा कछुवा गतिमा मतगणना भइरहेको छ । यद्यपि, ती स्थानहरूमा पनि कसको पक्षमा नतिजा जाला भन्ने संकेत देखिसकिएको छ । यो निर्वाचनबाट नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो पार्टीको रूपमा जनताबाट अनुमोदित भएका छन् । एमालेबाट अलग भएको नेकपा एसलाई आफ्नो अस्तित्व जोगाउन हम्मे परेको छ । यद्यपि पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाको नतिजा अहिलेकै लयमा कायम रहन सक्यो भने उसलाई पनि चित्त बुझाउने बाटो हुनेछ ।

नेपालमा मूलधारका पार्टीबाट टुक्रिएका पार्टीको चुनावी सफलताको इतिहास हेर्ने हो भने यो नतिजाबाट असन्तुष्ट भइहाल्नुपर्ने अवस्था भने देखिँदैन । यस चुनावमा कांग्रेस र माओवादी केन्द्रले सफलता हासिल गरेको र एमाले पराजित भएको भन्ने तात्कालिक विश्लेषण गरिएता पनि यस्तो प्रतिकूलतामा पनि एमालेको पक्षमा यो नतिजा आउनुलाई नराम्रो मान्न सकिँदैन । प्राविधिक हारजितको हिसाबले कम क्षेत्रमा जित हासिल गरे तापनि लोकप्रियताको हिसाबमा एमाले कमजोर देखिने छैन ।

बढी संसदीय सिट भएको मधेस प्रदेशमा एमालेप्रतिको तुस मेटिनु उसका लागि लाभप्रद भएको छ । धेरै प्रभावशाली नेता एमालेमा गएको माओवादीका लागि पहिलेको भन्दा राम्रो नतिजा आउनु उत्साहप्रद देखिएको छ । यो आलेखमा स्थानीय निर्वाचन–२०७९ को संकेत र सन्देशका बारेमा चर्चा गरिने छ ।

हाम्रो होइन राम्रो प्रतिनिधिको चाहना :
भरतपुर नगरपालिकाको मतगणनाको रुझान प्रचण्डपुत्री रेणुको पक्षमा देखिएता पनि अन्यत्र नेताका नातेदारहरूलाई जनताले अस्वीकृत गरिदिएका छन् । गत पाँच वर्षमा गरेको कामलाई जनताले सकारात्मक रूपमा लिएको देखियो । काठमाडौंमा प्रकाशमान पत्नी सिर्जना, कैलालीको गोदावरी नगरपालिकामा लेखराज भट्टका भाइ, विराटनगर महानगरपालिकामा उपेन्द्र यादवका छोरा, हनुमान नगर कंकालिनी नगर पालिकामा प्रदेशमन्त्रीका छोरालाई पराजित गरेर नातावादलाई जनताले अस्वीकृत गरिदिएका छन् ।

गठबन्धन नभएका कतिपय स्थानमा एकपार्टीको अध्यक्ष र अर्को पक्षको उपाध्यक्ष जिताएर राम्रो उम्मेदवारको पक्षमा मत जाहेर गरेका छन् । आफ्नो नजिकका कार्यकर्तालाई टिकट दिएको र गठबन्धनको कारण उम्मेदवारीबाट वञ्चित हुनुपरेको अवस्थामा विद्रोही बनेर उम्मेदवारी दिएकाहरू कतिपय स्थानमा विजयी बनेका छन् भने कतिपय विजयोन्मुख रहेका छन् । यो आलेखलाई अन्तिमरूप दिँदासम्म काठमाडौं महानगरपालिका, धनगढी उपमहानगरपालिका, धनुषाधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको पक्षमा मत परिणाम जाने संकेत देखिएको छ । यी स्वतन्त्र उम्मेदवारहरू सुरुवाती चरणदेखि नै अग्रता लिइरहेका छन् ।

धनगढी र काठमाडौंको स्वतन्त्र उम्मेदवारप्रतिको आकर्षणलाई विश्लेषण गर्दा मतदाता बुढा नेताका खल्तीबाट निकालिएका नाममा ठप्पा लगाउने छैनन् भन्ने स्पस्ट संकेत देखिएको छ । राजनीतिमा गुमनाम रहेकी एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेदवारको पक्षमा गएको मतलाई हेर्ने हो भने जनता त्याग तपस्याको बखानलाई भन्दा मतदाताहरू उम्मेदवारको ऊर्जाशीलतालाई मन पराउँछन् भन्ने सन्देश दिएको छ । काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन साहको पक्षमा देखिएको जनलहर युवाहरूको परिवर्तनको तीव्र चाहना हो । बालेनको लौरो आगामी संसदीय निर्वाचनमा देशका अन्य स्थानमा पनि चल्न सक्ने सम्भावनालाई पनि बलवान बनाएको छ ।

गठबन्धनलाई फलिफाप :
गठबन्धनको कारण यसका साझेदार पार्टी सबैलाई लाभ पुगेको छ । नेपाली कांग्रेस पार्टी २०७४ को परिणामलाई उल्टाउँदै ३५ प्रतिशतबाट ४३ प्रतिशतमा पालिकामा उक्लेर पहिलो बनेको छ भने २०७४ को निर्वाचनमा ३९ प्रतिशतमा जित हासिल गरेको एमाले २७ प्रतिशतमा खुम्चिने सम्भावना देखिएको छ । ठूलो विभाजनबाट गुज्रेको माओवादी केन्द्र पनि १४ बाट १६ प्रतिशतमा उक्लेर २०७४ कोभन्दा राम्रो परिणाम ल्याउन सफल भएको छ ।

एमालेबाट अलग भएको नेकपा एसको पक्षमा अपेक्षित मत परिणाम नगएको देखिए तापनि पोखरा महानगरपालिका लगायत केही उपमहानगरपालिकामा विजयोन्मुख देखिनु उसका लागि पनि निराशाजनक देखिँदैन । गठबन्धन नभएको भए उसको नतिजा निराशाजनक हुने अवस्थाबाट यो पार्टी जोगिएको छ । विभाजनबाट गुज्रेको जसपा र अन्य साना पार्टीलाई गठबन्धनका कारण लाभ नै पुगेको छ । लामो समय हिंसाको राजनीति गरेर स्थानीय चुनावमा सहभागी बनेको माओवादी विप्लव समूह पार्टी विभाजनबाट गुज्रिँदै वडा स्तरमै सीमित बन्न पुगेको छ ।

२०७२ को घटनापछि चर्चामा आएको रेशम चौधरीकी पत्नीको नाममा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले कैलालीका केही पालिकामा उपस्थिति देखाएर २०७२ को घटना राजनीतिक थियो भन्ने सन्देश दिन खोजेको छ । सिके राउतको जनमत पार्टीले सप्तरीको हनुमान नगर कंकालिनी पालिकामा उपस्थिति देखाएको छ । हिंसाको सहारा लिएका र लिन खोजेका सबै दलको सहभागिता देखिनु यो निर्वाचनको विशेषता रहेको छ ।

नेकपा एस र जसपाजस्ता पार्टीले पार्टीको पक्षमा अपेक्षित परिणाम आएन भनेर रोइलो गर्नुभन्दा आत्मसमीक्षा गर्न जरुरी देखिएको छ । यी पार्टी सत्तामा रहँदा वा अनुकूलतामा रहँदा जनपक्षीय निर्णय गर्दा रहेछन् वा नातावादलाई प्रोत्साहन गर्दा रहेछन् भन्ने हिसाबकिताब जनताले राखेको पाइयो । केही समयअगाडि सरकारले गरेका नियुक्ति, प्रधानन्यायाधीश चोलेन्द्रविरुद्धको देशव्यापी आन्दोलनमा सत्ताधारी पार्टीको बेवास्तालाई जनताले मनमा राखेको देखियो ।

अवसर आउँदा आफ्ना ज्वाइँलाई राजदूत बनाउने माधव नेपाल र राज्यकोषबाट लाखौं उपचार खर्च लिने झलनाथ खनालहरूको कर्मलाई मतदाताहरूले मनमा सुरक्षित गरेर राखेको पाइयो । भर्खर नयाँ पार्टी दर्ता गरेका नेताहरूले त्याग र आदर्शको सन्देश दिनुभन्दा आफू र आफ्नाको हितमा लागेको अवस्थामा धेरै आशा गर्नुपर्ने अवस्था थिएन । सबै पार्टीका नेताहरूले गठबन्धन वा जनतालाई दोष लाउनुभन्दा आत्मसमीक्षा गर्न जरुरी भएको छ । नेपाली कांग्रेसको अहिले देखिएको प्रगति मुख्यतः सबै पार्टीमा आएको फुटकै कारण भएको हो । उसले गरेको कामका कारण किमार्थ होइन । यसबाट बढी उत्साहित भएर अहिलेकै उराठलाग्दो नेतृत्व बोकेर संसदीय चुनावमा गएको अवस्थामा विकल्प पाए भने जनताले कांग्रेसलाई पनि बल्ड्यांग बनाइदिने सम्भावना छँदैछ ।

पार्टीको उच्च नेतृत्वलाई मतदाताको सन्देश :
सबै पार्टीको उच्च नेतृत्वलाई जनताले स्पष्ट सन्देश दिएका छन् । नेकपा एमालेभित्र आफ्ना लम्पट कार्यकर्तालाई राजनेता भन्न लगाएर आफ्नो उट्पट्याङ भाषणमा यान्त्रिक रूपमा ताली बजाउन सिकाएर आक्रामक राजनीति गरिरहेका ओलीलाई मतदाताले रक्षात्मक अवस्थामा पुर्‍याइदिएका छन् । ओलीको संविधान मिच्ने, शासकीय अक्षमता, अहंकार र छुद्र बोलीलाई समेत दण्डित गरेका छन् ।
यसैगरी काठमाडौंमा प्रकाशमान सिंहपत्नी सिर्जनालाई तेस्रो स्थानमा सीमित गरेर आफ्नो अडानविपरीत देउवालाई समर्थन गर्ने र नातावादलाई प्रोत्साहित गर्ने प्रकाशमानको इमान हराएको कामलाई समेत मतदाताले दण्डित गरेका छन् । आगामी संसदीय निर्वाचनमा मतदाताले प्रकाशमानलाई पराजित गरेर दण्डित गरे भने पनि अन्यथा मान्नुपर्ने अवस्था छैन ।

आफ्नै निजी सचिवालयमा सघाउँने डडेल्धुराका निवर्तमान सभापति कर्ण मल्ललाई विद्रोहमा जाने वातावरण बनाएर प्रधानमन्त्री देउवाको आफ्नै वडामा विद्रोही कांग्रेस विजयी भएको छ भने डडेल्धुराको सदरमुकामको अमरगढी नगरपालिकामा झिनो मतले कांग्रेस विजयी भएको छ । धनगढी नगरपालिकामा पुराना मेयरको लोकप्रियताको ख्याल नगरी पुनः उम्मेदवार बनाएकोमा पनि जनताले स्वतन्त्र उम्मेदवारलाई अगाडि बढाएर राम्रो सन्देश दिएका छन् । प्रधानमन्त्री पत्नी आरजुको कांग्रेसले हारेका पालिकामा बजेट नपठाउने विषय त कांग्रेसको जनमतलाई विषाक्त बनाउने प्रयास भयो । चुनाव परिचालन गर्न गएका देउवालगायतका नेताहरूको उपस्थिति जनतामा उत्प्रेरणा बढाउनेभन्दा निराशा पैदा गर्न र विवाद जन्माउन सहयोगी भएको पाइयो ।

जसपा नेता उपेन्द्र यादवको पुत्रमोह पार्टीभित्रको बेमेलले उसले पनि अपेक्षित नतिजा ल्याउन सकेन । विराटनगरमा मेयर जितेर उपमेयर पराजित हुनुको अर्थ कांग्रेसले असहयोग गरेन भनेर भन्नुभन्दा पुत्रमोहको धृतराष्ट्र प्रवृत्तिलाई मतदाताले अस्वीकृत गरेको भनेर आत्मसमीक्षा गरियो भने भोलिका दिनका कदमले सफलता पाउन सक्नेछन् ।

चुनावी व्यवस्थापन :
सामान्य घटनाबाहेक खासै अप्रिय घटना नभई एकै चरणमा निर्वाचन सम्पन्न हुनु सुखद पक्ष रहेको छ । हिंसामा संलग्न पक्षहरू मूलधारको राजनीतिमा समाहित भएका कारण यो चुनावमा शान्ति सुरक्षामा खासै चुनौती थिएन । यस्तो अवस्थामा मतपेटिका लुटेर भोगेको दृश्य दुनियाँदारले देख्ने अवस्था बन्नु सुरक्षाको गम्भीर कमजोरी हो ।

मतपत्र गन्ने कछुवा गति अहिलेको प्रविधिको दुनियाँमा लाजको पसारो भएको छ । प्रविधिलाई विश्वास र भरोसा नगर्ने नेता र चुनावको समयमाबाहेक निदाएर बस्ने निर्वाचन आयोगको अकर्मण्यता यसमा छर्लंग देखिएको छ । इलेक्ट्रिक भोटिङ मेसिनको प्रयोग गरिएको अनुभव छदाछँदै यो चर्चामा पनि नआउनु र अर्को पाँच वर्षको चुनावमा पनि आउँन नसक्ने भनेर घोषणा गर्नुले यससँग सम्बद्ध पक्ष कति निकम्मा र पुरातनपन्थी छ भन्ने स्वतः पुष्टि हुन्छ ।

यसलाई मतपत्र छपाउने समयमै ख्याल गरेको भए मतपत्रलाई सजिलो बनाउन सकिने थियो तर यसमा पनि आयोगको ध्यान पुग्न सकेको देखिएन । धेरै स्थानमा मत गनेर नतिजा चाँडै प्रकाशन गर्न सकिने थियो यसमा पनि समन्वयको अभाव देखियो । यो चुनावको अर्को कमजोर पक्ष मतदाता शिक्षा रहेको पाइएको छ । विराटनगर लगायत क्षेत्रमा पच्चीस प्रतिशतको हाराहारीमा मत बदर हुनु अर्को कमजोर पक्ष रहेको छ । धेरै स्थानमा हारजित भएको संख्याभन्दा धेरै मत बदर भएको कारण हार्नेले जितेको र जितेकाले हारेको अवस्था छ । ललितपुर उपमहानगरपालिका त उम्मेदवार नै नभएको रूख चिहृनमा हजारौंको संख्यामा मत देखिनुले पनि मतदाता शिक्षाको खाँचोलाई छर्लंग बनाइदिएको छ ।

सारांशमा, जनताको अदालतमा परीक्षा दिन जाँदा तयारीका साथ जानुपर्ने विषयमा विमति रहेको छैन । भनिन्छ, जनताले आफ्नो भावी प्रतिनिधिको चाल, चरित्र र चेहरालाई मूल्यांकन गर्दछन् । जनपक्षीय नीति, उम्मेदवारको लोकप्रियता र जनचाहनालाई बेवास्ता गरियो भने जनताले लिएको परीक्षामा अनुत्तीर्ण हुने निश्चित छ । राजनीतिक दलको ब्राण्ड बेचेर जनताबाट अनुमोदित बनौंला वा बनाउँला भन्ने सोचमा पनि परिवर्तन आवश्यक देखिएको छ । नातावादको आधारमा र चुनावमा पैसाको बलमा उम्मेदवार बन्ने र पैसा खर्च गरेर जित हासिल गरौंला भन्ने नेता, कार्यकर्ताको सोचमा परिवर्तन गर्न सकिएन भने नेतृत्वलाई जनताले स्वतः दण्डित गर्ने सन्देश यो स्थानीय तह निर्वाचनले दिएको छ ।

जनतामा लोकप्रिय बन्न उमेर नै निर्णायक होइन चरित्र, वैचारिक दृष्टिकोण र जनताको मनमा बस्न सक्ने सीप मुख्य हो भन्ने सन्देश ललितपुर उपमहानगर पालिकामा प्रचण्ड समर्थनसाथ विजयोन्मुख रहेका निवर्तमान मेयर चिरीबाबु महर्जनले पनि दिएका छन् । जनचाहना बुझेर स्पष्ट दृष्टिकोणका साथ भ्रष्टाचारविरोधी छवि बनाएर अघि बढ्नेहरूले नै सफलता प्राप्त गर्नसक्छन् भन्ने सन्देशसमेत भर्खरै सम्पन्न भएको निर्वाचनले दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?