जितसँगै बैंग्लोरको प्लेअफ सम्भावना कायमै

Read Time = 4 mins

बैंग्लोर । रोयल च्यालेन्जर्स बैंग्लोरले आफ्नो लिगको अन्तिम खेलमा शीर्षस्थानको गुजरात टाइटन्समाथि ८ विकेटको सानदार जित हात पार्दै इण्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा प्लेअफको सम्भावना कायमै राखेको छ । जितका लागि १६९ रनको विजयी लक्ष्य पछ्याएको बैंग्लोरले १८.४ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । बैंग्लोरका विराट कोहलीले ५४ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ७३ रन जोड्नुभयो । यस्तै कप्तान फाफ डु प्लेसिसले ३८ बलमा ५ चौकासहित ४४ रन थप्नुभएको थियो ।

पहिलो विकेटका लागि फाफ डु प्लेसिस र विराट कोहलीले १४.३ ओभरमा ११५ रनको शतकीय साझेदारी भएपनि बैंग्लोर सहजै जिततर्फ अग्रसर भएको थियो । यस्तै उसका ग्लेन म्याक्सवेल १८ बलमा ५ चौका र २ छक्कासहित ४० रनमा अविजित रहनुभयो । गुजरातका राशिद खानले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिनुभयो ।

वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ रोजेको गुजरातले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६८ रन बनाएको थियो । गुजरातका कप्तान हार्दिक पाण्ड्या ४७ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ६२ रनमा अविजित रहनुभयो ।

डेविड मिलर २५ बलमा ३ छक्कासहित ३४, ऋद्धिमान शाह २२ बलमा ४ चौका र १ छक्कासहित ३१ रनमा आउट हुनुभयो । म्याथ्यु वेडले १६ तथा राशिद खानले ६ बलमा २ छक्कासहित १९ रन बनाउनुभयो ।

बैंग्लोरका जोश हेजलवुडले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिनुभयो । बैंग्लोर प्लेअफमा पुग्न दिल्ली क्यापिटल्स शनिबार मुम्बई इण्डियन्ससँग पराजित हुनुपर्छ । अथवा राजस्थान रोयल्स चेन्नई सुपर किंग्ससँग शुक्रबार १२० रनभन्दा फराकिलो अन्तरले पराजित हुनुपर्छ । दिल्ली भने अन्तिम खेलमा जितका साथ प्लेअफमा पुग्नेछ । दिल्लीको नेटरनरेट प्लस २५५ हुँदा बैंग्लोरको माइनस २५३ छ । दिल्ली विजयी भएमा बेंगलोर बाहिरिने पक्कापक्की छ ।

बैंग्लोरको जितले सनराइजर्स हैदरावाद र पञ्जाव किंग्सको १४ अंकका साथ प्लेअफमा पुग्ने सपना पनि समाप्त भएको छ । चेन्नई सुपर किंग्स, मुम्बई इण्डियन्स, कोलकाता नाइट राइडर्स, पञ्जाव किंग्स र सनराइजर्स हैदरावाद प्लेअफ दौडबाट औपचारिक रूपमा बाहिरिएका छन् । अब दिल्ली र बेंगलोरमध्ये एक टोली प्लेअफमा पुग्नेछन् । राजस्थानको प्ले अफ अनौपचारिक रूपमा पक्कादेखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *