आशा ‘कबड्डी-४’ को

Read Time = 6 mins

काठमाडौं । नेपाली सिनेमा हलमा यतिबेला नेपालीभन्दा विदेशी चलचित्रको ताँती छ । हप्तैपिच्छे दुईदेखि तीन विदेशी चलचित्र प्रदर्शन भइरहेका छन् । विदेशी चलचित्रको चेपुवामा परेका नेपाली चलचित्रले अहिलेको दर्शक पाउन निकै मुस्किल छ । त्यसो त दुई वर्षसम्म कोरोना कहरका कारण हलमा चलचित्र आउन सकेनन् । कोरोना कहरको असर सकिएपछि हलमा आएका नेपाली चलचित्रले पनि दर्शक मुस्किलले पाइरहेका छन् ।

कोरोना कहरपछि हलमा नेपाली चलचित्र प्रदर्शन भइरहेका छन् तर हलमा दर्शकको उत्साहजनक सहभागिता भने केही चलचित्रका लागि मात्र भयो । चलचित्र ‘म यस्तो गीत गाउँछु-२’ र ‘ए मेरो हजुर-४’ का ला लागि दर्शकको उपस्थिति केही सुखदायक रहृयो । तर, व्यापार सोचेअनुरूप अझै हुन सकेन । यद्यपि दुवै चलचित्रका निर्माताले चलचित्रको ग्रस कलेक्सन राम्रो भएको प्रतिक्रिया दिएका छन् ।

अहिले कुनै पनि नेपाली चलचित्रले हलबाट सम्पूर्ण लगानी सुरक्षित गर्छु भन्दा पनि हलबाहेकका विभिन्न प्लेटफर्ममा बिक्री गरेर लगानी सुरक्षित गर्नुपर्ने अवस्था छ । कुनै पनि चलचित्रले हलबाट लगभग लगानी नउठाउने टुंगो अगाडि नै अनुमान भइसकेको हुन्छ । विदेश प्रदर्शनको राइट्स, डिजिटल राइट्सका कारणले चलचित्रका निर्मातालाई केही राहत भने पक्कै मिल्ने गरेको छ ।

यसैबीच यो वर्षकै लागि अर्को बहुप्रतिक्षित चलचित्रका रूपमा ‘कबड्डी-४’ लाई लिइएको छ । ‘कबड्डी’ का सबैजसो सिरिजले सफलता पाएकाले यो चौथो सिरिजका लागि पनि दर्शकको पर्खाइ छ । हलमा दर्शक कति आउलान् र व्यापार कति गर्ला भन्नका लागि जेठ १३ गते प्रदर्शनपछि मात्रै भन्न सकिन्छ ।

यो चलचित्रले विश्व बजारमा प्रतिलिपि अधिकार बिक्रीबापत दुई करोड रुपैयाँ कलेक्सन गरिसकेको छ । दुई करोड कलेक्सन गरेसँगै यो चलचित्रले प्रदर्शनअगावै चलचित्रको लगानी सुरक्षित गरेको हो । यो चलचित्रको अहिलेसम्मकै महँगो मूल्यमा विश्व बजारमा ‘राइट’ बिक्री भएको हो ।

यो चलचित्रले युरोप, अमेरिका, अस्ट्रेलिया, बेलायत, न्युजिल्यान्ड, हङकङ, जापान तथा भारतमा प्रदर्शनका लागि प्रदर्शन ‘राइट’ बिक्री गरेको हो । चलचित्र ‘कबड्डी-४’ नेपाल र विदेशका सिनेमा हलमा एकै मितिमा प्रदर्शनमा आउने बताइएको छ । भारतमा भने नेपाली हलमा प्रदर्शन भएको एक सातापछि मात्रै प्रदर्शन हुनेछ ।

चलचित्रको प्रमोसनका लागि अहिले निर्माण टिमसहित कलाकारको टिम देश दौडाहामा छ । मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल, विजय बराल, मिरुना मगरलगायत कलाकार यतिबेला प्रचारमा दौडिरहनुभएको छ । चलचित्र टिमले गएको बुधबार बेलुका नारायणगढस्थित नारायणी किनारमा भव्य कन्सर्ट आयोजना गरेको थियो । दमक र इटहरीपछि नारायणगढ पुगेको कबड्डी टोलीले बुटवल, पोखरा र काठमाडौंमा कन्सर्टको तयारी गरेको छ । चलचित्र छायांकन र निजी व्यस्तताले प्रचारमा हिँड्न नपाउनुभएका अभिनेता सौगात मल्ल नारायणगढबाटै पब्लिसिटीमा जोडिनुभएको हो ।

यस्तै चलचित्रको हिस्सा नभए पनि कलाकारहरू विल्सनविक्रम राई र गौरव पहारी पनि प्रचारमा हुनुहुन्छ । विल्सनले चलचित्रको तेस्रो सिक्वेलमा अभिनय गर्नुभएको थियो ।

नारायणी तीरमा भएको कन्सर्टमा कलाकारले गीत गाउनुभयो । सौगातले ट्रेलरमा राखिएको कविता वाचन गर्नुभयो । सो अवसरमा उपस्थित केही दर्शकलाई कलाकारबाट उपहार पनि बाँडिएको थियो ।

‘कबड्डी-४’ लाई अर्को ठूलो राहत मिलेको छ । नेपाली चलचित्रको व्यापारलाई दृष्टिगत गर्दै एप्पल इन्टरटेनमेन्टले टम क्रुज स्टारर फिल्म ‘टपगन : माभेरिक’ लाई एक साता पोस्टपोन्ड गरिदिएको छ । भारतसहित विश्व बक्स अफिसमा क्रुजको उक्त चलचित्र जेठ १३ गते प्रदर्शन हुँदैछ । नेपालमा पनि सोही मितिमा रिलिजको तयारी भएको थियो तर एप्पलले चलचित्रलाई एक साता पछाडि रिलिज गर्ने निर्णय गरेको छ । अब भने टपगन चलचित्र जेठ २० गते प्रदर्शन हुनेछ । यसले पनि ‘कबड्डी-४’ मा दर्शकको संख्या बढ्न सक्ने अपेक्षा राखिएको छ ।

रामबाबु गुरुङले निर्देशन गरेको ‘कबड्डी-४’ मा बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणि नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शारदा अधिकारीलगायत कलाकारले अभिनय गर्नुभएको छ । यो चलचित्रको कथा लेखनमा निर्देशक गुरुङले उपेन्द्र सुब्बासँग सहकार्य गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?