गायनमा उत्सवको सफलता

हिमालय टाइम्स
Read Time = 5 mins
A A- A+

काठमाडौं । नेपाली गीतसंगीतमा आफ्नो सुरिलो आवाजमार्फत् धेरैको मनमस्तिष्कमा राज गर्न सफल हुनुहुन्छ उत्सव सुब्बा लामा । देशकै राजधानी काठमाडौंको नजिक रहेको जिल्ला धादिङको थाक्रे गाउँपालिका-१० मा विसं २०३९ साउनमा जन्मिनुभएका लामाले अहिलेसम्म आइपुग्दा थुप्रै गीत गाउनुभएको छ । गाउँघरमा रहँदा सानोमा उहाँले गीत गाउँदै हिँड्दा उहाँलाई त्यसबेला सबैले ‘गिदौरे’ उपनाम दिएका थिए । साँच्चै उहाँको स्वरमा एक प्रकारको जादु नै छ, जसले धेरैलाई मख्ख पार्ने गर्दछ । सानैदेखि सबैले ‘गिदौरे’ उपनाम दिएपछि उत्सवले पनि आफूमा भएको प्रतिभालाई बाहिर प्रस्फुटन गर्दै लैजानुभयो र श्रोता/दर्शकमाझ आए कर्णप्रिय थुप्रै गीतहरू ।

गाउँघर छँदा अध्ययनका क्रममा, स्कुलमा र वरपर आयोजना हुने गीति प्रतियोगिता र सांगीतिक कार्यक्रम भनेपछि हुरुक्क भएर सहभागिता जनाउने उहाँ यस्ता प्रायः प्रतियोगितामा प्रथम स्थान ओगट्न सफल हुने गरेको सुनाउनुहुन्छ ।

विसं. २०५५ मा एसएलसीपछि थप अध्ययनका सिलसिलामा काठमाडौं आउनुभएका उहाँको अध्ययन सँगसँगै गायनतर्फ रुचि भएकाले यसमा जोडिनुभयो र २०५७ सालमा निस्कियो लोक तथा दोहोरी गीत ‘झिल्के दाजु’ । यो उहाँको गीतसंगीतको फाँटमा औपचारिक प्रवेश थियो । यसमा उहाँलाई रामकुमारले साथ दिनुभएको थियो । उक्त गीति क्यासेटले बजारमा चर्चा बटुल्नुका साथै व्यावसायिक सफलता पनि दिलाउन सफल भयो । यो सफलतासँगै हौसिनुभएका उहाँले थप गीतहरू श्रोता/दर्शकमाझ ल्याउनुभयो ।

उत्सवले ‘पश्चात्…’, ‘दियौ मनमा चोट…’, ‘पापी मन…’, ‘धादिङ गजुरी…’ जस्ता आठवटा क्यासेटहरू सांगीतिक बजारमा पस्किनुभएको छ । उहाँले लोकदोहोरी, सेलो, आधुनिक, पप, मेन्हेन्दोमाय जस्ता विभिन्न धारका ९० को हाराहारीमा गीत गाउनुभएको छ ।
देशका विभिन्न ठाउँहरूमा आयोजित हुने मेला महोत्सव, र सांगीतिक कार्यक्रमहरूमा दर्शक श्रोताको माग र आयोजकको निमन्त्रणाअनुसार प्रस्तुतिका लागि पुग्ने उहाँ जहाँ पुग्नुहुन्छ त्यहाँ वाही वाही बटुल्न सफल हुनुहुन्छ । ‘म जहाँ–जहाँ जान्छु त्यहाँ दर्शक/श्रोताको अपार माया पाउने गरेको छु, एउटा गायकलाई योभन्दा खुशीको कुरा अर्को के हुन सक्छ,’ उहाँ भन्नुहुन्छ, ‘दर्शकले दिएको मायाबाट मलाई यो क्षेत्रमा अझ नयाँ–नयाँ प्रस्तुतिका लागि पुलकित गराइरहेको छ ।’

ग्रामीण परिवेशमा जन्मिनु र हुर्कनुभएका उहाँ त्यही परिवेशलाई टपक्क टिपेर गीतमार्फत् व्यक्त गर्दा उहाँका प्रस्तुति अत्यन्त रुचाउने गरिएको छ । नेपाली गीतसंगीतको श्रीवृद्धिमा पूर्णकालीन भएर लाग्नुभएका उहाँले विभिन्न प्रतियोगिताको निर्णायकका रूपमा पनि आफ्नो जिम्मेवारी पूरा गर्नुभएको छ । उहाँले थाक्रे लोक आइडल, जनजागृति आइडल जस्ता प्रतियोगितामा कुशल निर्णायक भएर आफ्नो भूमिका निर्वाह गर्नुभएको छ । उत्सव गीतसंगीतका साथसाथै सामाजिक कार्यमा पनि त्यत्तिकै सक्रिय हुनुहुन्छ ।

यस क्षेत्रमा पु¥याएको योगदानस्वरूप विभिन्न संघसंस्थाबाट उहाँ सम्मानित तथा पुरस्कृत हुनुभएको छ । पछिल्लो गीत ‘गाउँछ मेरो दिल…’ उहाँका अन्य गीतजस्तै निकै लोकप्रिय रहेको छ । सबै प्रकारका गीत गाउने उत्सवले खासगरी लोकगीतमार्फत् आफ्नै पहिचान कायम गर्न सफल हुनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?