हाम्रा सिर्जनामा आफ्नोपन आउनुपर्छ : वसन्त वित्यासी थापा, उपाध्यक्ष गीतकार संघ नेपाल

कृष्ण भुसाल
Read Time = 8 mins

‘नजरको दोषी बनी किन झुल्किन्छौ नयनमा हे साइँला ...,’ ‘कसको आँखा लाग्यो बरै मेरो खुशीमाथि...’, ‘रित्तो सडकमा खोज्छु तिमीलाई आँखाभरि...’, ‘भिज्यो है भिज्यो पछ्यौरी भिज्यो साउनको सिमसिमे पानीमा...’, ‘पहिलो भेटको चिनाजानी भयो मिठो कुराकानी...’, ‘बिन्ती आलो मेरो घाउमा नुनचुक नछरिदेऊ...’, ‘कहिले मायालाई दिनैले ढाँट्यो कहिले रातैले...’, ‘हिजोआज गाउँभरि हल्ला छ तिम्रो मेरो बिहे हुने बाउ आमाको सल्ला छ...’, ‘बिरानो भो परदेशीलाई पराइको गाउँ...’, ‘हिँड्दा कहिले ठेस लाग्छ...’ जस्ता ६ दर्जनभन्दा बढी चर्चित गीत श्रोता/दर्शकमाझ पस्किनुभएका गीतकार वसन्त वित्यासी थापा नेपाली गीतसंगीत क्षेत्रमा राम्रो गीतकारका रूपमा स्थापित नाम हो । बुबा मीनबहादुर थापा, आमा विनिसरा थापाका सात सन्तानमध्ये साइँलो छोराका रूपमा तनहुँ म्याग्दे-७ अर्चलेमा जन्मिनुभएका थापाले ०४३ सालदेखि गीत लेख्न सुरु गर्नुभएको हो । अहिलेसम्म सयौं गीत लेखिसक्नुभएका थापाको पहिलो गीत ‘मेरो आँखाको परेलीमा...’ थियो । यतिबेला गीतकारहरूको संगठन गीतकार संघको उपाध्यक्षको जिम्मेवारी वहन गरिरहनुभएका उहाँ सुख-दुःख, माया-प्रेम, सामाजिक परिवेश र राष्ट्रिय गीतहरू लेखेर श्रोताहरूको मन जित्न सफल हुनुहुन्छ । सानो छँदा पत्रपत्रिका, रेडियोबाट बज्ने गीतहरू सुनेर आफू पनि यस्तै गीत लेख्न पाए कस्तो हुन्थ्यो भन्ने मनमा लागिरहने र मेलापात जाँदा स्थानीय प्राकृतिक परिवेशले एसएलसी दिएपछिको फुर्सदको समयमा आफूले गीत लेख्न सुरु गरेको थापा बताउनुहुन्छ । सिर्जनामा हाम्रो आफ्नोपन आउनुपर्छ भन्ने मान्यता राख्नुहुने स्रष्टा वसन्त वित्यासी थापासँग हिमालय टाइम्सको हिँड्दा हिँड्दैका लागि कृष्ण भुसालले गर्नुभएको संक्षिप्त कुराकानी :-

यतिबेला के गर्दै हुनुहुन्छ ?
हालै अग्रज गायक मुरलीधरको स्वरमा ‘धेरै धेरै कुरा काट्नेहरू भेटिए यो शहरमा, थोरै थोरै मन साट्नेहरू देखिए यो नजरमा...’ को रेकर्डिङ सकिएको छ । यस्तै गंगा महर्जनको स्वरमा ‘फूलसँग छ काँडा...’ सुनिल लामाको स्वरमा ‘आकाशमा बादल ढाक्यो...’ त्यस्तै स्वरूपराजको स्वरमा ‘तिमी मेरो साथी...’, लगायतका गीतहरूको काम भइरहेको छ । छिट्टै श्रोता÷दर्शकमाझ आउँदै छन् । यस्तै संगीतकार राजु सिंह, कल्याण सिंह, ज्योतिप्रकाशलगायतसँग एल्बम तथा गीतहरूको काम भइरहेको छ । यस्तै गीतकार संघको जिम्मेवार पदमा रहेको हुनाले संघका विभिन्न गतिविधिमा आफूलाई संलग्न गराउँदै आएको छु ।

गीत के हो ?
गीत मनमुटुको ढुकढुकी हो । खुशी र वेदना पोख्ने एउटा माध्यम हो ।

यहाँका कति गीति एल्बम सार्वजनिक भएका छन् ?
सात एल्बम आएका छन् । ‘अविरल’, ‘अनुरोध’, ‘ठूल्नानी’, ‘गहना’, ‘मित्रता’, ‘दशक’, ‘कोही छन् कि’ सार्वजनिक भएका छन् भने अब तीन एल्बम आउँदै छन् । यस्तै गीति पुस्तक ‘खुशी रम्ने ओठहरू’ पाठकमाझ आएको छ भने दोस्रो गीति पुस्तक पनि ल्याउने तयारीमा छु । अहिलेसम्म दुई सयको हाराहारीमा गीत लेखन कार्य भएको छ ।

पहिलो गीत कुन थियो होला ?
२०४८ सालमा आएको गीत ‘आँखाको परेलीमा...’ थियो । यसमा स्वर सविता खरेलको थियो भने संगीत विजय सिं मुनालको थियो ।

तपाईं कसका लागि लेख्नुहुन्छ गीत  ?
सुरुमा आफ्ना लागि लेखियो । सुरुवातमा यसले समाज र अन्य क्षेत्रले पनि आफ्नोपनको महसुस गर्छ भन्ने थाहा थिएन । अलिकति आफ्ना लागि लेख्छु, अलि-अलि माया गरिदिनेका लागि लेख्छु अनि अनगिन्ती आफ्नो समाज, राष्ट्रका लागि लेख्छु ।

गीतकारहरूको संस्था गीतकार संघको सदस्य हुँदै सचिव, महासचिव र हाल उपाध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ, गीतकार संघमा लामो समय यहाँ विभिन्न पदमा बसिरहँदा अहिलेको नेपाली गीत-संगीतको अवस्था कस्तो पाउनुहुन्छ  ?
हो, म तपाईंले भने जस्तै गीतकार संघका विभिन्न पदमा रहेर कार्यसम्पादन गरेँ । हिजो एउटा गीत सार्वजनिक भएपछि त्यसको समाजमा ढिलो असर पथ्र्यो तर ती गीत कालजयीरूपमा रहे । अहिलेका गीत छिटो आउँछन् छिट्टै जान्छन् । क्षणिक मनोरञ्जन दिएका छन् तर ढुकढुकमीमा बस्न सकेका छैनन् ।

लामो समयदेखि गीत लेखनमा हुनुहुन्छ र एक खालको उचाइ चुम्न सफल हुनुभएको छ, गीतबाहेक अन्य क्षेत्रमा लेख्ने झोक चलेको छैन ?
लेखाइ भनेको झोक चलेर लेख्ने होइन । कहिलेकाहीँ मुक्तक भने लेख्छु । सायद म गीत लेख्नका लागि नै जन्मिएको हुँ जस्तो लाग्छ ।

गीत-संगीतका क्षेत्रमा रहेका गुट-उपगुटहरूलाई कुन रूपमा लिनुहुन्छ ?
यो राम्रो होइन । गीत-संगीतका क्षेत्रमा क्रियाशील सर्जकहरू गुटबन्दीमा लागेको देख्दा दुःख लाग्छ । सिर्जना गरिएका कृति र सर्जक कहिल्यै पनि गुटविशेषमा लाग्नुहुन्न । यसले समाजमा र आउने नयाँ पिँढीमा दूरगामी प्रभाव पार्दछ । गीत, साहित्य, कला र संस्कृति कुनै व्यक्ति, पार्टी, समूहप्रति केन्द्रित हुनुहुँदैन ।

लेखनमा आउन लागेका नयाँ लेखकहरूलाई कस्तो सल्लाह दिन चाहनुहुन्छ ?
आफ्नोपनको आभास हुने सिर्जना हुन जरुरी छ । अरूको चिज लेखेर हामीले आफ्नोपन खोज्नुहुँदैन । हाम्रा सिर्जनामा आफ्नोपनको सुवास आउनुपर्छ । त्यसतर्फ केन्द्रित हुन आग्रह गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?