कांग्रेस र राप्रपाले रच्यो भद्रपुरमा इतिहास

Read Time = 12 mins

-पार्थ मण्डल

झापा । झापाको भद्रपुर नगरपालिकाको प्रमुख पदमा जितेर नेपाली कांग्रेसले इतिहास कोर्न सफल भएको छ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सँग चुनावी गठबन्धन गरेर कांग्रेसले यसपल्टको स्थानीय तह सदस्य निर्वाचनमा इतिहास रच्न सफल भएको हो । कांग्रेसले भद्रपुरको मेयरसहित चार वडा अध्यक्ष र आठ सदस्य जितेको छ ।

मेयरमा कांग्रेसका युवा नेता गणेश पोखरेल निर्वाचित हुनुभएको छ । पोखरेलले नेकपा (एमाले)का युवा नेता असारु राजवंशी र राप्रपाका युवा नेता नवराज पनेरुलाई पराजित गर्दै भद्रपुरमा कांग्रेसको इतिहास कोर्न सफल हुनुभएको हो । पोखरेलले १२ हजार ५२५ मत ल्याउँदा राजवंशीले नौ हजार ७५९ मत र पनेरुले ६ हजार ३१० मत ल्याउनुभएको छ ।

एमालेको लालकिल्ला तोड्दै कांग्रेसले प्रमुख पदमा इतिहास कोर्न सफल भए पनि एमालेले तीन वडा अध्यक्षसहित २६ वडा सदस्य जितेको छ । नगरको ५२ पदमध्ये एमाले २९ पदमा जित्दै बहुमत भने कायम राखेको छ ।

त्यस्तै, गठबन्धनका तर्फबाट उपमेयरमा उम्मेदवार दिनुभएका माओवादीका शिवकुमार राजभण्डारी अन्ततः पराजित हुनुभएको छ । नगरमा माओवादीले इतिहास रच्ने योजनालाई राप्रपाकी महिला उम्मेदवार राधा कार्कीले असफल बनाइदिनुभयो । राजभण्डारीसँगै एमालेकी कौशिल्या अधिकारीलाई पराजित गर्दै कार्कीले उपमेयर जित्नुभयो । कार्कीले नौ हजार २३० मत ल्याउँदा राजभण्डारीले आठ हजार ५३३ मत र अधिकारीले आठ हजार ४०३ मत ल्याउनुभएको छ । उपमेयर जितेसँगै राप्रपाले भद्रपुरमा इतिहास रच्यो । राप्रपाले उपमेयरसहित दुई वडा अध्यक्ष र पाँच सदस्य जितेको छ । नगरको अन्तिम मत परिणामले माओवादी केन्द्र चौथो दल बन्न पुग्यो । माओवादीले एउटा वडा अध्यक्ष र एउटा सदस्य मात्र जितेको छ ।

अब नगरपालिकामा चार दलबाट निर्वाचित जनप्रतिनिधिहरूले नेतृत्व गर्ने भएका छन् । अघिल्लो निर्वाचनमा तीन दल मात्र थिए । चार दलले समग्र भद्रपुरको विकास कसरी गर्ने हो भनेर नगरका मतदाता प्रतीक्षामा छन् ।

को हुनुहुन्छ मेयरमा निर्वाचित पोखरेल ?

विक्रम संवत् २०३१ साल पुस ८ गते जीवनाथ पोखरेल र सुभद्रादेवी पोखरेलको ज्येष्ठ सुपुत्रको रूपमा जन्मनुभएका गणेश पोखरेल सरल स्वभाव र मिलनसार व्यक्ति हुनुहुन्छ । साबिक पृथ्वीनगर गाविस ६ हाल भद्रपुर नगरपालिका–८ का स्थानीय बासिन्दा पोखरेलको बाल्यकाल पृथ्वीनगरमै बितेको हो । उहाँले कक्षा ५ सम्मको प्रारम्भिक शिक्षा सीता प्रावि पृथ्वीनगर र कक्षा ६ देखि ७ सम्म पढाइ सरस्वती माविमा पूरा गर्नुभयो । त्यसपछि उहाँ भद्रपुर आउनुभयो । उहाँले कक्षा ८ देखि १० सम्मको पढाइ वीरेन्द्र मावि चन्द्रगढीमा पूरा गर्नुभयो । २०४८/०४९ सालमा उहाँले एसएलसी पास गरेपछि उच्च शिक्षाका लागि मेची बहुमुखी क्याम्पस भद्रपुरमा भर्ना हुनुभयो । क्याम्पसबाटै उहाँ विद्यार्थी संगठनमा आबद्ध भई राजनीति क्षेत्रमा सक्रिय भएर लाग्नुभयो । सोही बेला उहाँ नेपाली कांग्रेसको क्रियाशील सदस्य बन्नुभयो ।

नेपाल विद्यार्थी संघ मेची क्याम्पस इकाइ उपसभापति हुँदै उहाँ क्याम्पसको स्ववियु निर्वाचनबाट दुईपटक सभापतिमा निर्वाचित भए । २०५५ र २०५७ मा । स्नातक पास गर्नुभएका उहाँ त्यसपछि नेविसंघको केन्द्रीय सदस्य भई पार्टीकै काममा लाग्नुभयो । उहाँ कांग्रेस झापा क्षेत्र नम्बर ३ को क्षेत्रीय सचिव हुँदै तीन कार्यकाल क्षेत्रीय सभापति बन्नुभयो । अहिले पनि उहाँ क्षेत्रीय सभापति हुनुहुन्छ । उहाँ निरन्तर पार्टीको काम कारबाहीमा लाग्नुभएको छ । पार्टीसँगै उहाँ विभिन्न संघसंस्थामा पनि आबद्ध हुनुहुन्छ । उहाँ भद्रपुर जेसिजको पूर्व-अध्यक्ष, नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य, नेपाल परिवार नियोजन संघ, नेपाल अपाङ संघमा लगायत आधा दर्जन भन्दा बढी सामाजिक तथा परोपकारी संघ संस्थामा आबद्ध रहनुभएको छ । उहाँ व्यापार–व्यवसाय तथा कुनै रोजगारी नगरी राजनीतिमार्फत समाज सेवा गर्दै समाजलाई सकारात्मक रूपमा रूपान्तरण गर्नुपर्छ भन्नेमा क्रियाशील रहनुभएको छ ।

कांग्रेस र राप्रपाले रच्यो इतिहास
लोकतन्त्र र गणतन्त्र जारी भएपछि देशका जनताले नयाँ संविधान पाए । संविधान पाए, लगत्तै २०७४ सालमा स्थानीय तह सदस्य निर्वाचन भयो । त्यस बेलाको निर्वाचनमा पनि कांग्रेसले भद्रपुरमा इतिहास रच्न असफल भयो । २००७ सालको परिवर्तन र प्रजातन्त्रपछि राजा शासनमा वि.सं २००८ सालमा स्थापना भएको भद्रपुर नगरपालिकामा २०७४ सालसम्म कांग्रेसका कुनै व्यक्ति प्रमुख पदमा नजितेको इतिहास छ ।

यो नगरपालिकामा २०३८/३९ सालमा चन्द्रगढी र महेशपुर गाविसका केही वडाहरूलाई एकीकृत गरी १५ वडामा विभाजन गरिएको थियो । २०७१ मा साबिक चन्द्रगढी र महेशपुर गाविसलाई गाभेर पूरै भद्रपुर नगरपालिका बन्यो । २०७३ को स्थानीय तहको पुनःसंरचना प्रक्रियामा साबिक भद्रपुर नगरपालिका र पृथ्वीनगर गाविस मिलाएर १० वडामा विभाजन गरी भद्रपुर नगरपालिका बन्न पुग्यो । बृहत् नगरपालिका हुनुभन्दा अघि २००८-२०१४ सालमा नगरको सभापति स्व.सत्यनारायण अग्रवाल बन्नुभयो ।

२०१४-२०१८ सालसम्म स्व. पदमबहादुर गिरी सभापति हुनुभयो । २०१७ सालको ‘कू’ पछि राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गर्दै गाउँ, नगर र जिल्ला पञ्चायतको अवधारणा कार्यान्वयनमा ल्याउनुभयो । २०१८-२०१९ सालसम्म स्व. मोहनलाल अग्रवाल भद्रपुरको सभापति हुनुभयो । त्यसपछि राजाले पञ्चायती व्यवस्थाअनुसार स्थानीय निर्वाचन गराउनुभयो । २०१-२०२१ सालसम्म नगरको प्रधानपञ्चमा तुलसीप्रसाद आचार्य आउनुभयो । २०२१-२०२३ सालसम्म स्व. डा. ऋषिकेश उपाध्यायले प्रधानपञ्चको जिम्मेवारी निभाउनुभयो । २०२३-२०२६ स्व. स्वयम्भूलाल श्रेष्ठ प्रधानपञ्च र चेतनाथ शर्मा उप–प्रधानपञ्च हुनुभयो । २०२६-२०२९ सालसम्म स्व. डा. ऋषिकेश उपाध्याय प्रधानपञ्च र चेतनाथ शर्मा उप–प्रधानपञ्च हुनुभयो । २०२९ माघ र फागुनमा ओमप्रकाश सरावगी प्रधानपञ्च हुनुभयो । सरावगीमाथि मुद्दा लागेपछि उप–प्रधानपञ्च रामचन्द्र शर्माले २०२९-१२ देखि २०३३ सम्म कार्यवाहक प्रधानपञ्च चलाउनुभयो ।

२०३४-२०३९ सालसम्म भक्तिमान देवान प्रधानपञ्च र ओमप्रकाश सरावगी उप–प्रधानपञ्च हुनुभयो । २०३९-२०४४ सालसम्म ओमप्रकाश सरावगी प्रधानपञ्च र गोविन्दचन्द्र क्षेत्री उप–प्रधानपञ्चमा निर्वाचित हुनुभयो । ओमप्रकाश सरावगी फेरि २०४५-२०४७ सालसम्म प्रधानपञ्च र भक्त खवास उप–प्रधानपञ्च हुनुभयो । त्यसबेला कुनै दलबाट उम्मेदवारी दिन पाइँदैन थियो ।

दलमा लागेका व्यक्तिहरू पनि जनपक्षीयको तर्फबाट उम्मेदवार बन्ने व्यवस्था थियो । २०४७ सालको परिवर्तनपछि २०४९ सालमा स्थानीय निकायको निर्वाचन भयो । त्यस निर्वाचनमा राजनीतिक दलहरू खुलेर चुनावी मैदानमा उत्रिए । त्यसबेला कांग्रेसबाट मेयरमा जितबहादुर पुरी र छविलाल रिजाल उपमेयरमा उठ्नुभएको थियो । उहाँहरूलाई पराजित गर्दै मेयरमा एमालेका पुष्पराज पोखरेल र सद्भावना पार्टीबाट उपमेयरमा भारतेन्दुकुमार मल्लिक विजयी हुनुभयो । २०५४ सालको स्थानीय निर्वाचनमा कांग्रेसबाट मेयरमा ओमप्रकाश सरावगी र उपमेयरमा राजेन्द्रप्रसाद घिमिरे उठ्नुभएको थियो । उहाँहरूलाई पराजित गर्दै सद्भावना पार्टीका भारतेन्दुकमार मल्लिक मेयरमा र उपमेयरमा एमालेका जीवनकुमार श्रेष्ठ विजयी हुनुभयो ।

त्यसपछि पूर्व-राजा ज्ञानेन्द्र शाहले सत्ता हात लिँदै स्थानीय निकायको निर्वाचन गराउँदा २०६०–६१ सालमा नगरको मेयरमा भारतेन्दुकमार मल्लिक र उपमेयरमा गोपाल धमला स्वतन्त्रबाट विजयी हुनुभयो । उहाँहरूले छोटो समय मात्र नगर चलाउन पाउनुभयो । त्यसलगत्तै २०६२–६३ को दोस्रो जनआन्दोलन भयो । जनताले राजतन्त्र फाल्दै देशमा लोकतन्त्र र गणतन्त्र स्थापन ग¥यो । त्यसपछि एकै पटक २०७४ सालमा पहिलो चरणको स्थानीय तह सदस्य निर्वाचन भयो । त्यो निर्वाचनमा पनि कांग्रेसले नगरमा हार व्यहोर्यो। कांग्रेसबाट मेयरमा गणेश पोखरेल र उपमेयरमा तारादेवी भुर्तेल उठ्नुभएको थियो । कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै मेयरमा एमालेका जीवनकुमार श्रेष्ठ र उपमेयरमा चन्द्रामाया श्रेष्ठ विजयी हुनुभएको थियो । अहिलेको निर्वाचनमा गठबन्धनसँग मिलेर कांग्रेसले एमालेको लालकिल्ला तोड्दै मेयर जित्दै इतिहास रचेको छ, भने राप्रपा पनि एक्लै चुनाव लडेर उपमेयर जितेर इतिहास रच्न सफल भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?